© २०२३
दाङ, ८ साउन । दाङमा सर्पको टोकाइबाट एक किशोरको मृत्यु भएको छ । सलयान बागचौर नगरपालिका ४ पेदीखोला घर भई दाङको शान्तिनगर गाउँपालिका ७ मामा घरमा आएका १६ वर्षिय मनोज ओलीको सर्पको टोकाइबाट मृत्यु भएको हो ।
आइतबार राती १ बजेतिर सर्पले टोक्दा गम्भीर बिरामी भएका ओलीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको थियो । तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि ओलीलाई घोराही ल्याइएको थियो । उपचारका क्रममा उहाँको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरिक्षक पुष्पराज मल्लले जानकारी दिए ।
यसैगरि राप्ती नदीमा बगेर बेपत्ता भएका लमही नगरपालिका ९ कोल्तरा निवासी वर्ष ५२ का रामलाल कुमाल मृत अवस्थामा भेटिएका छन् । साउन ३ गते बुधवार राजपुर गाउँपालिका ७ सिक्टाबाट काम सकेर अपरान्ह घर फर्किने समयमा उनी राप्ती नदीमा बगेर बेपत्ता भएका थिए । लमही नगरपालिका ९ अमिलियाको राप्ती घाटमा भैँसी चराउन गएका मानिसले देखेर प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय अमिलियाको टोली पुगेको लमही नगरपालिका ९ का वडा अध्यक्ष भेषबहादुर केसीले जानकारी दिए । कुमाल बेपत्ता भएपछि स्थानीय बासिन्दा र सुरक्षाकर्मीले खोजी गरेका थिए । तर, कुमाल फेला परेका थिएनन् । बेपत्ता भएको पाँच दिनपछि आज उनको शव फेला परेको हो ।