© २०२३
काठमाण्डौ, १ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले हिन्दु राष्ट्रको मुद्दा उठाउनु स्वार्थ र सत्तासँग केन्द्रित विषय नभएको बताएका छन । नेपाल सनातन धर्म, संस्कृति, संगठनद्वारा आयोजित सनातन हिन्दु राष्ट्रको लागि पदयात्रा कार्यक्रममा सहभागी अध्यक्ष लिङदेनले यस्तो बताएका हुन ।
हिन्दु राष्ट्रको मुद्दा बहुसंख्यक नेपालीहरुले उठाएको मुद्दा भएकाले उनीहरुलाई बुझाउनका लागि पदयात्रा गरेको उनले बताए । राप्रपाले सनाधन, धर्म, संस्कृतिको रक्षार्थ जनचेतना जगाउने र हिन्दु राष्ट्र अभियान सञ्चालनका लागि जनचेतना फैलाउने उद्देश्यले पदयात्रा कार्यक्रम गरेको उनको दाबी छ । शान्तिपूर्ण बाटोबाट नेपालमा हिन्दुराष्ट्र पुनः स्थापना आफूको चाहेको उनले बताए ।
विगतमा भावावेश र विदेशीको दबाबमा आएर हिन्दु राष्ट्र हटाइए पनि अब सच्चिन राजनीतिक दलहरुलाई उनले आग्रह गरे । राजतन्त्र फर्किने कुरा जनतामा निर्भर हुने भन्दै उनले जनता राप्रपाको मुद्दामा समर्थन गरिरहेको दाबी गरे । ‘हामीले उठाइरहेको हिन्दु राष्ट्रको मुद्दा बहुसंख्यक नेपालीहरुले उठाएको मुद्दा हो ।’—उनले भने ।
पदयात्रा कार्यक्रममा बोल्दै राप्रपा सांसद दीपकबहादुर सिंहले राप्रपाको हलोमा भोट दिनुस् भनेर नमागी आफू हरहर महादेव भनेर पदयात्रामा निस्केको बताए । अर्को चुनावमा ७० सिट ल्याउने उनको दाबी छ । सांसद सिंहले प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा कुनैपनि हालतमा राप्रपा सहभागी नबन्ने बताए । राप्रपाले सोमबार मैतीदेवीदेखि पशुपतिनाथसम्म पदयात्रा गरेको हो ।