© २०२३
बुटवल, २२ असार ।
बुटवल उपमहानगरपालिका–१०, योगीकुटीमा रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी सहकारी संस्थाको कार्यालय, सोही भवनमा रहेको गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर र खाद्यान्नको डिलर खाली गराइएको छ ।
घरधनी इश्वर मल्लले प्रक्रिया पु¥याएर डिपार्टमेन्टल स्टोर खाली गराउन अनुरोध गर्दा समेत खाली नगराएपछि प्रहरी, सहकारीका कर्मचारी, जनप्रतिनिधि र पत्रकारको राहवरमा डिपार्टमेन्टल स्टोर खाली गराइएको हो । मल्लका अनुसार आज बिहान १० बजेदेखि डिपार्टमेन्टल स्टोर खाली गराउने काम सुरु गरिएको थियो
।
शिव शिखरले बुटवल उपहामहनगर–१०, योगीकुटीमा रकम जम्मा गर्ने काउन्टरसँगै डिपार्टमेन्टल स्टोर्स पनि सञ्चालन गरेको थियो । २०६९ साल असोज २८ गते सहकारी विभागबाट दर्ता प्रमाणपत्र पाएको शिव शिखरले ‘गार्डेनमार्ट डिपार्टमेन्टल स्टोर्स’ मार्फत् देशका विभिन्न ठाउँमा व्यावसायिक कारोबार सञ्चालन गर्दै आएको थियो ।
यो सहकारी २०७८ साउनमा बुटवल आएको थियो । हाल सहकारीको काउन्टर र डिपार्टमेन्टल स्टोर्स दुबै तीन महिनादेखि बन्द थिए ।
बुटवल उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख गुणाखर खनालले १५–१६ जना वचतकर्ताले वचत रकम फिर्ता नभएको भनेर निवेदन दिएका भए पनि शिवशिखर सहकारीको बुटवल शाखामा कति बचतकर्ता थिए भन्ने यकिन तथ्यांक आफूहरुसँग नभएको बताए ।
लुम्बिनी प्रदेशको अर्थ तथा सहकारी मन्त्रालयका सचिव नेत्र सुवेदीले शिवशिखर सहकारीको दर्ता संघमा भएकाले प्रदेशले कुनै कारबाही गर्न नसक्ने बताए ।
शिवशिखर सहकारीले लाखौैं जनताको १४ अर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेको आरोपमा त्यसका पूर्वअध्यक्ष केदारनाथ शर्मासहित सञ्चालकहरु पक्राउ परेका छन् ।