Butwal Today

यु–१२ लिग क्रिकेट प्रतियोगिता २०८० : स्टार क्रिकेट एकेडेमीलाई उपाधि

२८ जेष्ठ २०८०, आइतबार
अ+
अ-

बुटवल, २८ जेठ ।

बुटवलमा जारी यु–१२ लिग क्रिकेट प्रतियोगिता २०८० को उपाधि स्टार क्रिकेट एकेडेमीले चुमेको छ । बुटवल उपमहानगरपालिका वडा नं ११, प्यारामाउण्ट बोर्डिङ स्कुलको सहयोग तथा बिएमडब्लु वेस्टर्न क्रिकेट एकेडेमीको आयोजनामा आईतबार भएको फाइनल खेलमा ग्रिन प्लान्ट बोर्डिङ स्कुललाई ६९ रनले पराजित गर्दै स्टार एकेडेमीले उपाधि हात पारेको हो ।

प्रतियोगितामा म्यान अफ द सिरिज स्टारका राहुल नाउ घोषित भए । बेष्ट ब्याट्सम्यान तिलोत्तमा क्रिकेट एकेडेमीका सुसान्त सुवेदी, बेष्ट बलर स्टार एकेडेमीका कृष्ण पन्थी घोषित भए । देविनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पसको खेलमैदानमा भएको फाईनलमा टस जितेर स्टारले निर्धारित २० ओभरमा ४ विकेटको नोक्सानीमा १ सय २१ रनको लक्ष्य खडा गरेको थियो ।

स्टारका ब्याट्सम्यानको खराब शुरुवात भयो । ओपनर अमोद बश्याल १२ बलमा ७ रनमै क्याच आउट भए । चौथौ नम्बरमा ब्याटिङ गर्न मैदान उत्रेका राहुल नाउले ५३ बलमा २६ तथा समिर ठकुरीले ३३ बलमा ४५ रनको योगदान दिए । ग्रीन प्लान्टका कृश केसीले २ विकेट लिए । मध्यम स्कोर पछ्याएको ग्रीन प्लान्टका ब्याट्सम्यान १५.४ ओभरमा केवल ५२ रनमा समेटियो । उसका लागि ओपनर राधव खरेलले ७ तथा आयुष पाण्डेले ९ रन बाहेक अन्य क्रिजमा टिक्न सकेनन् । कम स्कोरमा रोक्न स्टारका कृष्ण पन्थील ह्याट्रिक गरे । उनले खेलको १२ औ ओभरमा हयाट्रिकसंगै शानदार ४ बिकेट लिन सफल भए । स्टारको जितमा राहुल नाउले २ तथा आरुष अधिकारीले ३ बिकेउट लिएका थिए । स्टारका कृष्ण पन्थी म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

एक समारोहका बिच रुपन्देही जिल्ला क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापा, लुम्बिनी वाणिज्य क्याम्पसका क्याम्पस प्रमुख डा. ताराप्रसाद उपाध्याय, संघका कोषाध्यक्ष निरज प्रताप खाँड, श्रीराम नेपाली, सल्लाहकार केयरसिह भण्डारी, बुटवल क्रिकेट विकास समितिका निवर्तमान अध्यक्ष नेत्र प्रसाद पौडेल, समितिका सचिव पुनित पौडेल, बिएमडब्लुका म्यानेजिङ डाईरेक्टर विकास आचार्य, पुर्व अन्तर्राष्ट्रिय खेलाडी शक्ति गौचनले विजेता, उपविजेता तथा उत्कृष्ट टिमलाई पुरस्कार बितरण गरेका छन् ।

संघका अध्यक्ष हरि बहादुर थापाले जिल्लाका एकेडेमीहरुको क्रियाशिलताबाट नै उमेर समूहका खेलाडी उत्पादनमा मद्दत मिलेको बताए । संघसंग समन्वय गरी अघि बढ्दा खेलाडी र एकेडेमीको समेत विकासमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा एकेडेमीका अध्यक्ष भुवन पाण्डेले एक भारतीय एकेडेमीसहित रुपन्देहीका ६ एकेडेमी, विद्यालयका खेलाडीहरुको सहभागिता रहेको प्रतियोगिताबाट युवा खेलाडीहरुको मनोवल बढ्ने बताए । उमेर समूहका धेरै राम्रा खेलाडीहरु टिमहरुमा रहेको भन्दै उनीहरुलाई थप अभ्यास गराउन सके भविष्यमा राष्ट्रिय टिमबाट योगदान दिनसक्ने उनले दाबी गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?