Butwal Today
यु–१२ लिग क्रिकेट प्रतियोगिता २०८०

स्टार र ग्रिन प्लान्ट फाईनलमा

२७ जेष्ठ २०८०, शनिबार
अ+
अ-

बुटवल, २६ जेठ ।

बुटवलमा जारी यु–१२ लिग क्रिकेट प्रतियोगिता २०८० को उपाधिका लागि स्टार क्रिकेट एकेडेमी र ग्रिन प्लान्ट बोर्डिङ स्कुल भिड्ने भएका छन् । जुनियर खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ आयोजित प्रतियोगिताको शनिबार सम्पन्न पहिलो सेमीफाईनल खेलमा ग्रिन प्लान्ट बोर्डिङ स्कुलले बिएमडब्लु वेष्ट्रन क्रिकेट क्लबलाई १४ रन तथा दोस्रो सेमीफाईनल खेलमा स्टार क्रिकेट एकेडेमीले नेपथ्या तिलोत्तमा क्रिकेट एकेडेमीलाई १८ रनले पराजित गर्दै फाईनल भिडन्त पक्का गरेका हुन् । आईतबार फाईनल खेल हुने एकेडेमीका अध्यक्ष भुवन पाण्डेले बताए ।

बुटवल उपमहानगरपालिका वडा नं. ११, प्यारामाउण्ट बोर्डिङ स्कुलको सहयोग तथा बिएमडब्लु वेस्टर्न क्रिकेट एकेडेमीको आयोजनामा देविनगरस्थित खेलमैदानमा भएको पहिलो सेमीफाईनल खेलमा ग्रिन प्लान्ट बोर्डिङ स्कुलले टस जितेर ब्याटिङको निर्णय गर्दै
१२.१ ओभरमा सबै विकेट गुमाएर ५१ रनको लक्ष्य खडा गरेको थियो । ग्रिनका ४ जना ब्याट्सम्यानले खाता खोल्न सकेनन् ।

राघव खनालले १९ बलमा ८ रन बनाए । कम स्कोरमा रोक्न बिएमडब्लु वेष्ट्रन क्रिकेट क्लबका अमृत तिवारी र अनिस कंडेलले समान ३–३ विकेट लिए । कम स्कोरलाई पछ्याएको बिएमडब्लु बेष्ट्रन क्रिकेट क्लबका ब्याट्सम्यानहरु क्रिजमा टिक्न सकेनन् । केवल ३७ रन जोड्दा १३.४ ओभरमा समेटिए । ग्रिनको जितमा सन्जु रिमाल र माधव ढकालले समान ३–३ तथा रोहित कुँवरले २ विकेट लिए । खेलमा सन्जु रिमाल म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

दोस्रो सेमीफाईनल खेलमा नेपथ्या तिलोत्तमा क्रिकेट एकेडेमीले टस जितेर फिल्डिङ रोज्यो । स्टार क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा ६ बिकेटको नोक्सानीमा शानदार १ सय ३७ रनको लक्ष्य खडा गरेको थियो । स्टारका राहुल नावले अर्धशतक पुरा गरे । उनले २५ बलमा ८ छक्का र ३ चौकाको मद्दतले ५७ रनको योगदान दिए । नेपथ्या तिलोत्तमा क्रिकेट एकेडेमीका रितिक गुप्ताले २ विकेट लिए । मध्यम लक्ष्य पछ्याएको नेपथ्या १४ ओभरमा ४९ रनमा समेटियो । नेपथ्याका सुसान्त सुवेदीले ३१ बलमा २० रन बाहेक अन्य ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन । स्टारका जितमा कृष्ण पन्थीले ४, राहुल नाउले ३ तथा राहुल क्षेत्रीले २ विकेट लिए । खेलमा स्टारका राहुल नाउ म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।