© २०२३
बुटवल, २४ जेठ ।
बुटवलमा जारी यु–१२ लिग क्रिकेट प्रतियोगिता २०८० को उद्घाटन खेलमा नेपथ्या तिलोत्तमा विजयी भएको छ । जुनियर खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ आयोजना भएको प्रतियोगितामा एमएसएमटी एकेडेमीलाई १७ रनले पराजित गर्दै नेपथ्या तिलोत्तमा स्पष्ट अंक जोड्न सफल भयो ।
यसैगरी दोस्रो खेलमा बिएमडब्लु वेष्ट्रन एकेडेमीलाई ९ बिकेटले पराजित गर्दै स्टार क्रिकेट एकेडेमी विजयी भएको छ । देविनगरस्थित मैदानमा भएको पहिलो खेलमा नेपथ्या तिलोत्तमाले टस जितेर ब्याटिङ रोज्दै निर्धारित २० ओभरमा सबै बिकेट गुमाएर १ सय १७ रनको लक्ष्य खडा गरेको थियो ।
नेपथ्या तिलोत्तमाका सुसान्त सुवेदीले १८ बलमा २५ तथा अन्जी पाठकले २४ बलमा २० रनको योगदान दिए । एमएसएमटी एकेडेमीका सत्यामले ४ ओभरमा १७ रन खर्चेर २ तथा ईमरान खानले ४ ओभरमा १७ रन खर्चेर १ विकेट लिए । कम स्कोरलाई पछ्याएको एमएसएमटीका ब्याट्सम्यानहरु पुरै २० ओभरमा ९ बिकेट गुमाएर १ सय रनमात्र बनायो । नेपथ्या तिलोत्तमाका ईमरान खानले ३९ बलमा ३० तथा गौरबले १४ बलमा ११ रनको योगदान दिएपनि जितका लागि पर्याप्त भएन । कम स्कोरमा रोक्न नेपथ्याका सुसान्त सुवेदीले ४ ओभरमा १८ रन खर्चेर २ बिकेट लिए । खेलमा नेपथ्याका सुसान्त सुवेदी म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
यसैगरी दोस्रो खेलमा टस जितेर बिएमडब्लु वेष्ट्रन एकेडेमीले टस जितेर ब्याटिङ रोज्दै आठ ओभरमा २५ रन बनायो । वेष्ट्रनका ओनिस थापाले ८ रन बाहेक अन्य ब्याट्सम्यान टिक्न सकेनन् । कम स्कोरमा रोक्न स्टार क्रिकेट एकेडेमीका राहुल क्षेत्री र राहुल शर्माले २–२ बिकेट लिए । झिनो लक्ष्यलाई स्टार क्रिकेट एकेडेमीले ४ ओभरमा एक विकेटको नोक्सानीमा भेटायो । स्टारका राहुल शर्माले नटआउट २४ रनको योगदान दिए । वेष्ट्रनका अमृत तिवारीले १ बिकेट लिए । खेलमा स्टारका राहुल शर्मा म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
एक समारोहका बीच लुम्बिनी प्रदेश तथा रुपन्देही क्रिकेट संघका सचिव सन्जय गुरुङले प्रतियोगिताको उद्घाटन गर्दै ग्रास रुट खेल विकासमा टेवा मिल्ने बताए । कार्यक्रममा रुपन्देही क्रिकेट संघका कोषाध्यक्ष निरज खाँण, बुटवल क्रिकेट विकास समितिका निर्वमान अध्यक्ष नेत्र प्रसाद पौडेल, संघका सदस्य प्रथम पराजुली, पुनित पोखरेल, प्यारामाउण्ट बोर्डिङ स्कुलका सहप्राचार्य गोपाल ज्ञवाली, मेडिकल पार्टनर सिद्धार्थ सिटी हस्पिटलका पंकज पाण्डे, भारतका पुर्व रन्जी खेलाडी पुनित मेहरा, लाल अधिकारी, घनश्याम थारु, राम चन्द्र पांडे, तारा पाठक, भुवन अधिकारीले क्रिकेट खेलको विकासमा सामुहिक योगदान जरुरी रहेको बताए । विहिबार पहिलो खेल एमएसएमटी क्रिकेट एकेडेमी र ग्रिन प्लान्ट तथा दोस्रो खेल बिएमडब्लु वेष्ट्रन एकेडेमी र एभरेष्ट बोर्डिङका बिचमा खेल हुने क्लबका अध्यक्ष भुवन पाण्डेले बताए ।