© २०२३
बुटवल, २३ जेठ ।
जुनियर खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ यु–१२ लिग क्रिकेट प्रतियोगिता २०८० हुने भएको छ । जिल्लामा रहेका विभिन्न क्रिकेट एकेडेमीका क्रिकेट सिकेका १२ वर्षभन्दा मुनिका खेलाडीहरुका बीच प्रतियोगिता गराएर प्लेटफर्म दिने गरी कार्यक्रम गर्न लागेको हो ।
बुटवल उपमहानगरपालिका वडा नं ११, प्यारामाउण्ट बोर्डिङ स्कुलको सहयोग तथा बिएमडब्लु वेस्टर्न क्रिकेट एकेडेमीको आयोजनामा जेठ २३ गतेबाट बुटवलमा अन्तर विद्यालय यु–१२ लिग क्रिकेट प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा आयोजक वेस्टर्न क्रिकेट एकेडेमी, स्टार क्रिकेट एकेडेमी, तिलोत्तमा क्रिकेट एकेडेमी, एभरेस्ट ईङलिश बोर्डिङ स्कुल, ग्रीन प्लान्ट ईङलिश बोर्डिङ स्कुल, एमएसएमटी क्रिकेट एकेडेमी गरी रुपन्देहीका ६ वटा एकेडेमी र विद्यालयका टिमबिच प्रतिस्पर्धा हुने भुवन पाण्डेले बताए ।
बुटवल उपमहानगरपालिका वडा नं ११ को वडा कार्यालयको सहयोगमा लुम्बिनी वाणिज्य क्याम्पस खेलमैदान मर्मत गरिएको उनले बताए । पिच निर्माण, मैदान सम्याउने र रेखाङ्कन लगायतका सबै कामहरु भएको उनले बताए । प्रत्येक खेल २५ ओभरको खेलाईने उनले बताए । बुधबार उदघाटन खेलमा नेपथ्य तिलोत्तमा र एमएसएमटी क्रिकेट एकेडेमी भिड्ने छन । खेलाडीहरुलाई सिद्धार्थनगर सिटि हस्पिटलबाट मेडिकल सपोर्ट भएको छ ।