© २०२३
दाङ, २१ जेठ ।
दाङको देउखुरीमा अटो र मोटरसाइकल एक आपसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
लमही–भालुबाङ सडक खण्डको राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाटमा आइतबार दिउँसो पूर्वबाट पश्चिम तर्फ गइरहेको भे १२ प ७५०४ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्व तर्फ गइरहेको रा १ ह ५६०१ नम्बरको तरकारी बोकेको अटो एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परी अटो चालक घोराही –५ निवासी ३१ वर्षका किरण रोकाको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका रोकालाई उपचारका लागि सिसहनियाँ स्वास्थ्य चौकीमा पुराए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
सोही दुर्घटनामा परी मोटरसाइकल चालक राप्ती गाउँपालिका ३ बसन्तपुर निवासी ३४ वर्षका दोर्णबहादुर चौधरी, मोटरसाइकलमा सवार सोही ठाउँ निवासी २६ वर्षका सुन्दर चौधरी र अटोमा सवार घोराही –१८ मसिना निवासी ५० वर्षका दिलसरा बादी घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता राजनकुमार गौतमले जानकारी दिए ।
घाइते मध्ये मोटरसाइकलमा सवार दुवै जनालाई सिसहनियाँ स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज र अटोमा सवार दिलसरा बादीलाई थप उपचार लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ल्याइएको प्रहरीले बताएको छ । अटो र मोटरसाइकल तीव्र गतिमा रहेको कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले बताएको छ ।