© २०२३
न्युज बुटवल टुडे
बुटवल, १५ जेठ ।
पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित बुटवलबाट पाल्पाको वसन्तपुरसम्म चल्ने लुम्बिनी केबलकार सोमबारदेखि आएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १ गते उद्घाटन गरेको यो केबुलकार व्यावसायिक रुपमा सञ्चालनमा आएको हो । यो लुम्बिनी प्रदेशकै पहिलो केबलकार हो ।
कुल ५ अर्ब रुपैयाँ लागतको आयोजना मध्ये पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ भने टप स्टेसनमा साढे ३ अर्ब लागतमा पांचतारे होटेल, क्यासिनो र ७ सय जना क्षमताको सेमिनार हल लगायत संरचना निर्माण हुने क्रममा छन् ।
१९ वर्षअघि बुटवलका लक्ष्मण गौतम, तेजप्रसाद विश्वकर्मा, भैरहवाका नारायणप्रसाद उपाध्याय लगायतको समूहले परिकल्पना गरेर अघि बढाएको आयोजना वन सम्बन्धी कानूनी जटिलता र पुंजी अभावमा झण्डै डेढ दशकसम्म अघि बढ्न सकेको थिएन ।
तीन वर्षअघि स्थानीय लगानीकर्ताको आग्रहमा व्यावसायिक घराना आईएमई ग्रुपले नेतृत्व गरेपछि लुम्बिनी केबुलकार निर्माणले गति लिएको हो ।
एक वर्षभित्र सञ्चालनमा ल्याउने भनिएको केबलकार कोराना महामारीको असरका कारण निर्धारित समयभन्दा केही ढिला सञ्चालनमा आएको हो ।
सोमबार केबलकारको बटम स्टेशनमा पण्डितहरुबाट धार्मिक विधि अनुसार पूजाआराधना गरेपछि केबलकार सञ्चालन भएको हो ।
बुटवलको वडा नं ३ मा बटम स्टेशन र पाल्पाको तिनाउ गाउंपालिका वडा नं ३ वसन्तपुरमा टप स्टेशन रहेको केबलकार २.६ किलोमिटर दुरीको छ । बटम स्टेशनबाट १० मिनेटमा टप स्टेशनमा पुग्न सकिन्छ ।
एउटा गोण्डालामा आठ जना यात्रा गर्न मिल्ने २५ वटा गोण्डाला रहेको केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्ने लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्र ढकालले बताए ।
केबलकारको टप स्टेशन वसन्तपुरमा कामाख्या देवीको आकर्षक मन्दिर बनाइएको छ । केबलकार सञ्चालनसंगै कामाख्या मन्दिर दर्शन गर्नेको चहलपहल बढेको छ ।
कामाख्यादेवी मन्दिर र बसन्तपुरकोे चीसो हावापानीले विशेषगरी भारतीय पर्यटक र हिन्दु धर्मावलम्बीलाई आकर्षित गर्ने अध्यक्ष ढकालले बताए ।
टप स्टेशनमा पांचतारे होटेल र क्यासिनो बनेपछि दैनिक ५ हजार भारतीय पर्यटक भित्राउने लक्ष्य रहेको अध्यक्ष ढकालले बताए ।
लुम्बिनी आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी केवलकार सञ्चालनमा ल्याइएको हो । यसले पाल्पाको वसन्तपुर क्षेत्रमात्र नभएर त्यसको आधार स्टेशन रहेको बुटवल र यस आसपासको पर्यटन विकाससँगै आर्थिक गतिविधिलाई चलायमान बनाउने छ । गर्मी याममा बुटवल तथा यस आसपासको तराईको अधिकतम तापक्रम ४०÷४२ डिग्री सेल्सियस हुन्छ भने त्यही समयमा पाल्पाको ती स्थानको अधिकतम तापक्रम २० देखि ३० डिग्री सेल्सियस रहने भएकाले केवलकारले तराईको गर्मी छल्न मद्दत पुग्ने छ ।
बटम स्टेसन समुद्री सतहबाट दुई सय ३० मिटर र टप स्टेसन नौ सय ४० मिटरको उचाईमा रहेको छ । सातवटै प्रदेशमा केबलकार सञ्चालन गर्ने योजनामा रहेको आईएमई ग्रुपको यो तेस्रो केबलकार हो ।
यसअघि चन्द्रागिरी र मौलाकालिका केबलकार सञ्चालनमा आइसकेका छन् । लुम्बिनी केबलकार सञ्चालनले पाल्पाको बसन्तपुरमा नयां पर्यटकीय गन्तव्य थपिएको र पर्यटकको बसाई लम्बाउन सहयोग पुग्ने निजी क्षेत्रको विश्वास छ । केबलकार सञ्चालनले प्रदेश राजधानी दाङ सर्दा खस्केको रुपन्देहीको ब्यापार व्यवसायमा सुधार आउने अपेक्षा रहेको नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनीका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताए ।
तिनाउ गाउंपाकिलाका अध्यक्ष प्रेम श्रेष्ठले केबलकार सञ्ञालनले गाउंपालिकाको विकासमा ठूलो योगदान पुग्ने बताए । केबलकारले बुटवल उपमहानरपालिका र तिनाउ गाउंपालिकालाई प्रत्येक टिकट शुल्को २ प्रतिशत सेवा शुल्क वापत छुट्टाएको छ ।
तस्विरहरु : टिआर शर्मा
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी