© २०२३
बुटवल, २६ वैशाख ।
प्रथम बुटवल मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता २०८० मा सिद्धार्थनगर लगातार दुई खेलमा विजयी हँुदै फाईनलमा प्रवेश गरेको छ । बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोग तथा बुटवल क्रिकेट विकास समितिको आयोजनामा मंगलबार भएको दोस्रो खेलमा सिद्धार्थनगरले तिलोत्तमा नगरपालिकालाई ३ रनले पराजित गर्दै उपाधि दाबेदारी पेश गरेको हो । सिद्धार्थनगरले यसअघि देवदहलाई पराजित गर्दै खेलको अंकतालिकामा स्पष्ट ४ अंक जोड्न सफल सफल भयो ।
नरेश्वर क्रिकेट मैदानमा मंगलबार भएको निर्णायक खेलमा टस जितेर ब्याटिङ रोज्दै सिद्धार्थनगरले २० ओभरमा सबै विकेट गुमाउँदै १ सय १७ रनको लक्ष्य खडा गरेको थियो । सिद्धार्थनगरका बिष्णु कठरियाले ३१ बलमा २८, ईकलाख वारसीले ३४ बलमा २२ तथा सुरज गुरुङले १७ बलमा १६ रनको योगदान दिए । तिलोत्तमाका केशव पौडेलले ४ ओभरमा १९ रन खर्चेर ३, लक्ष्मण कुमालले ३ ओभरमा १५ रन खर्चेर २ तथा रुपेश बश्यालले ३ ओभरमा १४ रन खर्चेर २ विकेट लिएका थिए । मध्यम लक्ष्य पछ्याएको तिलोत्तमाका ब्याट्सम्यानहरु १९.३ ओभरमा १ सय १४ रनमा समेटियो । तिलोत्तमाका केशव पौडेलले २५ बलमा ३५ तथा विष्णु पाण्डेले २८ बलमा २८ रनबाहेक अन्य ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन् । सिद्धार्थनगरको जितमा इकलाख वारसीले ३ दशमलव ३ ओभरमा १८ रन खर्चेर ४ तथा बिष्णु कठौरियाले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । खेलमा सिद्धार्थनगरका ईकलाख वारसी म्यान अफ दी म्याचबाट पुरस्कृत भए । प्रतियोगिताको उपाधि विजेताले नगद ५० हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने समितिका सचिव पुनित पोखरेलले बताए । यसैगरी उपविजेता टिमले नगद २५ हजार रुपैयाँ, मेडल, प्रमाणपत्र, म्यान अफ द सिरिजलाई नगद ५ हजार रुपैयाँ, उत्कृष्ट बलर, ब्याट्सम्यानलाई नगद २ हजार ५ सय रुपैयाँ, कप, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।