© २०२३
बुटवल, २४ वैशाख ।
पार्टी ईभेन्ट बुटवल खुला फुटसल प्रतियोगिता २०८० को उपाधि युनिक फुटसल एफसीले चुमेको छ । तिलोत्तमा नगरपालिकास्थित मोनालिसा फुटसल एरिनामा शनिबार भएको प्रतिष्प्रधात्मक फाईनल खेलमा पेनाल्टी सुट आउटमा ईन्टर स्पोर्ट्स एफसीलाई पराजित गर्दै युनिकले उपाधि चुमेको हो । निर्धारित समयमा १–१ गोलको बराबरी भएपनि खेल पेनाल्टी सुटआउटमा २–० को नतिजाले निर्णय आफ्नो पक्षमा पार्यो । युनिक उपाधिसंगै नगद ३० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । उपविजेतामा चित्त बुझाएको ईन्टरले नगद १५ हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ ।
प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी युनिक फुटसलका अंकित ढकाल घोषित भए । उत्कृष्ट गोलरक्षक पनि युनिककै एलेक्सिस क्षेत्री चुनिए भने सर्वाधिक गोलकर्ताको पुरस्कार इन्टर स्पोर्टसका रेशम चौहान मगरले हात पारे । दुई दिनसम्म चलेको प्रतियोगितामा २० टिमहरु उपाधिका लागि प्रतिष्पर्धा गरेको खेल संयोजक मनिष श्रेष्ठले बताए ।
विजयी खेलाडीहरुलाई लाफा समूह बुटवलका निवर्तमान अध्यक्ष तारा सिंह रेश्मी मगर, पार्टी इभेन्ट बुटवलका अध्यक्ष अमित गुरुङ, खेल संयोजक मनिष श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए । यसअघि भएको खेलमा ईन्टर स्पोर्ट्स एफसीले माछापुच्छ्रे एफसीलाई ८–१ गोल तथा युनिक फुटसलले एम्मा एफसीलाई ६–० गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेको थियो । दुई दिने प्रतियोगिता शुक्रबारदेखि शुरु भएको हो ।