© २०२३
कपिलवस्तु (बुटवलटुडे), बैशाख– कपिलवस्तु नगरपालिकाले आयोजना गर्न थालेको छैठौं नगरस्तरीय मेयर कप क्रिकेट प्रतियोगिताको तयारी पुरा भएको पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।
बैशाख २० गतेदेखि २६ गते सम्म तौलिहवाको बुद्धपद्धम मा.बिको खेल मैदानमा आयोजना गरिएको प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाए । प्रतियोगितामा नगरका १२ वटा वडाको १२ टोली बिच टि ट्वान्टी नकआउट प्रतियोगिता हुनेछ ।
प्रतियोगिताका लागी आवश्यक पर्ने खेल मैदान व्यवस्थापन, निर्णायक, खेल सामाग्री सहितको व्यवस्थापन पुरा भएको छ । दैनिक २ वटा खेल आयोजना हुने प्रतियोगिताको व्यवस्थापन गर्नका लागी नगरपालिकाका सामाजिक बिकास समितीका संयोजक रहेका वडा नम्बर ५ का अध्यक्ष दिरेप कुमार चौधरीको संयोजकत्वमा ५ सदस्यिय खेल सञ्चालन तथा व्यवस्थापन समिति गठन भएको छ । प्रतियोगितामा सहभागी हुने प्रत्यक टोलीलाई किट्स र प्रत्यक खेलाडीलाई जर्सी सेट प्रदान गर्ने नगरपालिकाको योजना छ । मौसममा प्रतिकुलता आए तालिकामा केहि फेरबदल हुन सक्ने संभावना रहे पनि तोकिएको समय तालिकामा खेल सम्पन्न गर्ने गरि योजना अगाडि बढाईएको कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश अर्यालले बताए ।
नेपालले अहिले क्रिकेटमा राम्रो उपलब्धी ल्याएको बताउदै स्थानियस्तरबाटै क्रिकेट खेलका खेलाडी उत्पादनको उद्धेश्यले प्रतियोगिता आयोजना गर्न थालिएको नगर प्रमुख सुदिप पौडेलले बताए ।
कपिलवस्तु नगरपालिकाले अरू खेलमा भन्दा मेयर कप क्रिकेट प्रतियोगितालाई प्राथमिकतामा राखेको उनले स्पष्ट पारे । पत्रकार सम्मेलनमा व्यवस्थापन समितिका संयोजक दिरेप कुमार चौधरी, जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष राजेश उपाध्याय, पत्रकार महासंघका संस्थापक जिल्ला सभापति नारायण प्रसाद पौडेल र नगरपालिकाका शिक्षा अधिकृत युवराज भुसाल लगायतको सहभागीता रहेको थियो । प्रतियोगितामा प्रथम हुने टोलीलाई ५० हजार र दोस्रो हुने टोलीलाई ३० हजार सहित मेडल, ट्रफि, प्रमाणपत्र सगैं म्यान अफ द म्याच, म्यान अफ द सिरिज लगायतका पुरस्कार दिईने पौडेलले जानकारी दिए ।