© २०२३
बुटवल, १७ वैशाख ।
बुटवल–पाल्पा सडक खण्डको तिनाउ हेडबक्स नजिकै सुन्दर रामापिथेकस बगैचा छ । यात्रामा हिडेका धेरै पर्यटकहरु थोरै समय यही बिश्राम गर्छन । १ करोड १० बर्ष पुरानो मानव पुर्खा रामापिथेकसको बगारा भेटिएको यो स्थानमा स्थानियको अगुवाईमा यात्रुहरुलाई लक्षिण गरि बगैचा निमार्ण गरिएको छ ।
दैनिक सयौ जना यहाँ आउने र घुम्ने गर्छन् । यही भेटिए सुस्ताइरहेका दुई जना सडक कामदार । दिउँसोको चर्को घाममा खाना खाँदै सुस्ताएका झयाङलाका गिर बहादुर घर्ती र पंख बहादुर शाही गफिदै थिए । उनीहरु खाना सकेपछि सडक सरसफाई कताबाट शुरु गर्ने योजना बुनिरहेका थिए । उमेरले ५७ वर्षीय गिर बहादुर घर्ती सडक सरसफाई लेन्थर हुन् । तिनाउ गाउँपालिका २, पाल्पा घर भएका उनको दैनिकी सडक सरसफाई गर्ने हो । झ्याङला घरबाट दैनिक सिद्धबाबा खण्डमा काम गर्न उनी बिहान साँझ डेढ–डेढ घण्टा पैदल हिंड्छन । दैनिक ज्यालादारीमा रहेका उनी यसैको कमाईबाट जीवन निर्वाह गरेका छन् । ‘कामले माम मिलेको छ’– उनले भने । बिहानै सबेरै हिड्दा खाना बोकेरै आउने उनी दिउसो १ घण्टा विश्रामको समयमा खाना खान्छन् । सडकमा भएका सुख्खा पहिरोका ढुंगा, माटाका ढिस्का हटाउने उनको दैनिकी हो । ससाना पहिरोकै कारण सडकमा रोकिएका यात्रुहरुलाई बाटो खुलाउने उनीहरुले गर्दछन् । ‘एक जनाको भागमा दैनिक ३ किलोमिटर दुरी सरसफाई पर्छ’–उनले भने । उनी करारको यो जागिरमा रमाएका छन् । मृत्यु मार्ग नाम पाएको पाल्पा सडक खण्डमा वर्षेनी सडक दुर्घटनामा मानवीय क्षति हुने गर्दछ । यही सडकमा भने उनी आफनो जिविका चलाउन दैनिक नङ्ग्रा घोट्छन् । उनको यो कामकै कारण धेरै यात्रुहरुलाई भने सहज भएको छ । सडक सफाईमा लामो समय बिताएका उनी बिर्सन नसक्ने धेरै कथाहरु सम्झन्छन् । सिद्धार्थ राजमार्गको दोभान खण्डको सिद्धबाबा, चरचरेमा वि.सं. २०५७ सालमा बस र ट्रक च्यापिएको घटना सबैभन्दा पिडादायी लाग्छ । उनी झलझलि यो सम्झिन्छ्न । ‘वर्षामा एक पटक सडक बन्द हुँदा रातिभर रोकिएको छु’–उनले स्मरण गरे ।
तिनाउ गाउँपालिका–२ दोभान का ३९ वर्षीय पंख बहादुर शाही परिवार धान्नकै लागि लामो समय विदेश बसे । ‘सन २०११ बाट २०१७ सम्म साउदीमा श्रम गरे’– उनले भने । सामान्य अक्षर चिन्न सक्ने उनी धेरै पढ्ने लेख्ने चाहना पारिवारिक कारणले पूरा गर्न सकेनन् । सानैबाट दुख गरेर हुर्किएको उनी बताउँछन् । बुझ्ने भएपछि लामो समय विदेश बसेका उनी अहिले भने घरपायक सडक लेन्थरको काममा रमाएका छन् । ‘दैनिकी चलेको छ’– उनले भने । बुबाआमा सानैमा गुमाएका उनी आफुले गरेको दुख अब छोराछोरीले नपाउन भन्ने सोच राख्छन् । जुम्ला स्थायी घर भएका उनी वि.सं २०५८ सालमा पाल्पा दोभान बसाईसराई गरे । यतै उनले जिवनसंगिनी भेटे । श्रीमतिसहित एक छोरा र २ छोरीहरु घरमा छन् । स्वदेशमा नङ्ग्रा खियाउँदा दिक्क भएका उनी विदेशको अनुभव पनि लिए । ‘जहाँ गएपनि कर्म प्यारो रहेछ’– उनले भने । परिवारसंगै थोरै कमाउदा उनी खुशी छन् । बेल्चा, गैति, घन, कोदालो हतियार लिएर मैदानमा उनी हिड्छन । ‘बाटो सफा गरेरै जीवन चलेको छ’–उनले भने ।
बाटोमा भएका खाल्दा पुर्ने, झाडी काट्न, वर्षाको पानी कटाउने, गिट्टीहरु हटाउने जस्ता सडक मर्मत र सरसफाई उनको दैनिकी हो । जाडो महिनाको मंसिर, पुस र माघ ३ महिना बिहान ८ –४ बजेसम्म र फागुनबाट भने बाँकी महिना ९–५ बजेसम्म काम गर्ने उनीहरुको तालिका छ । वर्षा सिजन शुरु भएपनि भने उनीहरुलाई कामको भ्याइनभ्याइ हुन्छ । दिउँसोको टन्टलापुर घाममा खाना खाने विश्राम लिएर उनीहरुको आफ्नो दैनिकीमा शुरु हुन्छ । दुर्घटना हुने स्थानको रुपमा परिचय बनाएको यस्तो ठाउँमा उनीहरु यात्रुहरुको यात्रालाई सुरक्षित बनाउन खटिने गर्दछन् । वर्षेनी यहाँ धेरै सडक दुर्घटना हुन्छ । चिडियाखोलादेखि केराबारीसम्मको दुरीमा उनिहरु जस्तै ६ जना सरसफाई लेन्थर छन् । एक जनालाई ३ किलोमिटर दुरी दैनिक सरसफाई गर्नुपर्छ ।