© २०२३
बुटवल, १२ बैशाख ।
१३ औ संघीय तथा दोस्रो प्रदेश स्तरीय राष्ट्रपति रनिङशिल्ड छनौट प्रतियोगिता २०८० मंगलबार बुटवलमा सुरु भएको छ । प्रदेश खेलुकद परिषद लुम्बिनीको आयोजनामा सुरु भएको प्रतियोगिताको लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले देविनगरस्थित एन्फा एकेडेमीको खेलमैदानमा उदघाटन गर्दै खेल विकाससंग समाजको विकास जोडिएको भन्दै यसमा सरकारको चासो जरुरी रहने बताए । विश्व ईतिहासमा नेपालको नाम खेलकुद विधाकै कारण प्रख्यात भएको उदाहरण दिदै कुनै पनि ब्यक्ति खेलबाट टाढा रहन नसक्ने दाबी गरे । मानव विकासक्रमको क्रममा जीवन जिउन अपनाएका आत्मरक्षाका कतिपय अभ्यास आधुनिक खेलकुदका रुपमा स्थापित रहेको उनले बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले युवाहरुको भूमिका सशक्त र प्रभावकारी बनाउन खेलकुद महत्वपुर्ण रहेको बताए । सरकारबाट खेलकुदलाई महत्व दिएर पूर्वाधार विकास र प्रतियोगितामा बजेट बिनियोजन गर्दै आएको उनले बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्वमन्त्री सिके गुप्ता, परिषदका सदस्यसचिव जयप्रकाश भट्टराईले ग्रासरुट खेलको विकासमा सरकारको ध्यान जानुपर्ने भन्दै पूर्वाधार अभाव मुख्य चुनौती रहेको बताए ।
प्रतियोगितामा ६ विधामा १२ जिल्लाका १ हजार ८० खेलाडी र १ सय ५० अफिसियलहरु भाग लिदैछन । प्रतियोगितामा भाग लिने जिल्लाका खेलाडीहरुले मार्चपास समेत गरेका थिए ।