© २०२३
काठमाडौँ ।
एसीसी प्रिमियर कपअन्तर्गत घरेलु टोली नेपालले आज शुक्रबार ओमानसँग प्रतिस्पर्धा गर्दै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे सुरु हुनेछ। च्याम्पियनसिपको उपाधि दाबेदार नेपाल, ओमानलाई हराउँदै सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाउन चाहन्छ।
नेपाल आजको खेलमा विजयी भए समूह ए को विजेता बन्दै अन्तिम चारमा प्रवेश गर्ने सम्भावना बलियो छ। नेपालसँगै ओमानलाई पनि उपाधि दाबेदार टोलीका रुपमा हेरिएको छ।
नेपालले आजको खेलमा एक खेलाडी परिवर्तन गर्ने सम्भावना छ। प्रशिक्षक मोन्टी देसाइले गुलसन झाको स्थानमा आज करण केसीलाइ मैदान उतार्ने सम्भावना छ। मलेसियासँगको पहिलो खेलमा अनुभवी खेलाडी ज्ञानेन्द्र मल्ल र करणलाई बेन्चमा राखेका थिए।
पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको थियो।
नेपाल र ओमानबीचको यो खेलले एक दिवसीय मान्यतासमेत पाएको छ।
प्रतियोगिताका अन्य खेल ५० ओभरको मात्र भए पनि ओडीआई मान्यता प्राप्त गरेको थिएन। तर नेपाल र ओमान दुवै ओडीआई मान्यता प्राप्त देश रहेकाले आईसीसीले यो खेललाई एक दिवसीय मान्यता दिएको हो।
यो खेल नेपालको ५०औँ ओडीआई खेलसमेत हो।