© २०२३
गुल्मी, वैशाख ।
गुल्मीको मुसिकोट नगरपालिकामा मह उत्सव मनाईएको छ । मुसिकोट नगरपालिका अन्तर्गत ८ र ९ मा रहेको सालिमे स्मार्ट कृषि गाउँ मौरी पकेट समूहको आयोजनामा उक्त मह उत्सव कार्यक्रमको आयोजना गरिएको हो । कृषि ज्ञान केन्द्र गुल्मीको सहयोगमा जिल्लाको मुसिकोट नगरपालिकामा मौरी स्मार्ट गाउँ कार्यक्रम लागू भएपछि त्यहाँका ५० घर परिवार कृषकहरू व्यवसायिक मौरी पालनतर्फ आकर्षित बनेका हुन ।
गत तीन वर्षअघिे मौरी स्मार्ट कार्यक्रम लागु भएपछि त्यहाँका कृषकहरूले व्यावसायीक रूपमा मौरी पालन गर्दै आईरहेका छन ।
मौरी पालन व्यावसायलाई आधुनिकिकरणसँगै महलाई विविधिकरण गरि त्यसको व्यवसायीकरण प्रवद्र्धन गरि गुल्मी जिल्लालाई महमा आत्मनिर्भर बनाउने उद्देश्यले जिल्लामा पहिलो पटक मह उत्सव गरिएको सालिमे स्मार्ट कृषि गाउँ कार्यक्रमका अध्यक्ष चुमा घर्तिमगरले बताए ।
सालीमे मौरी स्मार्ट गाउँ कार्यक्रमका लागि कृषि ज्ञान केन्द्र मार्फत चार वर्षको अवधिमा एक करोड २५ लाख रूपैंया अनुदान उपलब्ध गराउने कार्यक्रम रहेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी गराएका छन । सालीमे मौरी स्र्माट समूहले पहिलो वर्षलाई आधार वर्ष, दोस्रो वर्षलाई मह वृद्धि वर्ष, तेस्रो वर्षलाई मह उत्सव र चौंथो वर्षलाई मह निर्यात वर्षको रूपमा व्यवस्थीत कार्ययोजना तय गरेको छ ।
कार्यक्रममा प्रदेश सभा सदश्य डिल्लीराज भुसाल, जिल्ला समन्वय समिति प्रमुख दोर्ण खत्री, मुसिकोट नगरपालिकाका पुर्व नगर प्रमुख सोमनाथ सापकोटा, नगर उपप्रमुख गंगा श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत बिनोद कुँवर लगायतका व्यक्तिहरूले मुसिकोटलाई मह पर्यटकीय स्थलको रूपमा विकास गनु पर्नेमा जोड दिएका थिए ।
मह उत्सवमा त्यस क्षेत्रमा उत्पादित अर्गानिक मह र मह उत्पादनमा प्रयोग गरिने आवश्यक सामग्रिको प्रर्दशनी गर्नुका साथै समूहद्वारा प्रकाशित २०८० को क्यालेण्डर समेत विमोचन गरिएको थियो । कार्यक्रममा सहभागि अतिथि लगायत सम्पूर्ण सहभागिहरूलाई महको सर्वत, महको चिया र महको खाजा खुवाईएको थियो ।