© २०२३
पाल्पा चैत– लघुवित्तिय संस्थाविरुद्ध पाल्पामा पनि आन्दोलन चर्किएको छ । लघुवित्त वित्तीय संस्थाहरूले ज्यादती गरेको भन्दै देशभर आन्दोलन भइरहेका बेला पाल्पामा पनि आन्दोलन चर्किएको हो ।
लघुवित्त वित्तीय संस्थाहरूले आफूहरूलाई पीडा दिँदा समेत सरकार मौन रहेको भन्दै लघुवित्त पीडितहरू आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले संघर्ष समिति बनाएर सरकारलाई दवाब दिने गरी आन्दोलनमा उत्रिएका छन् । चैत २१ गतेदेखि शान्तिपूर्ण धर्नामा बस्दै आएका पाल्पाका लघुवित्त पीडितहरू सोमबारदेखि भने प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले सरकारले आफ्नो आवाज नसुनेको भन्दै चर्को नारासहित सडक प्रदर्शनमा उत्रिएका हुन् । यसअघि पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदै जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना बसेको लघुवित्त पीडित संघर्ष समिति पाल्पाले आफूहरूलाई बेवास्ता गरेको भन्दै प्रदर्शनमा उत्रिएको जनाएको छ । समितिकी अध्यक्ष कृष्ण माया आले मगरले महिलाहरूलाई उठिबास गराउँदै आत्महत्याको बाटोमा डो¥याउने लघु वित्तको ज्यादती अन्त्य हुनुपर्ने माग राख्दै देशव्यापी भइरहेको आन्दोलन अनुरूप नै पाल्पामा पनि सडकमा उत्रिएको बत्ताइन् । बिना धितो ऋण दिने प्रलोभन दिँदै सोझा साझा महिलाहरूलाई समूहमा राखेर थरिथरिका दर्जन बढी बचत खाता खोल्न लगाई भएभरको पैसा जम्मा गर्न लगाएर कंगाल बनाएको उनको आरोप छ ।
विभिन्न किसिमका बचत खोलेर पैसा राख्न लगाउँदै लघु वित्तहरू आफू मोटाउने तर, सदस्य महिलाहरूलाई उठिबास लगाएर अकालमा मर्न बाध्य बनाउने गरेकाले बाध्य भएर संघर्ष गर्नुपरेको उनले बत्ताइन् । विरोध ¥यालीमा सहभागीहरू अधिकांश महिला रहेका छन् । पीडितहरूले सरकारी निकाय गैरजिम्मेवार नबन, लघुवित्त संस्थाहरूको खारेजी गर, सामूहिक ऋण मिनाहा गर लगायतका नारा लगाएका छन् ।
उनीहरूले ‘नवसामन्ति’को रूपमा स्थापित लघुवित्तीय संस्थाहरू खारेज हुनुपर्ने, सामूहिक ऋण मिनाह हुनुपर्ने, गरिब किसानलाई निःशुल्क ऋण प्रदान गर्नुपर्ने, आवश्यकता र क्षमताको आधारमा काम र दामको व्यवस्था हुनुपर्ने, समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्ने माग गरेका छन् । लघुवित्त वित्तीय संस्थाका कारण आत्महत्याको बाटो रोज्नुपरेको समेत उनीहरूको गुनासो छ । तानसेनमा विभिन्न माग समेटिएको ब्यानर र प्लेकार्ड लिएर लघुवित्त पीडितहरू प्रर्दशनमा निस्किएका थिए । उनीहरूले आफ्नो माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।