© २०२३
बुटवल, २६ चैत ।
काठमाडौमा सम्पन्न चौथो वीर गणेशमान सिह राष्ट्रिय बक्सिङ प्रतियोगितामा लुम्बिनी प्रदेशका ३ खेलाडीले पदक जितेका छन् । वीर गणेशमानसिह स्पोर्ट्स कमिटिको आयोजनामा सम्पन्न प्रतियोगितामा लुम्बिनी प्रदेशका ८० केजी तौल समूहमा हेमराज राउतले बाग्मती प्रदेशका मनोज तामाङलाई फाईनलमा पराजित गर्दै स्वर्ण हात पारे ।
उनले ३–३ मिनेटको ३ राउण्डमा जित निकाल्दै स्वर्ण जितेका हुन् । यसैगरी ५४ केजी तौल समूहमा लालमाया खत्री र ६० केजी तौल समूहमा सुजन कुमारी कुमाल तेस्रो हँुदै कास्य पदक जित्न सफल भएका छन् । लुम्बिनी प्रदेश बक्सिङ संघका अध्यक्ष राजु गुरुङले सिमित साधनश्रोतबाट खेलाडीहरुको तयारी गर्दा ठुलो उपलब्धि हासिल गर्न सफल भएको बताए । बक्सिङ खेलको पूर्वाधार र खेलाडी विकासमा सरकारबाट आवश्यक बजेट बिनियोजन हुन सके अन्तर्राष्ट्रिय मञ्चमा सफलता मिल्ने गरी प्रदर्शन गर्न सकिने सम्भावना रहेको उनले दाबी गरे । प्रशिक्षक विनोद शेरचनले निक्कै मेहनत गर्दा खेलाडीलाई सफलता मिलेको बताए ।
लुम्बिनी प्रदेशबाट पुरुषतर्फ ५१ केजी तौलमा भरत पुन मगर, ५७ केजी तौलमा मनसुब बस्नेत, ६३.५ केजी तौलमा नेत्र बहादुर थापा, ६१ केजी तौलमा विकास राना, ८० केजी तौलमा हेमराज रावत, ९२ केजी तौलमा सुजन थापामगर तथा महिलातर्फ ५० केजीमा शारदा न्यौपाने, ५४ केजी तौलमा माया खत्री, ५७ केजी तौलमा कल्पना पुन, ६० केजी तौलमा सुजन कुमारी कुमाल, ६६ केजी तौलमा विमला श्रेष्ठ, ७५ केजी तौलमा जुनुमाया चौधरीले भाग लिएका थिए ।
विजेतालाई पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, आयोजक गणेशमान सिंह स्पोर्ट्स समितिका संयोजक सन्जिव तुलाधर, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, नेपाल बक्सिङ संघका पूर्व अध्यक्ष राजीव श्रेष्ठ, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षपति, राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघका महासचिव कुमार बस्नेतले पुरस्कार वितरण गरेका थिए । नेपाल बक्सिङ संघको प्राविधिक सहयोगमा भएको चैत २१ देखि २५ गतेसम्म पाँच चलेको प्रतियोगितामा पुरुष÷महिलामा ५४–५४ गरी १ सय ८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।