© २०२३
बुटवल, १९ चैत ।
अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा चैत २३ गते मदन भण्डारी स्पोर्ट्स एकेडेमीले लुम्बिनीमा राष्ट्रिय भेला तथा लुम्बिनी पिस ओपन महिला÷पुरुष हाफ म्याराथान प्रतियोगिता गर्ने भएको छ । शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी शान्ति र समृद्धिका लागि खेलकुद नारासहित कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको एकेडेमीका केन्द्रीय अध्यक्ष ध्रुव आचार्यले बताए । प्रतियोगितामा महिला÷पुरुष प्रथम हुने खेलाडीले नगद १ लाख ५० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरी क्रमश द्वितीय, तृतीय हुँदै दशौ स्थानसम्मका विजेतालाई नगद ७५ हजार, ५० हजार, ३० हजार, २० हजार, १० हजार, ७ हजार, ५ हजार रुपैयाको दरले पुरस्कृत गरिने छ ।
खेलाडीलाई ब्यावसायिक बनाउँदै खेल पर्यटन विकास गर्ने लक्ष्यसहित एकेडेमी निरन्तर देशभर विविध विधामा खेलकुद गतिविधिमा जोड दिदै आएको उनले बताए । शान्तिको प्रतीक बुद्ध जन्मस्थल लुम्बिनीमा खेलाडीहरुलाई ल्याएर २१ किलोमिटर हाफ म्याराथन गर्ने तयारीमा रहेको उनले बताए ।
प्रतियोगिताको मदन भण्डारी स्पोर्ट्स एकेडेमीका संरक्षक तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीमा रहेको अन्तर्राष्ट्रिय सभा हलमा उद्घाटन गर्ने कार्यक्रम रहेको संयोजक मोहन घलेले बताए । प्रतियोगितामा सयौ खेलाडीहरु सहभागी हुने उनले बताए ।