© २०२३
कपिलवस्तु(बुटवल टुडे) चैत – मुस्लिम समुदायको महान चाड ईदको एक महिने ब्रत (रमजान) को अवसर पारेर कपिलवस्तु र रुपन्देहीका ४४५ मुस्लिम परिवारलाई खाद्यान्न बितरण गरिएको छ । कतार च्यारिटीको सहयोगमा लुम्बिनी एकिकृत बिकास संस्था (लिडो नेपाल) ले दुई जिल्लाका मुस्लिम परिवारलाई रोजाका लागी एक महिना पुग्ने खाद्यान्न बितरण गरेको हो । संस्थाले कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिकाको पचेहरा र मायादेवी गाउँपालिकाको पकडी र अभिरावका २ सय ९५ मुस्लिम परिवारलाई खाद्यान्न सहयोग गरेको हो । त्यसै गरि रुपन्देही जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिकाका १ सय ५० मुस्लिम परिवारलाई खाद्यान्न सहयोग गरिएको हो । पवित्र महिना रमजानको रोजाका लागी संस्थाले गरेको सहयोगले आफुहरुलाई एक महिना सम्म परिवारको पालनपोषणमा सहयोग पुग्ने लाभग्राहीहरुले बताए ।
बितरीत सामाग्रीमा प्रति परिवार ४÷४ हजार दर पर्ने गरि २५ किलो जिरा मंसुरी चामल, ५ किलो तेल, ३ किलो चना, २ किलो चिनी, १ किलो सेवई र १ किलो नुन सहितका खाद्यान्नहरु छन । बितरीत सामाग्रीले न्युन आय भएका मुस्लिम परिवारलाई रमजानका बेला परिवार चलाउन सहयोग पुग्ने मुस्लिम अगुवाहरुको भनाई छ । दुई जिल्लामा भएको खाधान्न बितरणको कार्यमा लिडो नेपालका अध्यक्ष अतहर कमाल, कतार च्यारीटीका प्रतिनिधी सहित स्थानिय तहका प्रमुख र अन्य जनप्रतिनिधीको सहभागीता रहेको थियो । न्युन आय भएका परिवारलाई ईदको रमजानमा बसिने रोजामा खाधान्न बितरणको कार्यले ति परिवारलाई राहत पुगेको मायादेवी गाउँपालिका कपिलवस्तुका अध्यक्ष वलिउद्दिन मुसलमानले बताए । “न्युन आय भएका मुस्लिम परिवारलाई खाद्यान्न सहयोग रमजानका लागी उपहार जस्तै भएको छ । ” उनले भने । लुम्बिनी साँस्कृतकि नगरपालिकामा रमजानका बेला न्युन आय भएका मुस्लिम परिवारलाई राहत बितरण गरेर कतार च्यारिटी र लिडो नेपालले उदाहरणीय कार्य गरेको लुम्बिनी साँस्कृतिक नगरपालिका प्रमुख सजरुद्दिन मुसलमानले बताए । उनले दुवै संस्थाले अन्य स्थानमा पनि सहयोगका कार्यक्रम ल्याउन आग्रह गरे । न्युन आय भएका दुई जिल्लाका मुस्लिम समुदाय ४ सय ४५ परिवारलाई रमजानको अवसर पारेर खाद्यान्न सहयोग गरिएको लिडो नेपालका अध्यक्ष अतहर कमालले बताए । न्युन आय भएका परिवारमा पनि पवित्र रमजान महिनामा रोजामा सरिक हुदाँ खाद्यान्नको उपलब्धताले सहज अवस्था निर्माणमा सहयोग पुर्याएको उनको भनाई थियो । रमजानको बेला गरिब परिवारका लागी दिईएको खाद्यान्न सहयोगको कार्य अन्य स्थानमा समेत आवश्यक रहेकोमा जनप्रतिनिधी र मुस्लिम अगुवाले सुझाव दिए ।