© २०२३
दाङ, ९ चैत ।
खाद्य परिषद गठन र कृषक परिचय पत्र उपलब्ध गराउन माग राख्दै जिल्ला खाद्य अधिकार संजाल दाङ र फियान नेपालले घोराही उपमहानगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । कृषि क्षेत्रको उत्थानका लागि विशेष ध्यान दिन आग्रह गरिएको छ ।
फियान नेपालका सुरेश गौतम र जिल्ला खाद अधिकार संजाल दाङका सचिव सन्तोष दहितसहितको टोलीले बिहीबार उपप्रमुख हुमा डिसीलाई ध्यानाकर्षण पत्र बुझाएको हो । कृषि क्षेत्र कमजोर बन्दै गएकाले खाद्य संकट निम्तिन नदिन कृषकलाई प्रोत्साहन गर्ने विषयमा ध्यान दिन अपिल गरेको छ ।
ध्यानाकर्षण पत्रमा पालिकामा रहेका वास्तविक किसानलाई किसान परिचय पत्र उपलब्ध गराउन माग गरिएको छ । यसैगरी, स्थानीय तहमा कृषि प्रवद्र्धनका लागि खाद्य परिषद चाँडोे गठन गर्न पनि ध्यानाकर्षण गराईएको संजालका जिल्ला सचिव दहितले जानकारी दिए । स्थानीय तहले कृषि क्षेत्रको उत्थानका लागि प्रयास गरेपनि सार्थक हुन नसकी रहेकाले खाद्य परिषदले उक्त कामलाई टेवा दिने विश्वास गरिएको बताईएको छ ।
घोराही १८ नयाँबस्ती टोलमा जुद्धबहादुर कुसुण्डा विगत २५ वर्षदेखि बस्दै आएको जानकारी गराउँदै सो ठाउँको जग्गा भोगचलन गर्दै आएको जानकारी गराए । आफू बसेको जग्गामा खानेपानी कार्यालय र स्थानीयबासीले जबरजस्ती तारबार गरेको घटनाले आफु अन्यायमा परेको भन्दै कुसुण्डाले न्यायका लागि ध्यानाकर्षण गराएका हुन् । आफुहरु लोपोन्मुख समुदायको नागरिक भएको तथा सम्पत्तिको नाममा त्यही जग्गा रहेको स्मरण गराउँदै न्यायका लागि अपिल गरेका छन् । ध्यानाकर्षण पत्र बुझ्दै उपप्रमुख डिसीले विद्यमान समस्या समाधानका लागि आफु र पालिकाको तर्फबाट प्रयास रहने बताइन् ।