© २०२३
नवलपरासी, ६ चैत ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई सोमबार गृह जिल्ला नवलपरासीमा सम्मान गरिएको छ । बर्दघाट १४ वुद्धबस्ती निवासी पौडेललाई सोमबार नवलपरासी आएको मौकामा जिल्लाका विभिन्न संघ संस्थाले सम्मान गरेका छन् ।
खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमै नेपालको नाम उचो बनाउन सफल भएको भन्दै जिल्ला खेलकुद विकास समिति, रामग्राम जेसिज लगायत एक दर्जन संघ संस्थाले सम्मान गरेका हुन् । कप्तान पौडेलले यो पटक नेपाली क्रिकेट ईतिहासमा महत्वपूर्ण जित निकाल्न सफल भएको बताउँदै अझै लामो यात्रा बाँकी रहेको बताए । पौडेलले यो जित सबै नेपालीको जित भएको उल्लेख गरे ।
सम्मान कार्यक्रममा बोल्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रितमान कामु, नेपाल पत्रकार महाससंघ नवलपरासीका अध्यक्ष हरि शर्मा र रामग्राम जेसिजका अध्यक्ष वेनिमाधव बस्यालले कप्तान पौडेलको नेतृत्वमा नेपाली क्रिकेट टोलीले महत्वपूर्ण उपलब्धि हासिल गर्न सफल भएकोमा बधाई ज्ञापन गरेका थिए । नेपाली क्रिकेट टोली हालै सम्पन्न विश्वकप क्रिकेट लिग २ त्रिकोणात्मक सिरीजमा विजेता बन्दै विश्वकप क्वालिफायरमा छनोट भएकाले सरकारी तथा गैरसरकारी निकायबाट हौसला स्वरुप सम्मान गरिदै आएको छ ।