© 2026
बुटवल, २ चैत ।
नेपाल कराँते महासंघको प्रथम लुम्बिनी प्रदेश भेला तथा अधिवेशनबाट पदम बहादुर बस्नेतको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएका छन् । युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय खेलकुद परिषद अन्तर्गत प्रदेश संरचना गठन गरी खेल गतिविधिलाई अघि बढाउने उद्देश्यका साथ बुटवलमा सम्पन्न भेलाबाट उपाध्यक्षमा रमेश कुमार डाँगी, उपाध्यक्ष गोपी प्रसाद पुन, महासचिव बासु बश्याल, सचिव रामु सुनार, कोषाध्यक्ष रिना राना, सदस्यहरुमा धन बहादुर पुन, प्रकाश पुन, मनिराम चक्रवर्ती, स्वदेश बुढामगर, कृति बहादुर शाही, लोकेन्द्र घम, सबिना आचार्य चयन भएका हुन् । महासंघको संरक्षक भरत बहादुर केसी छन् ।
कार्यक्रममा प्रदेश खेलकुद विकास परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराईले खेल विकासमा सबै विधामा मिलेर अग्रसरता लिनुपर्ने बताए । दशौ राष्ट्रिय प्रतियोगिता र राष्ट्रपति रनिङशिल्डमा समेत उत्कृष्ट नतिजा ल्याउने गरि योजना बढाउन सबै खेल संघसंस्थाहरु लाग्नुपर्ने उनले बताए ।

कार्यक्रममा नवनिर्वाचित महासंघका अध्यक्ष पदम बहादुर थापाले प्रदेशमा मार्शल आर्टको गरिमा बढाउने गरि लाग्ने बताए । यसैगरी महासचिव बासु बश्यालले वार्षिक क्यालेन्डर बनाएर प्रदेशका जिल्ला जिल्लामा खेल गतिविधिमा जोेड दिने बताए । जुनियर लेभलको खेलाडी उत्पादनमा प्राथमिकता दिएर काम गर्ने उनले बताए ।
कार्यक्रममा राष्ट्रिय कर्मचारी संगठनका सचिव मिनराज पोखरेलले सबैभन्दा धेरै एनएस गरेका कोचहरु करातेका रहेको बताए । विश्वमा नै शान्तिको नारा बोकेको खेल मार्शल आर्ट भएको उनले बताए । वि.सं. २०३९ सालअघि सम्म कराते खेल्न प्रतिवन्ध थियो । त्यो अवस्थामा अराष्ट्रिय तत्वले खेल्ने खेल मानिन्थ्यो । थानेश्वर राई, दावा गुरुङको अगुवाईमा तत्कालिन सरकारसंग समन्वय गरि खेल विकास गरेको उनले बताए । नेपालमा डेढ लाख करातेका प्रशिक्षक र खेलाडीहरु रहेका छन् ।
लुम्बिनीमा राष्ट्रिय अन्तर्राष्ट्रिय र विश्व कप समेत आयोजना गर्न सकिने सम्भावना रहेको भन्दै नया नेतृत्व यसमा जोड दिनुपर्ने बताए । कार्यक्रममा नेपाल कराते महासंघका केन्द्रीय सदस्य मजेन्द्र सिह, नेपाल कराते महासंघका सदस्य अमिर राई, लुम्बिनी प्रदेश रेफ्रि संघका ऋषिराम पौडेल, जापान गजुरियो महासंघका केबि रानाले संस्थागत रुपमा खेल विकासमा जोड दिनुपर्ने बताए । भेलामा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट ४–४ जना खेलाडी, प्रशिक्षक सहभागी थिए ।