© २०२३
बुटवल, २९ फागुन ।
बुटवलमा जारी १३ औ जिल्ला स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०७९ मा बुटवल उपमहानगरपालिका ११ स्वर्ण, ९ रजत र ३ कास्य जित्दै सोमबारसम्म भएको खेलमा अगाडी छ । यता तिलोत्तमा नगरपालिका पनि ११ स्वर्ण, ३ रजत र ३ कास्य पदक सहित बुटवललाई पछयाईरहेको छ ।
प्रतियोगिताको बुटवलले मार्शल आर्टमा कब्जा जमाउँदा तिलोत्तमा भने एथ्लेटिक्सतर्फ अगाडी भयो । रुपन्देही जिल्ला खेलकुद विकास समितिको आयोजनामा सिद्धेश्वर खेलमैदानमा सोमबार भएको एथलेटिक्सतर्फको खेलमा तिलोत्तमाले ११ स्वर्ण, ३ रजत ३ कास्य, बुटवलले १ स्वर्ण, ९ रजत, ३ कास्य, सिद्धार्थनगर ३ स्वर्ण, १ रजत, ३ कास्य, गैडहवा २ स्वर्ण १ रजत २ काश्य, सैनामैना १ स्वर्ण २ रजत १ काश्य, कंचन १ रजत २ काश्य, सियारी १ रजत र शुद्धोधन ३ काश्य जितेको छ ।
यसअघि भएको मार्शल आर्टमा बुटवल उपमहानगरपालिकाले तेक्वान्दोमा ४ र कराँतेमा ६ स्वर्ण जितेको थियो । तिलोत्तमाले कराँतेमा एक स्वर्ण, सिद्धार्थनगरले तेक्वान्दोमा १ स्वर्ण, सैनामैनाले तेक्वान्दोमा एक स्वर्ण र देवदहले कराँतेमा एक स्वर्ण आफ्नो नाममा गराएको छ ।
प्रतियोगिता ५ ईभेन्टमा संचालन भएको छ । तेक्वान्दो ६, कराँते ८, छात्रछात्रा भलिबल÷ कबड्डी ४ र एथलेटिक्समा २४ गरी कुल ४२ स्वर्णको प्रतिस्पर्धा भएको छ । प्रतियोगितामा प्रत्येक पालिकाबाट ८० जना खेलाडी, प्रशिक्षक गरी १ हजार जना सहभागी छन् ।
मंगलबार ४ बाई एक सय रिले, आठ सय मिटर दौड, छात्र÷छात्रा कबडीको फाईनल
र ज्यावलिङ थ्रो खेल हुने संघका अध्यक्ष भुपेन्द्र क्षेत्री (हरि) ले बताए ।
छात्र÷छात्रा भलिबल फाईनलमा बुटवल र तिलोत्तमा भिड्ने
प्रतियोगिता अन्तर्गत छात्र÷छात्रा भलिबलको फाईनल खेल मंगलबार हुने भएको छ । फाईनलमा बुटवल र तिलोत्तमा भिड्ने भएका छन् । सिद्धेश्वरी खेलमैदानमा भएको छात्रतर्फको पहिलो सेमीफाईनलमा तिलोत्तमाले शुद्धोधनलाई २५–१६, २५–१७ तथा दोस्रो खेलमा बुटवलले सिद्धार्थनगरलाई २५–१७, २५–१४ सेटले जित्दै फाईनल भिडन्त पक्का गरेका छन् । छात्रातर्फ पहिलो सेमीफाईनल खेलमा बुटवलले सैनामैनालाई २५–९, २५–५ तथा दोस्रो सेमीफाईनलमा तिलोत्तमाले कंचनलाई २५–९, २५–१० सेटले पराजित गर्दै फाईनल भिडन्त पक्का गरेका छन् ।