© २०२३
काठमाडौं ओपनर आसिफ शेखको शतक र सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा नेपालले आइसिसी विश्वकप लिग(२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीलाई ५२ रनले हराएको छ । यो जितसँगै शीर्ष तीनमा रहदै सोझै विश्वकप छनोट खेल्ने नेपालको सम्भावना कायमै रहेको छ ।
सोझै ओडिआई मान्यता निरन्तरता गर्ने सम्भावना मजबुत बनाएको छ । जितको लागि २ सय ९८ रनको विशाल विजयी लक्ष्य पछ्याएको पिएनजी ४७।१ ओभरमा २ सय ५४ रनमा अल आउट भयो । पिएनजीका नर्मन भानुवा ५५ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ६० रनमा रन आउट भए । दुई रन लिने धुनमा अन्तिम विकेटको रुपमा रन आउट भएका थिए।
पपुवा न्युगिनीले नेपालविरुद्ध उत्कृष्ट सुरुवात गरेको थियो । पहिलो विकेटका लागि ओपनर टोनी उरा र किप्लिङ डोरिगाले ११।२ ओभरमा ७७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । डोरिगा सिंगल रन लिनेक्रममा दीपेन्द्रको थ्रोमा विकेटकिपर आसिफ शेखबाट रन आउट भए । त्यसपछि भने नेपालले खेलमा सानदार पूनरागमन गरेको थियो ।
ओपनर किप्लिङ डोरिगा ३४ बलमा ३ चौका र १ छक्कासहित २६ रनमा रन आउट भए । ओपनर टोनी ४४ बलमा ९ चौकासहित ५० रनमा क्याच आउट भए । उरा स्पिनर सन्दीप लामिछानेको १५ औं ओभरको तेस्रो बलमा आरिफ शेखबाट क्याच आउट भएका थिए ।
दीपेन्द्रसिंह ऐरीको १४ औं ओभरको तेस्रो बलमा सेसे बाउ ३ रनमा सोमपाल कामीबाट स्क्वायर लेगमा क्याच आउट भए । दीपेन्द्रले चाल्र्स अमिनीलाई १४ बलमा बोल्ड आउट गरे । सन्दीपले ३३ औं ओभरको दोस्रो बलमा हिरि हिरिलाई ८ रनमा बोल्ड आउट गरे ।
लगत्तै अर्को बलमा चाद सोफर फस्ट स्लिपमा आरिफ शेखबाट क्याच आउट भएपछि सन्दीप ह्याट्रिक नजिक पुगेका थिए । ह्याट्रिक बलमा नर्मन भानुवालाई आउट गर्न भने सकेनन् । कुशल मल्लले कप्तान असद भालालाई ४२ रनमा आरिफ शेखबाट क्याच आउट गराए । उनले ५३ बलमा २ चौका र २ छक्का प्रहार गरे ।
सन्दीपको बलमा ठूलो सट खेल्न अघि बढेका राइली हेकुरे २० रनमा स्टम्पिङ आउट भए । नेपालका स्पिनर सन्दीप लामिछानेले १० ओभरमा १ मेडनसहित ३७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ९।१ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए ।कुशल मल्लले १० ओभरमा ६० रन खर्चेर १ विकेट लिए
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४९।१ ओभरमा २ सय ९७ रनमा अल आउट भएको थियो । नेपालले यो आफ्नो ओडिआई इतिहासमा बनाएको सर्वाधिक उच्च योगफल थियो ।
नेपालको ओडिआईमा उच्च योगफल यसअघि २ सय ८७ रन थियो । नामिबियाविरुद्ध दुई साताअघि नेपालले २ सय ८६ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा २ सय ८७ रन बनाएको थियो ।
नेपालले ओडिआईमा यसअघि पहिला ब्याटिङ गर्दा टियु मैदानमै गतवर्ष पपुवा न्युगिनीविरुद्ध दोस्रो ओडिआई खेलमा २ सय ७८ रन बनाएको थियो । नेपालको जितमा ओपनर आसिफ शेखले १ सय १० बलमा १२ चौका र २ छक्कासहित १ सय १० रनको सानदार शतकीय इनिङ खेलेका थिए ।
आसिफको यो अन्तर्राष्ट्रिय क्रिकेट करिअरको पहिलो शतक थियो । आसिफले १ सय १ बलमा १० चौका र २ छक्कासहित शतक पूरा गरेका थिए ।
आसिफ नेपालबाट पारस खड्का, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलपछि ओडिआईमा शतक हान्ने नेपालका पाँचौं खेलाडी हुन् । कुशलपछि दोस्रो नेपाली ओपनर हुन् । आसिफ ३८ औं ओभरको चौथो बलमा सेमो कमियाको बलमा मिडअफबाट राइली हेकुरेबाट क्याच आउट भए । शतक बनाउनु अघि आसिफले दुई महत्वपूर्ण जीवनदान पाएका थिए ।
तेस्रो ओभरको चौथो बलमै आसिफले ब्यक्तिगत पाँच रनमा जीवनदान पाएका थिए । चोभार एण्डबाट आएका तीव्र गतिका बलर सेमो कमियाको बलमा एज लागेपनि फस्ट स्लिपमा सेसे बाउले क्याच ड्रप गर्न पुगेपछि आसिफले सुरुवातमै जीवनदान पाएका थिए ।
आसिफले नवौं ओभरको पाँचौं बलमा पुनः ब्यक्तिगत २२ रनमा जीवनदान पाए । पपुवा न्युगिनीका फिल्डरले पुन क्याच छाड्न पुगेका थिए । त्यस्तै आसिफले ओडिआई करिअरको एक हजार रन पनि पूरा गरेका छन् । उनी रोहितपछि ओडिआईमा एक हजार रन पूरा गर्ने दोस्रो खेलाडी हुन् ।
ओपनर कुशल भुर्तेल ५६ बलमा ६ चौकासहित ४५ रनमा क्याच आउट भए । पहिलो विकेटका लागि आसिफ शेख र कुशल भुर्तेलले १८।४ ओभरमा १ सय १० रनको शतकीय साझेदारीका साथ सानदार सुरुवात दिलाएका थिए । हेकुरेकै बलमा ठूलो सट खेलेका कुशल मल्ल दुई रनमा क्याच आउट भए । ज्ञानेन्द्र मल्ल पनि हेकुरेको बलमा असद भालाबाट ११ रनमा क्याच आउट भए ।
चौथो विकेटका लागि रोहित पौडेल र आसिफ शेखले ६७ रनको साझेदारी गरेका थिए । रोहित ठूलो सट खेल्ने धुनमा ३९ बलमा २ चौका र १ छक्कासहित ३० रनमा क्याच आउट भए । दीपेन्द्रसिंह ऐरी ७ रनमा रन आउट भए । सन्दीप लामिछाने ७ रनमा आउट भए । आरिफ शेख १५ रनमा आउट भए । भीम सार्की ३८ बलमा ४ चौकासहित ४४ रनमा आउट भए ।
पपुवा न्युगिनीका तीव्र गतिका बलर सेमो कमियाले ९।१ ओभरमा ३८ रन खर्चेर ५ विकेट लिएपनि टोलीको हार भने टार्न सकेनन् । राइली हेकुरेले १० ओभरमा ५० रन खर्चेर ३ विकेट लिए ।नेपालले अव आइतबार युएई, सोमपाल पपुवा न्युगिनी र बिहीबार युएईसँग खेल्नेछ ।