© २०२३
बुटवल, २४ फागुन ।
रुपन्देहीकै पुरानो मध्येको एक सयपत्री युवा क्लबको आयोजनामा सेभेन ए साईड कप नकआउट फुटबल प्रतियोगिता २०७९ शुरु भएको छ । रामनगर खेलमैदानमा भएको पहिलो दिनको उद्घाटन खेलमा एमएफसी बुटवल र बुटवल एफसी विजयी भएका छन् । उदघाटन खेलमा सयपत्री युवा क्लब पहेलोलाई ट्राईबेकरमा पराजित गर्दै बुटवल फुटबल क्लब दोस्रो चरणमा प्रवेश गरेको छ । सयपत्रीका रोहन रानाले खेलको २२ औ मिनेटमा गोल गर्दै खेलमा अग्रता दिलाएका थिए तर बुटवलका विवेक सिजालीले ३५ औ मिनेटमा बराबरी गोल गरे । निर्धारित समयमा १–१ गोलको बराबरी भए पनि ट्राईबेकरमा खेलको निर्णय गरिएको थियो ।
यसैगरी दोस्रो खेलमा एमएफसी बुटवलले श्रम बुटवललाई ३–० गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो । खेलको २३ औ मिनेटमा एमएफसीका क्याप्टेन भुवन गाहाले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए । खेलको २६ औ मिनेटमा सुरज मल्लले दोस्रो गोल मार्फत अग्रता दोब्बर गरे । खेलको ३५ औ मिनेटमा रिजन मल्लले तेस्रो तथा विजयी गोल गरे । चैत १ गतेसम्म चल्ने प्रतियोगितामा रुपन्देहीका २८ टिमले प्रतिस्पर्धा गरेका छन् ।
एक कार्यक्रमका बीच बुटवल उपमहानगरपालिका वडा नं. १० का वडाअध्यक्ष बल बहादुर पुन (बलु) ले रेफ्रिलाई बल हस्तान्तरण गरी उदघाटन गर्दै खेलकुदमार्फत युवालाई जोड्ने आधार भएको बताए । वडास्तरमा खेल विकास र ब्यावसायिक खेलाडी उत्पादन गर्ने लक्ष्यसहित बजेट विनियोजन गरिएको उनले बताए । विभिन्न प्रतियोगितामा भाग लिएर पदक जित्ने खेलाडीहरुलाई सम्मान कार्यक्रम गरिएको बताए । यसैगरी खेलसंगै वडामा दर्ता भएका क्लबका नेतृत्व तहमा रहेका युवाहरुलाई क्षमता विकासमा कार्यक्रम दिने उनले बताए ।
कार्यक्रममा क्लबका अध्यक्ष विशाल काउचा, संस्थापक अध्यक्ष तथा सल्लाहकार टहल बहादुर क्षेत्री, सल्लाहकार नन्दु काउचा, झपट बहादुर गुरुङ, नगरपालिका सदस्य यमुना काउचाले खेल विकासमा स्थानीय सरकारको सहयोग जरुरी रहेको बताए ।
प्रतियोगिताको उपाधि विजेता टिमले नगद ५० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद २५ हजार रुपैयाँ सहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने संयोजक सन्तोष गुरुङले बताए । यसैगरी विधागत उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिने उनले बताए ।