© २०२३
भैरहवा, २३ फागुन ।
रुपन्देहीको रोहिणी गाउँपालिकाको आयोजनामाभएको रोहिणी गाउँपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि युनिक होम्स इङलिस बोर्डिङ हाई स्कूल, धकधईले जितेको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ आयोजित प्रतियोगिताको उपाधि युनिक होम्सले जितेको हो ।
रोहिणी–३ स्वामीनगर, धकधईस्थित राम नरेश यादव, आदर्श नमूना माध्यमिक विद्यालयको खेलमैदानमा फागुन १९ देखि २१ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा विभिन्न खेलमा ९ स्वर्ण, ४ रजत र ५ काश्य गरी कुल १८ पदक प्राप्त गर्दै युनिक होम्सले रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि जितेको रुपन्देही जिल्ला खेलकुद विकास समितिका सदस्य तथा प्रमुख प्रशिक्षक कृष्ण शाक्यले बताए ।
उनका अनुसार छिपागढ माध्यमिक विद्यालयले ६ स्वर्ण, ३ रजत र १ काश्य गरी कुल १० पदक प्राप्त गरी द्वितीय भएको छ । त्यस्तै पजरकट्टी माध्यमिक विद्यालय ४ स्वर्ण, १ रजत र २ काश्य गरी कुल ७ पदक प्राप्त गरी तृतीय भएको छ ।
त्यसै गरी अध्यक्ष कप भलिबल प्रतियोगितामा जनचेतना आधारभूत विद्यालय प्रथम र पजरकट्टी माध्यमिक विद्यालय द्वितीय भएको रोहिणी गाउँपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समिति सदस्य तथा गाउँपालिकाका शिक्षाअधिकृत मधु प्रसाद घिमिरेले बताए ।
त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी युनिक होम्स इङलिस बोर्डिङ हाई स्कूलका देवनारायण घर्ती घोषित भएका छन् ।
समापन समारोहमा प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका विद्यालयलाई रोहिणी गाउँपालिकाका अध्यक्ष एवं प्रतियोगिताका व्यवस्थापन तथा निर्देशन समितिका संयोजक विद्या प्रसाद यादवले शिल्ड (पुरस्कार) प्रदान गरेका थिए ।
समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष यादवले गाउँपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकता दिएको बताए । उनले आगामी दिनमा प्रतियोगितालाई अझ व्यवस्थित रुपमा सञ्चालन गर्ने बताए ।
प्रतियोगिता अन्तर्गत भलिबल, एथलेटिक्स, कराँते लगायतका खेलकुद भएको थियो । प्रतियोगिताको समापन समारोहमाश्री रामनरेश यादवआदर्श नमूना माविका प्रधानाध्यापक एवं प्रतियोगिताका व्यवस्थापन तथा निर्देशन समितिका सदस्य सचिव राम सुरेश वर्मा, प्रशिक्षक, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, खेलाडी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रतियोगिताका प्रशिक्षकहरुलाई सम्मान–पत्र प्रदान गरिएको थियो ।