© २०२३
बुटवल, १३ फागुन ।
राष्ट्रपति छनौट नगरस्तरीय छनौट फुटबल प्रतियोगितामा तोकिएको मापदण्ड भन्दा बढी उमेरका र बाहिरी विद्यालयका खेलाडी खेलाएको दुई विद्यालय कारवाहीमा परेका छन् ।
कालिका मानव ज्ञान मावि र समिट बोर्डिङ स्कुललाई कारवाही गरिएको जिल्ला खेलकुद विकास समिति रुपन्देहीका अध्यक्ष भुपेन्द्र बहादुर क्षेत्री (हरि) ले बताए । ‘प्रतियोगितामा १८ वर्ष ननाघेको (२०६१ साल फागुन १० गते) भित्र जन्म मिति भएका विद्यार्थीहरु मात्र खेल्न पाउने प्रावधान रहेको छ ।’–उनले भने । सिद्धेश्वर खेलमैदानमा भएको खेलमा कालिका मानव ज्ञानका खेलाडीहरु २०६० साल जन्म मिति रहेका ३ जना विद्यार्थीहरु समावेश गरेको उजुरी परेपछि छानबिनको क्रममा प्रमाणित भएपछि कारवाही गरिएको उनले बताए । फागुन १० गते भएको कालिका मावि र स्कलर्स होम बोर्डिङ स्कुल बीचको खेलमा कालिकाले ३ जना खेलाडी उमेर हकभन्दा बढी उमेर नाघेका खेलाएका थिए ।
यता दीप बोर्डिङ स्कुलसंँगको खेलमा समित बोर्डिङ स्कुलले गोलकिपर बाहिरी विद्यालयका खेलाडी राखेर खेलाएपछि बिबाद उत्पन्न भएको थियो । गोलकिपर सन्देश खनाल समितमा पढेको प्रमाण नभेटिएको उनले बताए । यता फुटबल प्रतियोगिताको उपाधिका लागि फाईनलमा अक्सफोर्ड इगलिस बोर्डिङ स्कुल र त्रिभुवन इङलिश बोर्डिङ स्कुल बीच खेल हुने छ ।