© २०२३
काठमाडौँ —
आकाश त्रिपाठी र विशालविक्रम केसीले अर्धशतक बनाएपछि नेपालले आईसीसी यू–१९ एसिया विश्वकप छनोटमा सिंगापुरलाई २ सय ६२ रनको लक्ष्य दिएको छ ।
यूएईको अजमानमा शुक्रबार सुरु प्रतियोगितामा नेपालले टस जितेर ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विकेट गुमाई २ सय ६१ रन बनाएको हो ।
आकाशले इडेन गार्डेन ओभल मैदानमा १ सय बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरि ७८ रन बनाए । उनी ३४ औं ओभरमा आउट भएका थिए, जति खेर नेपालको स्कोर १ सय ४५ रन थियो । दीपक बोहरा ‘ए’ ५ रनमा आउट भएपछि आकाशले अर्जुन कुमालस“ग दोस्रो विकेटमा ९३ रनको साझेदारी गरे । अर्जुनले ६७ बल खेल्दै ३ चौकासहित ३७ रन बनाए ।
कप्तान देव खनालले २१ रन बनाए । उनले २६ बल खेली १ चौका प्रहार गरे । दीपक बोहरा ‘बी’ १५ बल खेली दुई चौका प्रहार गर्दै १७ रनमा आउट भए । दीपक डुम्रे १० ररनमा आउट भए भने मिलन बोहराले ४ रनमात्र बनाउन सके । मध्यक्रमलाई सम्हालेर खेलेका विशालले अविजित ६३ रन बनाए । उनले ६४ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरे । सुवास भण्डारी १ चौका प्रहार गरी ८ बलमा १२ रन बनाई अविजित रहे । सिंगापुरका अर्याविर चौधरी र अभुदय छाजरले २–२ विकेट लिए ।