© 2026
बुटवल ।
चांगानको नयाँ विद्युतीय गाडी नेभो क्यू०५ आगामी साता बुटवलमा सार्वजनिक हुने भएको छ । एमएडब्लू वृद्धि अटोकोर्प प्रालिअन्तर्गत बुटवल क्षेत्रका लागि चांगानको आधिकारिक बिक्रेता जेनोस मोटर्स प्रालिले नयाँ विद्युतीय खेलकुद उपयोगिता गाडी (एसयूभी) सार्वजनिक गर्न लागेको हो । गाडीको औपचारिक सार्वजनिक कार्यक्रमअघि ग्राहकलाई यसको विशेषता र क्षमताबारे जानकारी गराउन मंसिर १६ देखि १८ गतेसम्म बुटवलस्थित जेनोस मोटर्सको प्रदर्शनी कक्षमा परीक्षण यात्राको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । नेभो क्यू०५ को अल्ट्रा संस्करणको मूल्य ५१ लाख ९९ हजार रूपैयाँ निर्धारण गरिएको छ ।
कम्पनीका अनुसार यसमा ५१.९ किलोवाट आवर क्षमताको सीएटीएल लिथियम आइरन फस्फेट ब्याट्री र १२० किलोवाट क्षमताको विद्युतीय मोटर जडान गरिएको छ । यसले एकपटक पूर्ण चार्ज गर्दा एनईडीसी परीक्षण विधिअनुसार ४६२ किलोमिटरसम्म यात्रा गर्न सक्छ । गाडीमा चांगानको गोल्डेन सिल्ड २.० ब्याट्री प्रविधि प्रयोग गरिएको छ । यसलाई तीव्र गतिको चार्जरबाट १५ मिनेटमा ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीको दाबी छ । यसमा अधिकतम १६२ किलोवाट क्षमताको डीसी चार्जिङ सुविधा उपलब्ध छ ।
गाडीले प्रति १०० किलोमिटर यात्रामा १२.९ किलोवाट आवर विद्युत् खपत गर्ने जनाइएको छ । सहरी आवागमन र पारिवारिक यात्रालाई लक्षित गरी तयार गरिएको नेभो क्यू०५ मा फराकिलो भित्री बनावट र यात्रुको सुविधालाई प्राथमिकता दिइएको छ । यसको दुई पाङ्ग्राबीचको दूरी २ हजार ७३५ मिलिमिटर छ । पछाडिका सिटलाई आवश्यकताअनुसार ढल्काउन मिल्ने सुविधा छ भने ५४० लिटर क्षमताको सामान राख्ने ठाउँ उपलब्ध छ ।
गाडीको बाहिरी बनावटलाई वायुगतिकीय स्वरूप दिइएको छ । विशिष्ट प्रकाश व्यवस्था र फराकिलो बनावटका कारण यसले आकर्षक रूप प्रदान गर्ने कम्पनीको भनाइ छ ।
चांगानको विश्वव्यापी डिजाइन समूहले तयार पारेको यस गाडीको डिजाइनले अन्तर्राष्ट्रिय गोल्डेन ए डिजाइन पुरस्कारसमेत प्राप्त गरेको छ ।यसको डिजाइन समूहको नेतृत्व फक्सवागन समूहका पूर्व डिजाइन प्रमुख क्लाउस जिसियोराले गरेका हुन् । चीनमा समेत लोकप्रिय बनेको नेभो क्यू०५ को बिक्री सन् २०२६ नोभेम्बरको अन्त्यसम्ममा दुई लाखभन्दा बढी पुगेको कम्पनीले जनाएको छ । लगातार चार महिनासम्म चीनको कम्प्याक्ट एसयूभी बजारमा बिक्रीका आधारमा अग्रस्थानमा रहेको कम्पनीको दाबी छ । चांगानको न्यू इनर्जी सवारीसाधन समूहअन्तर्गत नेभो विद्युतीय गाडीको प्रमुख ब्रान्ड हो । नेपालमा दिपल ब्रान्डका विद्युतीय गाडी बिक्री गर्दै आएको चांगानले नेभो क्यू०५ मार्फत विद्युतीय एसयूभी बजारमा आफ्नो उपस्थिति थप विस्तार गर्न खोजेको छ । सन् २०२४ मा स्थापित जेनोस मोटर्सले बुटवल क्षेत्रमा चांगानका दिपल तथा नेभो ब्रान्डका गाडी बिक्री गर्दै आएको छ । दिपल एस०७ बाट कारोबार सुरु गरेको कम्पनीले ई०७, एल०७ र एस०५ मोडलसमेत बिक्री गर्दै आएको छ । ग्राहकलाई बिक्रीपछिको सेवा र सुविधामा प्राथमिकता दिँदै आएको कम्पनीले जनाएको छ ।
चीनको प्रमुख सवारीसाधन उत्पादक कम्पनी चांगानको विश्वका एक सयभन्दा बढी देशमा उपस्थिति रहेको छ । कम्पनीसँग १६० वर्षभन्दा लामो औद्योगिक इतिहास र १८ हजारभन्दा बढी इन्जिनियरको टोली रहेको जनाइएको छ ।