© 2026
बुटवल ।
बुटवलको एकता बचत तथा ऋण सहकारी संस्थाले ऋण लगानीलाई सुरक्षित, व्यवस्थित र उत्पादनमुखी बनाउन नयाँ नीति ल्याएको छ। संस्थाले ऋण प्रवाह गर्नुअघि सदस्यलाई काउन्सिलिङ तथा ऋण शिक्षाको व्यवस्था गर्ने, ऋणीको अवस्था र लगानीको नियमित अनुगमन गर्ने तथा ऋण बिमा कार्यक्रम लागू गर्ने नीति ल्याएको हो।
संस्थाको शनिबार बुटवलमा सम्पन्न २९औँ वार्षिक साधारणसभामा अध्यक्ष बाबुराम श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै ऋण लगानीलाई गुणस्तरीय बनाउन, सदस्यको आर्थिक अवस्था सुधार गर्न र लगानीको सुरक्षा सुनिश्चित गर्न नयाँ योजना ल्याइएको बताए। उक्त प्रस्ताव साधारणसभाले पारित गरेको छ।
नयाँ नीतिअनुसार ऋण दिनुअघि ऋणीको आम्दानीको स्रोत, ऋण तिर्न सक्ने क्षमता, ऋणको प्रयोजन, धितोको पर्याप्तता र सम्भावित जोखिमको विश्लेषण गरेर मात्र कर्जा प्रवाह गरिनेछ।
व्यावसायिक रूपमा ऋण लिएर उद्यम गर्न चाहने सदस्यलाई प्राथमिकता दिने तथा ऋणको सदुपयोग भए–नभएको नियमित अनुगमन गर्ने संस्थाको योजना छ। सदस्यको मृत्युपछि ऋणको भार आश्रित परिवारमा नपरोस् भन्ने उद्देश्यले यसै वर्षदेखि स्वेच्छिक ऋण बिमा कार्यक्रमसमेत लागू गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए।
सहकारीमा पर्याप्त तरलता रहेकाले सदस्यता विस्तारसँगै लगानीका नयाँ क्षेत्र पहिचान गरी ऋण प्रवाह बढाउने नीति पनि संस्थाले लिएको छ। बचत र ऋणको ब्याजदरलाई प्रतिस्पर्धी बनाउन त्रैमासिक समीक्षा गर्ने तथा नियमित कारोबार गर्ने सदस्यलाई ब्याजमा सहुलियत दिन ुग्रीन कार्डु कार्यक्रम सञ्चालन गर्ने योजना रहेको अध्यक्ष श्रेष्ठले बताए।
रुपन्देहीको बुटवल उपमहानगरपालिका–६ मा रहेको सहकारीले ऋण असुलीलाई प्रभावकारी बनाउन टेलिफोन, घरदैलो र लिखित ताकेतासहितको अभियान सञ्चालन गरेको जनाएको छ। भाखा नाघेका ऋणीलाई कानुनी प्रक्रियामा लैजाने तथा आवश्यकताअनुसार कर्जा सूचना केन्द्रको कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाउने नीतिसमेत साधारणसभाले पारित गरेको छ।
सहकारीले सदस्यको सामाजिक सुरक्षालाई समेत प्राथमिकता दिएको छ। सदस्यको दुर्घटना बिमा सुविधालाई दुई लाख रुपैयाँबाट बढाएर तीन लाख रुपैयाँ पुर्याइएको छ। सदस्यको मृत्यु तथा जटिल रोगमा सहयोग, सुत्केरी पोषण खर्च, ज्येष्ठ सदस्य सम्मान र शैक्षिक उपलब्धि हासिल गर्ने सदस्यका सन्तानलाई पुरस्कृत गर्ने कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ।
सदस्यको बचत सुरक्षा, उत्पादनमूलक क्षेत्रमा कर्जा लगानी र सामाजिक सुरक्षालाई संस्थागत विकासको मुख्य आधार बनाइएको अध्यक्ष श्रेष्ठले प्रतिवेदनमा उल्लेख गरेका छन्।
साधारणसभामा संस्थाकी कोषाध्यक्ष इन्दिराकुमारी ढकालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समिति संयोजक शोभाखर पाण्डेले प्रस्तुत गरेको लेखा प्रतिवेदन पारित भएको संस्थाका सचिव रमेश पाण्डेले जानकारी दिए।
कार्यक्रममा संस्थाकी निवर्तमान अध्यक्ष सावित्रा टण्डन, सल्लाहकार लोहोरि पाण्डे, उपाध्यक्ष सुधीर परमजुली, पूर्वअध्यक्ष राजकुमार श्रेष्ठ, परामर्शदाता नवराज श्रेष्ठ र यमलाल भुसाल तथा सेयर सदस्य दीपक रायमाझीलगायतले शुभकामना मन्तव्य राखेका थिए।
साधारणसभामा सेयर सदस्यका छोराछोरीमध्ये कक्षा १२ मा उत्कृष्ट अंक ल्याई उत्तीर्ण भएका दुई जना विद्यार्थी, ७० वर्ष उमेर नाघेका ज्येष्ठ सेयर सदस्य, असल बचतकर्ता, असल ऋणी, संस्थापक तथा पूर्वअध्यक्षलाई सम्मान गरिएको थियो। उनीहरूलाई संस्थाका अध्यक्ष बाबुराम श्रेष्ठ र निवर्तमान अध्यक्ष सावित्रा टण्डनले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए।
त्यसैगरी, संस्थाको रिक्त लेखा सुपरिवेक्षण समितिको सदस्यमा राजन भुसाललाई सर्वसम्मत चयन गरिएको छ। हाल संस्थामा एक हजार ३८७ जना सेयर सदस्य रहेका छन्।