© 2026
बुटवल ।
सदस्यको बचत हिनामिनाका घटनाले सहकारी क्षेत्रप्रति सर्वसाधारणको विश्वास कमजोर भइरहेका बेला सहकारीको सुशासन, पारदर्शिता र प्रभावकारी सञ्चालनका उपायबारे अन्तर्राष्ट्रियस्तरमा बहस हुने भएको छ । राष्ट्रिय सहकारी महासंघको आयोजनामा आगामी मंसिर २४ देखि २६ गतेसम्म गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय सहकारी शान्ति सम्मेलन हुन लागेको हो ।
सहकारी क्षेत्रका विद्यमान समस्या र चुनौतीको समाधान खोज्दै सहकारीलाई आर्थिक विकास, सामाजिक सद्भाव र विश्व शान्तिको माध्यमका रूपमा स्थापित गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको महासंघका कार्यवाहक अध्यक्ष रमेशप्रसाद पोखरेलले बताए ।
उनका अनुसार पछिल्लो समय केही सहकारी संस्थामा सदस्यको बचत रकम हिनामिना भएका घटनाले समग्र सहकारी अभियानमाथि नै प्रश्न उठाएको छ । यस्तो अवस्थामा सहकारी क्षेत्रलाई व्यवस्थित, पारदर्शी र विश्वासिलो बनाउन आवश्यक नीतिगत तथा व्यावहारिक उपायबारे सम्मेलनमा छलफल गरिनेछ ।
विदेशका सहकारी संस्थाले अपनाएका सफल अभ्यासको अध्ययन र अनुभव आदानप्रदान पनि सम्मेलनको महत्त्वपूर्ण पक्ष रहने पोखरेलले बताए । ती अभ्यासलाई नेपालको परिवेशअनुसार लागू गर्न सके सहकारीको सञ्चालन प्रणाली सुधार गर्न र सदस्यको विश्वास पुनःस्थापित गर्न सहयोग पुग्ने उनको भनाइ छ ।
सम्मेलनमा अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) एसिया प्यासिफिकका अध्यक्ष डा. चन्द्रपाल सिंह यादवसहित विभिन्न देशका सहकारी क्षेत्रका प्रतिनिधि सहभागी हुनेछन् । आयोजकका अनुसार हालसम्म धेरैले नाम दर्ता गराइसकेका छन् । सम्मेलनमा करिब ६५० जनाको सहभागिता रहने अनुमान गरिएको छ । देशभित्र र विदेशमा रहेका सहकारीकर्मीलाई सदस्य संघहरूमार्फत सहभागी हुन आग्रह गरिएको महासंघले जनाएको छ ।
सम्मेलनमा सहकारीको दीर्घकालीन सञ्चालन, आर्थिक स्रोत व्यवस्थापन, पुँजी परिचालन र नयाँ प्रविधिको प्रयोगबारे कार्यपत्र प्रस्तुत गरिनेछ । स्थानीय, प्रदेश र संघीय सरकारका प्रतिनिधि तथा सहकारी क्षेत्रका अगुवाबीच सहकारीका नीतिगत अन्योल र व्यावहारिक समस्याबारे पनि छलफल हुनेछ ।
सहकारीलाई बचत तथा ऋणको कारोबारमा मात्र सीमित नराखी उत्पादन, प्रशोधन, बजारीकरण, कृषि, वित्तीय सेवा र व्यवसायमा पुँजी परिचालन गर्ने विषयलाई समेत प्राथमिकताका साथ उठाइनेछ । यसबाट सहकारीमार्फत रोजगारी सिर्जना, उत्पादन वृद्धि र आर्थिक विकासमा योगदान पु¥याउने सम्भावनाबारे बहस हुने आयोजकको अपेक्षा छ ।
सम्मेलनमा शान्ति स्थापनामा सहकारीको भूमिका, आर्थिक समानता, युवा तथा महिला नेतृत्व, जलवायु परिवर्तन, वातावरण संरक्षण, दिगो विकास, डिजिटल प्रविधि र अन्तर्राष्ट्रिय सहकारिताका विषय पनि समेटिनेछन् । विज्ञान तथा प्रविधिमा उल्लेख्य प्रगति भए पनि विश्वमा गरिबी, असमानता, द्वन्द्व र वातावरणीय समस्या कायमै रहेकाले सहकारीमार्फत समान अवसर र आर्थिक पहुँच विस्तार गर्नुपर्नेमा सम्मेलनले जोड दिनेछ ।
बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थालाई व्यवस्थित र जवाफदेही बनाउन प्रस्तावित सहकारी प्राधिकरणसम्बन्धी कानुनलाई प्रभावकारी बनाउने विषय पनि छलफलमा समेटिने महासंघले जनाएको छ ।
सम्मेलनबाट सहकारीमार्फत शान्ति स्थापनाका लागि लुम्बिनी घोषणापत्र जारी गर्ने तयारी गरिएको छ । छलफलका निष्कर्ष समेटेर प्रतिवेदन तयार गरी सरकार तथा अन्तर्राष्ट्रिय सहकारी संस्थालाई आवश्यक सुझाव दिने योजना पनि छ ।
त्यसैगरी विभिन्न देशका सहकारी संस्थाबीच सम्बन्ध विस्तार, युवा सहकार्य सञ्जाल निर्माण र विश्व सहकारी शान्ति मञ्च स्थापनाका लागि पहल गरिनेछ । जलवायु परिवर्तन, प्रविधि र सहकारी सञ्चालनका सफल अभ्यासबारे अनुभव आदानप्रदान गर्नुका साथै विभिन्न देशबीच संयुक्त परियोजना सञ्चालनका सम्भावना खोजिने आयोजकको भनाइ छ ।
लुम्बिनीमा आयोजना हुने सम्मेलनले नेपालको सहकारी अभियानलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउनुका साथै सहकारीको पुँजी उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न र विदेशी सहकारी संस्थासँग सहकार्य विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।