Butwal Today

लैङ्गिक तथा यौनिक अल्पसंख्यकका बेग्लाबेग्लै पीडा: अदालतले चिन्यो, राज्यले चिनेन

अदालतबाट मुद्दा जित्दा पनि नागरिकता नपाएकी रुबिना बैंकिङ सेवा लिनदेखि परीक्षा दिनेसम्म अप्ठ्यारोमा छिन् । एन्जल राज्यसँग आफ्नो समुदायको अस्तित्वको तथ्याङ्क खोजिरहेकी छन् भने रेशम परिवार र समाजबाट बहिष्कृतहरूका लागि सम्मानपूर्वक बाँच्ने वातावरण चाहन्छन् ।
१२ मंसिर २०८३, शनिबार
अ
अ+
अ-

भैरहवा ।
अदालतबाट आफ्नो पक्षमा फैसला आइसकेको छ । तर, हातमा हुनुपर्ने नागरिकता अझै छैन । आफूले रोजेको पहिचानअनुसार नागरिकता पाउन रुबिना तामाङले वर्षौंदेखि सरकारी कार्यालय धाइरहेकी छन् । अदालतको ढोका ढकढक्याएर मुद्दा जिते पनि प्रशासनिक प्रक्रियाले उनको संघर्ष टुङ्गिएको छैन ।
नागरिकता नहुँदा बैंक खाता खोल्नेदेखि डिजिटल भुक्तानी सेवा प्रयोग गर्न, कोठा भाडामा बस्नेदेखि परीक्षा दिनेसम्म समस्या भोग्नुपरेको छ । कागजात र वास्तविक पहिचान नमिल्दा पढाइका क्रममा समेत अपमानजनक व्यवहार सहनुपरेको उनको अनुभव छ ।
“अदालतबाट मेरै पक्षमा फैसला भएको एक वर्ष हुन लाग्यो । तर, अझै नागरिकता पाउन सकेकी छैन । नागरिकता नहुँदा दैनिक जीवनका सामान्य काम गर्न पनि कति गाह्रो हुँदो रहेछ भन्ने मैले भोगिरहेकी छु,” रुबिना भन्छिन् ।
उनको समस्या एउटा कागजात प्राप्त गर्न नसकेको मात्र होइन, आफू को हुँ भनेर राज्यलाई बारम्बार प्रमाणित गर्नुपर्ने बाध्यता हो । अदालतले स्वीकार गरेको पहिचान प्रशासनिक प्रक्रियामा किन स्वीकार्य हुन सकेन भन्ने प्रश्न पनि हो ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहँदा रुबिनाको अनुभवले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले भोगिरहेका समस्या उजागर गर्छ । उनीजस्तै एन्जल लामा राज्यको तथ्याङ्कमा आफ्नो समुदायको अस्तित्व खोजिरहेकी छन् भने रेशम न्यौपाने परिवार र समाजबाट बहिष्कृत व्यक्तिले सम्मानपूर्वक बाँच्न पाउने वातावरणको माग गरिरहेका छन् ।
नील हिरा समाज (ब्लु डायमण्ड सोसाइटी) मा कार्यक्रम संयोजकका रूपमा कार्यरत यी तीन जनाका अनुभवले एउटै प्रश्न उठाउँछन्– आफ्नो पहिचानसहित सम्मानपूर्वक बाँच्न पाउनु अझै पनि संघर्षकै विषय किन बनिरहेको छ ?
नागरिकता नहुँदा आफ्नै जीवन अपरिचित
आफूलाई पारालैङ्गिक (ट्रान्सजेन्डर) महिलाका रूपमा पहिचान गराउने रुबिना स्नातक तह तेस्रो वर्षमा अध्ययनरत छिन् । उनी लैङ्गिक तथा यौनिक अल्पसंख्यक बालबालिका र युवासँग पनि काम गर्छिन् । अरूलाई अधिकार र पहिचानका विषयमा सचेत गराउने उनी आफैँ भने आफ्नो पहिचानअनुसारको नागरिकताका लागि संघर्षरत छिन् ।
पहिचानअनुसारको नागरिकता पाउन तीन वर्ष पूरा भएर चार वर्ष लागिसकेको उनको भनाइ छ । पाटन उच्च अदालतबाट आफ्नो पक्षमा फैसला भए पनि वडा कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट प्रक्रिया अघि नबढ्दा नागरिकता पाउन नसकेको उनी बताउँछिन् ।
“एउटा मान्छे म छु, तर मेरा कागजातले अर्कै देखाउँछन् । यही कारणले गर्दा मैले पढाइदेखि रोजगारीसम्म समस्या भोग्नुपरेको छ,” उनी भन्छिन् ।
नागरिकतासँगै विवाहपछि प्राप्त हुने अधिकारबारे पनि उनी चिन्तित छिन् । विवाहको कानुनी मान्यता प्राप्त भए पनि सम्पत्तिमा अधिकार, पैतृक सम्पत्तिको पहुँच र धर्मपुत्र–धर्मपुत्री स्वीकार गर्ने विषयमा स्पष्ट व्यवस्था आवश्यक रहेको उनको भनाइ छ । परिवारबाट बहिष्कृत भएर पैतृक सम्पत्तिबाट वञ्चित भएका व्यक्तिलाई धर्मपुत्र–धर्मपुत्री स्वीकार गर्न आवश्यक आर्थिक तथा सम्पत्तिसम्बन्धी मापदण्ड पूरा गर्न कठिन हुने उनी बताउँछिन् ।
विद्यालय र कलेजमा पर्याप्त जानकारी नहुँदा समुदायका व्यक्तिले होच्याउने शब्द, गालीगलौज र बुलिङ सामना गर्नुपरेको छ । सार्वजनिक शौचालय प्रयोग गर्दा पनि पहिचान र शारीरिक अवस्थाका कारण अप्ठ्यारो हुने गरेको उनको अनुभव छ । विशेषगरी पारालैङ्गिक पुरुष र अन्तरलिङ्गी व्यक्तिका लागि शौचालयको संरचना सहज नभएको भन्दै भएका शौचालयलाई सबैले प्रयोग गर्न सक्ने गरी लैङ्गिकमैत्री बनाउनुपर्ने उनी बताउँछिन् ।
राज्यको तथ्याङ्कमा हराएको अस्तित्व खोज्दै एन्जल
नील हिरा समाजकी कार्यक्रम संयोजक एन्जल लामाको चिन्ता समुदायको वास्तविक सङ्ख्या र अवस्था राज्यले पहिचान गर्न नसकेको विषयमा छ । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक भन्नासाथ पारालैङ्गिक वा तेस्रो लिङ्गी व्यक्तिलाई मात्रै बुझ्ने सरकारी र सामाजिक बुझाइ परिवर्तन हुनुपर्ने उनको भनाइ छ ।
यस समुदायभित्र समलिङ्गी महिला तथा पुरुष, पारालैङ्गिक महिला तथा पुरुष, द्विलिङ्गी, अलैङ्गिक र अन्तरलिङ्गी व्यक्तिलगायत फरक पहिचान भएका व्यक्ति छन् । उनीहरूका समस्या र आवश्यकता पनि फरक छन् ।
“हामीलाई एउटै समूहमा राखेर हेर्नु हुँदैन । कसैलाई विवाह दर्ताको समस्या छ, कसैलाई नागरिकता र शैक्षिक प्रमाणपत्रको, कसैलाई जन्मदर्तादेखि नै पहिचानको संघर्ष छ,” उनी भन्छिन् ।
उनका अनुसार समलिङ्गी जोडीले विवाह दर्ता र धर्मपुत्र–धर्मपुत्री स्वीकार गर्ने अधिकारका लागि संघर्ष गरिरहेका छन् । पारालैङ्गिक व्यक्तिले नागरिकता र शैक्षिक प्रमाणपत्रमा पहिचान मिलाउन कठिनाइ भोगिरहेका छन् भने द्विलिङ्गी र अलैङ्गिक व्यक्तिले सामाजिक लाञ्छना तथा विभेद सामना गर्नुपरेको छ । अन्तरलिङ्गी व्यक्तिले जन्मदर्तादेखि नै पहिचानको समस्या भोग्नुपरेको र कतिपय अवस्थामा उनीहरूको इच्छाविपरीत शल्यक्रिया हुने गरेको विषय पनि गम्भीर रहेको उनी बताउँछिन् ।
एन्जलको मुख्य माग समुदायको वास्तविक तथ्याङ्क सङ्कलन हो । विगतको जनगणनामा समुदायको सङ्ख्या तीन हजारभन्दा कम देखिएको उल्लेख गर्दै उनले त्यसले वास्तविक अवस्था प्रतिनिधित्व नगर्ने बताउँछिन् ।
“हामी कति जना छौँ, कहाँ छौँ र हाम्रो अवस्था कस्तो छ भन्ने तथ्याङ्क नै छैन । तथ्याङ्कमा तीन हजारभन्दा कम देखिन्छ, तर देशभरका हाम्रा २३ वटा संस्थामा सेवा लिन आउने व्यक्तिको सङ्ख्या हेर्दा वास्तविक अवस्था अर्कै देखिन्छ । आखिर ती व्यक्तिहरूको सङ्ख्या सरकारी तथ्याङ्कमा किन आएन ?” उनी प्रश्न गर्छिन् ।
तथ्याङ्क नहुँदा सरकारले समुदायको आवश्यकताअनुसार नीति, बजेट र कार्यक्रम बनाउन नसकेको उनको भनाइ छ । शिक्षा, छात्रवृत्ति, रोजगारी र सरकारी सेवामा अवसर सुनिश्चित गर्न पनि वास्तविक तथ्याङ्क आवश्यक पर्ने भन्दै स्थानीय, प्रदेश र सङ्घीय सरकारले समुदायका संस्थासँग सहकार्य गर्नुपर्ने उनी बताउँछिन् ।
लुम्बिनी प्रदेशमा लामो समयदेखि समुदायको अधिकारका क्षेत्रमा काम गर्दै आएका रेशम न्यौपानेको अनुभवले अर्को कठोर यथार्थ देखाउँछ । उनी नील हिरा समाजसँग आबद्ध भएर जिल्ला संयोजकका रूपमा काम गरिरहेका छन् ।
उनका अनुसार कतिपय व्यक्ति आफ्नो पहिचानकै कारण जन्मेको परिवारबाट अलग हुन बाध्य छन् । परिवारको साथ र घरको छानो गुमेपछि गाँस र बासको जोहो गर्नु नै उनीहरूको पहिलो चुनौती बन्ने गरेको छ ।
रोजगारीका अवसर नपाउँदा कतिपय व्यक्ति बाध्यताले जोखिमपूर्ण पेसामा संलग्न हुनुपर्ने अवस्था आएको उनी बताउँछन् । तर, उनीहरूको बाध्यता बुझ्ने प्रयास नगरी समाजले उल्टै दोष दिने गरेको उनको गुनासो छ ।
“जन्मेकै परिवारबाट बाहिर निस्कन बाध्य भएको समुदायले गाँस र बासका लागि संघर्ष गर्नुपर्छ । रोजगारीको सहज वातावरण नबनाउने अनि बाध्यतामा परेपछि यही समुदायले विकृति फैलायो भनेर दोष दिने प्रवृत्ति छ,” न्यौपाने भन्छन् ।
नागरिकता र शैक्षिक प्रमाणपत्रमा नाम तथा पहिचान नमिल्दा सरकारी तथा गैरसरकारी क्षेत्रमा रोजगारी पाउनसमेत कठिन भएको उनको भनाइ छ । कागजात नमिलेकै कारण रोजगारदाताले क्षमता र योग्यताभन्दा पहिचानलाई प्राथमिकता दिने गरेको उनी बताउँछन् ।
न्यौपानेको जोड अधिकारको बहसमा समुदायको अर्थपूर्ण सहभागितामा छ । कुनै समिति वा कार्यक्रममा नामका लागि मात्रै सहभागी गराउनु पर्याप्त नहुने उनको भनाइ छ ।
“नामको मात्र संरचना र सहभागिता होइन, अर्थपूर्ण सहभागिता चाहिन्छ । यो समुदायका व्यक्तिले पनि अरू नागरिकसरह काँधमा काँध मिलाएर हिँड्न सक्ने वातावरण बन्नुपर्छ,” उनी भन्छन् ।
तीनै जनाका अनुभव फरक छन्, तर अपेक्षा एउटै छ– आफ्नो पहिचानका कारण कसैले पनि अपमान, बहिष्करण र अवसरबाट वञ्चित हुन नपरोस् । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानले महिला तथा बालिकामाथि हुने हिंसासँगै लैङ्गिक पहिचान र यौनिक अभिमुखीकरणका आधारमा हुने विभेदलाई पनि समेट्नुपर्ने उनीहरूको आग्रह छ ।
उनीहरूलाई दया होइन, अधिकार र सहानुभूति होइन, समान अवसर चाहिएको छ । रुबिनालाई अदालतको फैसला कार्यान्वयन भएर आफ्नो पहिचानअनुसारको नागरिकता चाहिएको छ । एन्जललाई राज्यले समुदायको वास्तविक संख्या र आवश्यकता पहिचान गरोस् भन्ने छ भने रेशमलाई परिवार र समाजबाट बहिष्कृत हुनुपर्ने अवस्था अन्त्य भएर सबैले सम्मानपूर्वक बाँच्न पाउने वातावरण बनोस् भन्ने छ ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहँदा समुदायका प्रतिनिधिले उठाएका सवालले अधिकारको बहस कानुनी घोषणामा मात्र सीमित नराखी व्यवहारमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?