Butwal Today

राप्तीसोनारीमा आँखा शिविरबाट १ हजार ४९५ जना लाभान्वित, २१८ जनाको शल्यक्रिया

११ मंसिर २०८३, शुक्रबार
अ
अ+
अ-

नेपालगञ्ज ।

बाँकेको राप्तीसोनारी गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा परीक्षण तथा उपचार शिविरबाट १ हजार ४९५ जना लाभान्वित भएका छन्। शिविरका क्रममा मोतियाबिन्दुको समस्या पहिचान भएका २१८ जनाको निःशुल्क शल्यक्रिया गरिएको छ।

आर्थिक अभाव तथा भौगोलिक दूरीका कारण आँखाको उपचारबाट वञ्चित हुनुपर्ने अवस्थालाई कम गर्ने उद्देश्यले गाउँपालिकाले सञ्चालन गरेको शिविरबाट ग्रामीण क्षेत्रका नागरिकले आफ्नै गाउँपालिकामा विशेषज्ञ स्वास्थ्य सेवा पाएका हुन्।

राप्तीसोनारी गाउँपालिकाको आयोजना तथा नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो। शिविरअन्तर्गत बैजापुरस्थित राप्तीसोनारी आधारभूत अस्पतालमा तीन दिनसम्म मोतियाबिन्दुका बिरामीको शल्यक्रिया गरिएको थियो।

राप्तीसोनारी ग्रामीण आँखा केन्द्रका इन्चार्जसमेत रहेका नेत्र सहायक प्रदीप चौधरीका अनुसार शल्यक्रिया गरिएकामध्ये ११० जना महिला र १०८ जना पुरुष रहेका छन्। मोतियाबिन्दुको शल्यक्रिया तिलगंगा आँखा अस्पतालकी नेत्र शल्यचिकित्सक डा. एलिना गौचन र भिजन आँखा अस्पताल, नेपालगन्जका नेत्र शल्यचिकित्सक डा. विश्व तिमिल्सिनाले गरेका हुन्।

गाउँपालिकाका नौवटै वडाका विभिन्न स्वास्थ्य संस्थामा मंसिर १ गतेदेखि आँखा परीक्षण शिविर सञ्चालन गरिएको थियो। शिविरमा आँखाको परीक्षण, मोतियाबिन्दुको पहिचान तथा शल्यक्रियाका लागि आवश्यक बिरामी छनोट गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले जानकारी दिए।

उनका अनुसार प्रारम्भिक परीक्षणका क्रममा मोतियाबिन्दुको समस्या देखिएका बिरामीलाई शल्यक्रियाका लागि छनोट गरी बैजापुरस्थित आधारभूत अस्पतालमा उपचारको व्यवस्था मिलाइएको थियो। छनोट भएका बिरामीको तीन दिनसम्म विशेषज्ञ चिकित्सकको टोलीले निःशुल्क शल्यक्रिया गरेको हो।

गाउँपालिकाका उपाध्यक्ष मनिषासिंह थारुले ग्रामीण भेगका नागरिकलाई सहज र सुलभ रूपमा आँखा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको बताइन्। आर्थिक अवस्था कमजोर भएका तथा उपचारका लागि नेपालगन्जलगायतका सहरसम्म पुग्न कठिनाइ हुने नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गरिएको उनको भनाइ छ।

विशेषगरी ज्येष्ठ नागरिक तथा लामो समयदेखि आँखासम्बन्धी समस्या भोगिरहेका नागरिकलाई प्राथमिकतामा राखेर शिविर सञ्चालन गरिएको उपाध्यक्ष थारुले बताइन्। उपचारको अभावमा दृष्टिसम्बन्धी समस्या लिएर बस्नुपर्ने अवस्थाको अन्त्य गर्दै नागरिकको जीवन सहज बनाउने पालिकाको प्रयास रहेको उनले उल्लेख गरिन्।

उनका अनुसार गाउँपालिकाले यसअघि पनि विभिन्न आँखा अस्पताल तथा स्वास्थ्य संस्थासँग सहकार्य गरेर निःशुल्क आँखा परीक्षण तथा उपचार शिविर सञ्चालन गर्दै आएको छ। आगामी दिनमा पनि ग्रामीण क्षेत्रका नागरिकको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राखेर यस्ता कार्यक्रमलाई निरन्तरता दिने गाउँपालिकाको योजना रहेको छ।

आँखासम्बन्धी समस्या समयमै पहिचान र उपचार गर्न सके दृष्टि गुम्ने जोखिम कम गर्न सकिने भएकाले यस्ता शिविर ग्रामीण समुदायका लागि प्रभावकारी बनेका छन्। राप्तीसोनारीमा सञ्चालित यस शिविरबाट ठूलो संख्यामा नागरिकले सेवा पाउनुका साथै २१८ जनाले मोतियाबिन्दुको शल्यक्रियामार्फत उपचार सेवा पाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?