Butwal Today

जनकपुरधाम–अयोध्याबीच रेल सेवा सञ्चालन हुँदै, धार्मिक पर्यटन र व्यापार विस्तारको अपेक्षा

११ मंसिर २०८३, शुक्रबार
अ
अ+
अ-

जनकपुरधाम ।

त्रेतायुगीन रामायणकालीन सभ्यतासँग जोडिएका नेपालका जनकपुरधाम र भारतको अयोध्याबीच प्रत्यक्ष रेल सम्पर्क स्थापित भएको छ। माता सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको जन्मभूमि अयोध्यालाई जोड्ने सरयू–कमला एक्सप्रेस रेल सेवा यही शनिबारदेखि व्यावसायिक रूपमा सञ्चालन गर्ने तयारी गरिएको छ।

करिब ६०४ किलोमिटर दूरीमा रेल सेवा सञ्चालन भएपछि नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धसँगै पर्यटन र व्यापारिक गतिविधि विस्तार हुने अपेक्षा गरिएको छ। रेल सेवाले दुवै देशका तीर्थयात्रीलाई आवतजावत सहज बनाउने र जनकपुरधाममा भारतीय पर्यटकको आगमन बढाउने स्थानीय व्यवसायीले बताएका छन्।

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा मङ्सिर ७ गते नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा हरियो झण्डा देखाएर रेल सेवाको उद्घाटन गरेका थिए। उद्घाटन भएको एक साताभित्रै व्यावसायिक सञ्चालन गर्ने तयारी भइरहेको नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले बताए।

उनका अनुसार अयोध्याबाट शनिबार बिहान जनकपुरधाम आइपुग्ने रेलको व्यावसायिक सञ्चालनका लागि टिकट बुकिङ खुला गर्ने तयारी भइरहेको छ। टिकटको भाडादर निर्धारण गर्ने विषयमा छलफल जारी रहेको र केही प्राविधिक काम बाँकी रहेको उनले जानकारी दिए। यात्रुले जनकपुरधाम रेल्वे स्टेसनबाटै टिकट खरिद गर्न सक्ने व्यवस्था मिलाइँदै छ।

अनलाइनबाट टिकट लिन चाहने यात्रुले भारतको टिकट प्रणाली प्रयोग गर्न सक्नेछन्। नेपालबाट टिकट लिन चाहने यात्रुले जनकपुरधाम रेल्वे स्टेसन पुगेर खरिद गर्न सक्नेछन्।

रेलमा यात्रा गर्न नेपाली नागरिकले नेपाल सरकारबाट जारी गरिएको परिचयपत्र अनिवार्य रूपमा प्रस्तुत गर्नुपर्नेछ। नेपाली नागरिकता, राहदानी वा मतदाता परिचयपत्रका आधारमा टिकट लिन सकिने व्यवस्था गरिएको पराजुलीले बताए।

१७ डिब्बा, शनिबार जनकपुरबाट अयोध्या प्रस्थान

जनकपुरधाम–अयोध्या रेलमा १७ वटा डिब्बा रहनेछन्। रेलमा वातानुकूलित द्वितीय श्रेणीका दुई, वातानुकूलित तृतीय श्रेणीका तीन, तृतीय इकोनोमी श्रेणीका तीन, शयनयान श्रेणीका सात र एसएलआरका दुई डिब्बा रहनेछन्।

निर्धारित समयतालिकाअनुसार प्रत्येक शनिबार जनकपुरधामबाट अयोध्याका लागि रेल प्रस्थान गर्नेछ भने सोमबार अयोध्याबाट जनकपुरधाम फर्कनेछ। साप्ताहिक रूपमा सञ्चालन हुने रेल सेवाले दुवै धार्मिक सहरको दर्शन गर्न चाहने यात्रुलाई सुविधा दिनेछ।

करिब ६०४ किलोमिटर दूरी पार गर्ने रेलले भारतको बिहार र उत्तर प्रदेशका विभिन्न सहर हुँदै यात्रा गर्नेछ। जयनगर, मधुबनी, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्याधाममा व्यावसायिक बिसौनी रहने पराजुलीले बताए। ती स्थानबाट यात्रु चढ्न र ओर्लन सक्ने व्यवस्था गरिएको छ।

यसले जनकपुरधाम र अयोध्याका यात्रु मात्र नभई रेलमार्गमा पर्ने विभिन्न सहरका नागरिकलाई समेत आवागमनमा सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।

धार्मिक पर्यटन र स्थानीय व्यापार विस्तारको अपेक्षा

जनकपुरधाम उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष जितेन्द्र महासेठले जनकपुरधाम र अयोध्याबीच रेल सेवा सञ्चालन भएपछि धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए।

उनका अनुसार माता सीताको जन्मभूमि र भगवान् रामको जन्मभूमिबीच प्रत्यक्ष रेल सम्पर्क स्थापित हुनु दुवै देशका श्रद्धालुका लागि नयाँ अवसर हो। रेल सेवाले जनकपुरधामलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा विकास गर्न सहयोग गर्ने उनले बताए।

भारतका विभिन्न क्षेत्रबाट जनकपुरधाम आउने पर्यटकको सङ्ख्या बढ्न सक्ने उनको भनाइ छ। यसले मधेस प्रदेशको कृषि, उद्योग, व्यापार तथा पर्यटन क्षेत्रमा समेत आर्थिक गतिविधि बढाउने अपेक्षा गरिएको उनले जानकारी दिए।

महासेठले धार्मिक पर्यटकको आगमन बढेपछि स्थानीय होटल, यातायात, खानपान तथा हस्तकला व्यवसायमा आबद्ध समुदायले प्रत्यक्ष लाभ लिन सक्ने बताए। पर्यटकको आवागमनले स्थानीय उत्पादनको बजार विस्तार हुनुका साथै रोजगारीका अवसरसमेत सिर्जना हुन सक्ने उनको भनाइ छ।

जनकपुरधाम धार्मिक आस्थाको केन्द्र मात्र नभई मिथिला सभ्यता, कला, संस्कृति र परम्पराको पहिचान बोकेको सहर हो। यहाँको जानकी मन्दिर, राम मन्दिर, विवाहमण्डप, धनुषाधाम, पोखरी तथा अन्य धार्मिक सम्पदाले पर्यटकलाई आकर्षित गर्दै आएका छन्।

मिथिला कला र संस्कृतिको प्रचारप्रसारमा सहयोग पुग्ने

कानुन व्यवसायी राजकुमार महासेठले रेल सेवाले जनकपुरधामस्थित जानकी मन्दिर, राम मन्दिर, धनुषाधाम, विवाहमण्डप तथा मिथिलाको मौलिक कला र संस्कृतिलाई अन्तर्राष्ट्रिय पर्यटन बजारसँग जोड्न सहयोग गर्ने बताए।

उनका अनुसार रेल सेवाबाट पर्यटकको आवागमन बढेपछि मिथिला चित्रकला, लोकगीत, लोकनृत्य, परम्परागत हस्तकला, विवाह संस्कार तथा सांस्कृतिक पर्वको प्रचारप्रसारमा सहयोग पुग्नेछ।

धार्मिक स्थलको दर्शनसँगै पर्यटकलाई मिथिलाको कला, संस्कृति, खानपान र परम्परागत जीवनशैलीको अनुभव गराउन सके जनकपुरधामको पर्यटन सम्भावना विस्तार हुने उनले बताए।

पर्यटकको सङ्ख्या बढेसँगै होटल तथा आवास व्यवसाय, रेस्टुरेन्ट, यातायात, हस्तकला, स्थानीय उत्पादन र पर्यटक पथप्रदर्शन क्षेत्रमा आर्थिक गतिविधि बढ्ने सम्भावना रहेको उनको भनाइ छ। पर्यटकको बसाइ अवधि बढाउन सके स्थानीय व्यवसायीले थप आम्दानी गर्न सक्ने उनले बताए।

रेलबाट आउने पर्यटकलाई लक्षित गरी धार्मिक भ्रमण प्याकेज, सांस्कृतिक कार्यक्रम, मिथिला भोजन, हस्तकला प्रदर्शनी तथा विभिन्न पर्यटकीय गन्तव्यको भ्रमण व्यवस्था गर्न सकिने उनले जानकारी दिए।

तर पर्यटकको आगमन बढाउन होटल, आवास, सरसफाइ, सुरक्षा, सूचना तथा यातायात व्यवस्थापनमा सुधार गर्नुपर्ने उनको सुझाव छ।

रामायण सर्किट विस्तारको सम्भावना

जनकपुरधाम र अयोध्याबीच रेल सम्पर्क स्थापित भएपछि रामायणसँग सम्बन्धित धार्मिक तथा ऐतिहासिक स्थललाई एउटै पर्यटन मार्गमा जोड्ने सम्भावना बढेको छ।

जनकपुरधाममा विवाहपञ्चमी, रामनवमी, जानकी नवमी तथा अन्य धार्मिक पर्वमा भारतका विभिन्न क्षेत्रबाट ठूलो सङ्ख्यामा श्रद्धालु आउने गरेका छन्। त्यस्तै, अयोध्यामा पनि धार्मिक तथा सांस्कृतिक गतिविधिका अवसरमा स्वदेशी तथा विदेशी पर्यटकको आवागमन हुने गरेको छ।

रेल सेवा सञ्चालन भएपछि तीर्थयात्रीले एउटै यात्रामा दुवै धार्मिक सहरको दर्शन गर्न सक्नेछन्। यसले धार्मिक यात्रालाई सहज बनाउनुका साथै दुवै देशका धार्मिक तथा सांस्कृतिक संस्थाबीच सहकार्य विस्तार गर्न सक्ने अधिकारकर्मी सिजेन्द्र सदाले बताए।

उनका अनुसार रामायणसँग सम्बन्धित अन्य धार्मिक तथा ऐतिहासिक स्थललाई समेत एउटै पर्यटन मार्गमा जोड्न सके नेपाल र भारतबीच धार्मिक पर्यटनको दायरा विस्तार गर्न सकिनेछ।

नियमित सञ्चालन र व्यवस्थापनमा जोड

नागरिक समाजकी अगुवा रेखा झाले लामो समयदेखि पहल हुँदै आए पनि सञ्चालन हुन नसकेको रेल सेवा कार्यान्वयनको चरणमा पुग्नु सकारात्मक उपलब्धि भएको बताइन्।

उनले रेल सेवालाई नियमित र प्रभावकारी बनाउन दुवै देशका सरकारबीच नीतिगत निर्णय, प्रशासनिक समन्वय र पूर्वाधार व्यवस्थापन आवश्यक रहेको बताइन्।

उनका अनुसार रेल सेवा सुरु हुनु मात्र पर्याप्त हुँदैन। यसको दीर्घकालीन सफलता नियमित सञ्चालन, यात्रुको सुरक्षा, सहज टिकट व्यवस्था र प्रभावकारी व्यवस्थापनमा निर्भर रहनेछ।

धार्मिक पर्यटनबाट स्थानीय समुदायले प्रत्यक्ष लाभ लिन सक्ने वातावरण बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उनले बताइन्।

हाल भारतको जयनगरदेखि नेपालको जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ। यही रेल सञ्जाललाई आधार बनाएर जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालन गर्न लागिएको हो।

स्थानीय व्यवसायी अम्बुप्रसाद साहले नयाँ रेल सेवाले धार्मिक तथा सांस्कृतिक पर्यटनसँगै स्थानीय आर्थिक गतिविधि विस्तार गर्ने बताए। उनका अनुसार रेल सेवाबाट पर्यटकको आवागमन बढेपछि जनकपुरधामको अन्तर्राष्ट्रिय पर्यटन बजारमा पहिचान विस्तार गर्ने अवसर सिर्जना हुनेछ।

उनले रेल सेवा नियमित र भरपर्दो बनाउन, यात्रुको सहज आवागमन सुनिश्चित गर्न, पर्यटकीय पूर्वाधार सुधार गर्न तथा नेपाल र भारतका सम्बन्धित निकायबीच प्रभावकारी समन्वय कायम गर्नुपर्ने बताए।

जनकपुरधाम र अयोध्याबीच प्रत्यक्ष रेल सम्पर्क स्थापित भएपछि धार्मिक पर्यटन, स्थानीय व्यापार, रोजगारी र सांस्कृतिक आदानप्रदान विस्तारको सम्भावना बढेको छ। तर यसको वास्तविक लाभ लिन रेल सेवाको नियमितता, पर्यटकमैत्री पूर्वाधार र स्थानीय उत्पादन तथा संस्कृतिको प्रवद्र्धनमा ध्यान दिनुपर्ने देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?