Butwal Today

शरद् ऋतुमा ७७ देशका एक हजार ६३३ आरोहीलाई हिमाल आरोहण अनुमति

१० मंसिर २०८३, बिहीबार
अ
अ+
अ-

काठमाडौं ।

सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ७७ देशका एक हजार ६३३ आरोहीले अनुमति लिएका छन् ।

पर्यटन विभागका अनुसार शरद् ऋतुमा ५० हिमाल आरोहणका लागि १९० टोलीका एक हजार ६३३ जनालाई अनुमति प्रदान गरिएको हो । अनुमति लिनेमा एक हजार २५३ पुरुष र ३८० महिला रहेका छन् ।

विभागका सूचना अधिकारी सुरज घिमिरेले शरद् ऋतुका लागि विभिन्न देशका आरोहीलाई आरोहण अनुमति प्रदान गरिएको जानकारी दिए ।

आरोहण अनुमति लिनेमा सबैभन्दा धेरै फ्रान्सका नागरिक रहेका छन् । विभागका अनुसार फ्रान्सका १५०, चीनका १४६, अमेरिकाका १३०, रुसका १२४, बेलायतका ११२, जर्मनीका १०२ र नेपालका ९० आरोहीले अनुमति लिएका छन् । त्यस्तै स्पेनका ५६, स्विट्जरल्यान्डका ५२, अस्ट्रेलियाका ४६ र चेक गणतन्त्रका ४२ आरोहीले अनुमति लिएका छन् ।

विभागले आरोहण अनुमति शुल्कबापत २१ लाख ९७ हजार ७१० अमेरिकी डलर अर्थात् ३३ करोड ४२ लाख ८६ हजार ६१७ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । अगस्टको अन्तिम सातादेखि आरोहण अनुमति शुल्क सङ्कलन सुरु भएको विभागले जनाएको छ ।

यस वर्ष सबैभन्दा धेरै आरोहीले मनास्लु हिमाल आरोहणका लागि अनुमति लिएका छन् । आठ हजार १६३ मिटर अग्लो मनास्लु आरोहणका लागि ४३ टोलीका ५०० जनाले अनुमति लिएका हुन् । उनीहरूमध्ये ३७३ पुरुष र १२७ महिला छन् । मनास्लु आरोहण अनुमति शुल्कबाट मात्रै विभागले २२ करोड ५८ लाख ५७ हजार १८९ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

त्यस्तै, धौलागिरि–१ आरोहणका लागि छ टोलीका ३७ जनाले अनुमति लिएका छन् । यसबाट ८४ लाख ७३ हजार ६५० रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

मकालु हिमाल आरोहणका लागि एक टोलीका तीन जनाले अनुमति लिएका छन् । उनीहरूबाट विभागले छ लाख ८८ हजार ५० रुपैयाँ राजस्व प्राप्त गरेको छ ।

हिम्लुङ हिमाल आरोहणका लागि १३ टोलीका १३० जनाले अनुमति लिएका छन् । यसबाट ७९ लाख ७४ हजार २० रुपैयाँ रोयल्टी सङ्कलन भएको छ ।

यसैगरी, आमादब्लम हिमाल आरोहणका लागि ४० टोलीका ४७६ जनाले अनुमति लिएका छन् । उनीहरूबाट विभागले सात करोड १३ लाख ४७ हजार १०० रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

विभागका अनुसार पुथा हिउँचुली, डाङ्गा हिउँचुली, बरुणत्से, गङ्गापूर्णा पश्चिम (लाङचेनेल), थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण–४, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक (धाम्पुस), पोखर खाङ, अर्दाङ, जुगल र पेरीलगायतका हिमाल आरोहणका लागि पनि अनुमति प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?