© 2026
पोखरा ।
पर्यटकीय सहर पोखरामा मौसम सफा भएसँगै प्याराग्लाइडिङ गर्ने पर्यटकको सङ्ख्या बढेको छ । हिमाल, तालतलैया र हरिया डाँडापाखाको दृश्य अवलोकन गर्दै आकाशमा उड्ने साहसिक अनुभव लिन स्वदेशी तथा विदेशी पर्यटक आकर्षित भएका छन् ।
नेपाल हवाई खेलकुद संस्थाका अनुसार अहिले पोखरामा दैनिक दुई सयभन्दा बढी पर्यटकले प्याराग्लाइडिङ गर्दै आएका छन् । दसैँ–तिहारको बिदाका समयमा भने दैनिक चार सयसम्म पर्यटकले प्याराग्लाइडिङ गरेका थिए ।
प्याराग्लाइडिङ गर्ने पर्यटकमध्ये करिब ६० प्रतिशत विदेशी र ४० प्रतिशत नेपाली रहेको संस्थाका अध्यक्ष माधव तिवारीले बताए । उनका अनुसार वर्षा र प्रतिकूल मौसमका दिनबाहेक पोखरामा वर्षमा करिब तीन सय दिन प्याराग्लाइडिङ उडान हुने गरेको छ ।
पछिल्लो समय नेपाली पर्यटकको आकर्षण पनि बढ्दै गएको तिवारीले बताए । उनले प्याराग्लाइडिङ पोखराको प्रमुख साहसिक पर्यटन गतिविधि र पहिचानका रूपमा स्थापित भएको जानकारी दिए । पोखरा घुम्न आउने पर्यटकमध्ये करिब २० प्रतिशतले प्याराग्लाइडिङ गर्ने गरेको उनको भनाइ छ ।
नेपाल हवाई खेलकुद संस्थामा आबद्ध ५४ कम्पनीले पोखरामा प्याराग्लाइडिङ व्यवसाय सञ्चालन गर्दै आएका छन् । ती कम्पनीमा दुई सय ३० जना तालिमप्राप्त पाइलट कार्यरत छन् । पाइलट र यात्रु दुवैको बीमा गर्ने गरिएको तथा दुर्घटना रोक्न आवश्यक सुरक्षा उपाय अपनाइएको अध्यक्ष तिवारीले बताए ।
प्याराग्लाइडिङ व्यवसायको अनुगमन र सञ्चालन अनुमति पत्र नवीकरणलगायतका काम पनि नेपाल हवाई खेलकुद संस्थामार्फत हुँदै आएको उनले जानकारी दिए ।
पोखरा महानगरपालिका–१८ स्थित सराङकोट र तोरीपानीबाट उडान गरी फेवाताल किनारको खपौदीमा अवतरण गर्ने गरिएको छ । समुद्री सतहबाट करिब एक हजार ६५० मिटर उचाइबाट प्याराग्लाइडिङ उडान हुने गरेको फिस्टेल नेपाल प्याराग्लाइडिङ कम्पनीका प्रशिक्षक एवं पाइलट एलिस थापाले बताए । उनका अनुसार सुरक्षा मापदण्ड पालना गरेर मात्रै उडान सञ्चालन गरिन्छ ।
थापाले विदेशी पर्यटकलाई आकर्षित गर्न पोखरामा प्याराग्लाइडिङको उडान क्षेत्र विस्तार गर्नुपर्ने बताए । एयर स्पेस सीमित हुँदा सोलो उडानका लागि आउने विदेशी पर्यटकलाई अपेक्षाअनुसार आकर्षित गर्न नसकिएको उनको भनाइ छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्याराग्लाइडिङका लागि एयर स्पेस विस्तार गरे विदेशी पर्यटकको सङ्ख्या बढाउन सकिने उनले बताए ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि हवाई उडान सुरक्षालाई ध्यानमा राख्दै प्याराग्लाइडिङ केही समय बन्द गरिएको थियो । पछि निश्चित क्षेत्र तोकेर प्राधिकरणले पुनः सञ्चालन अनुमति दिएको थियो ।
पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता पनि विगतको तुलनामा कम हुँदै गएको प्रशिक्षक थापाले बताए । प्रतियोगितामा सहभागी हुन विभिन्न देशबाट आउने पर्यटकको सङ्ख्या पनि घटेको उनको भनाइ छ । पोखरा प्याराग्लाइडिङका लागि उपयुक्त गन्तव्य भएकाले व्यवसायीलाई प्रोत्साहन गर्ने योजना राज्यले ल्याउनुपर्ने उनले बताए ।
पोखरामा अहिले एक जनाले आठ हजार पाँच सय रुपैयाँ तिरेर प्याराग्लाइडिङ गर्न पाउँछन् । व्यवसायीका अनुसार उक्त शुल्कमा केही घटबढ हुन सक्छ । पर्यटकले १५ देखि ३० मिनेटसम्म आकाशमा उड्ने अवसर पाउँछन् । पोखरामा करिब तीन दशकअघि प्याराग्लाइडिङ सुरु भएको थियो ।
प्याराग्लाइडिङका लागि दक्ष पाइलट उत्पादन गर्न पोखरामै तालिम सञ्चालन हुँदै आएको छ । केही दिनअघि कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभानमा प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । स्वदेशमै दक्ष पाइलट उत्पादन गर्ने उद्देश्यले एरोडाइनामिक प्याराग्लाइडिङ प्रालिले माछापुच्छ्रे गाउँपालिकासँगको सहकार्यमा केन्द्र सञ्चालनमा ल्याएको हो ।
पोखरामा प्याराग्लाइडिङसँगै बन्जी, स्काइडाइभिङ, अल्ट्रालाइट र हट एयर बेलुनजस्ता साहसिक पर्यटन गतिविधि पनि सञ्चालन हुँदै आएका छन् । साहसिक अनुभव लिन चाहने स्वदेशी तथा विदेशी पर्यटक यी गतिविधिमा आकर्षित हुने गरेका छन् ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले ‘प्रकृति, संस्कृति र साहस’मा आधारित पोखराको पर्यटनमा साहसिक खेल गतिविधिको महत्वपूर्ण स्थान रहेको बताए । साहसिक पर्यटनमा विदेशी पर्यटकको आकर्षण बढाउन सके पोखराको समग्र पर्यटन क्षेत्रले लाभ लिन सक्ने उनको भनाइ छ ।