Butwal Today

नागरिक लगानी कोषको पहुँच विस्तार योजना १० दिनभित्र पेस गर्न अर्थ समितिको निर्देशन

१० मंसिर २०८३, बिहीबार
अ
अ+
अ-

काठमाडौं ।

नागरिक लगानी कोषमा सर्वसाधारणको पहुँच विस्तार गर्ने योजना र भावी कार्यदिशासहितको विस्तृत प्रतिवेदन १० दिनभित्र पेस गर्न अर्थ समितिले निर्देशन दिएको छ ।

प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको आज बसेको बैठकले कोषका कार्यकारी निर्देशक पर्वतबहादुर कार्कीलाई यस्तो निर्देशन दिएको समिति सभापति डा. कृष्णहरि बुढाथोकीले बताए ।

सभापति बुढाथोकीले नागरिक लगानी कोष नामअनुसार सर्वसाधारणको पहुँच विस्तार हुन नसकेको विषय उठिरहेको बताए । बैठकमा उठेका विषय र कार्यसूची समेटेर १० दिनभित्र विस्तृत प्रतिवेदन पेस गर्न कार्यकारी निर्देशकलाई निर्देशन दिएको उनले जानकारी दिए ।

बैठकमा सांसदहरूले कोषको लगानी क्षेत्र सीमित रहेको भन्दै ठूला पूर्वाधार तथा उत्पादनमूलक परियोजनामा लगानी विस्तार गर्न सुझाव दिएका थिए । उनीहरूले दीर्घकालीन परियोजनामा कोषको सहभागिता बढाउनुपर्नेमा जोड दिएका थिए ।

यस्तै, कोषले सरकारी संलग्नता रहेका पूर्वाधार आयोजनामा लगानी विस्तारका लागि सहज वातावरण निर्माण गरिदिन सरकारसँग आग्रह गरेको छ ।

कोषका कार्यकारी निर्देशक कार्कीले माथिल्लो तामाकोशी र न्यादीजस्ता जलविद्युत् आयोजनामा थप लगानी गर्न सरकारी पहल आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?