Butwal Today

आदिवासी जनजातिको सहमतिबिना पुख्र्यौली थातथलोमा विकास आयोजना सञ्चालन गर्न नपाइने

१० मंसिर २०८३, बिहीबार
अ
अ+
अ-

ललितपुर ।

आदिवासी जनजाति समुदायको पुख्र्यौली थातथलोमा विकास आयोजना वा अन्य गतिविधि सञ्चालन गर्नुअघि सम्बन्धित समुदायको स्वतन्त्र, पूर्वसूचित सहमति लिनुपर्ने व्यवस्था गरिएको छ ।

यससम्बन्धी ‘आदिवासी जनजाति समुदायको स्वतन्त्र, पूर्वसूचित सहमति कार्यान्वयन राष्ट्रिय निर्देशिका, २०८३’ आदिवासी जनजाति आयोग, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान र नेपाल आदिवासी जनजाति महासङ्घले संयुक्त रूपमा सार्वजनिक गरेका छन् ।

आयोगका अध्यक्ष रामबहादुर थापा मगरले निर्देशिकाअनुसार सम्बन्धित समुदायको सहमतिबिना सरकारी, गैरसरकारी तथा बहुराष्ट्रिय कम्पनीले उनीहरूको पुख्र्यौली थातथलोमा आयोजना सञ्चालन गर्न नपाउने बताए ।

निर्देशिकामा आयोजना निर्माण गर्नुअघि प्रभावित समुदायका प्रतिनिधिको सहभागितामा नक्साङ्कन गर्नुपर्ने, आयोजनाबाट हुने सम्भावित लाभ र हानिबारे स्पष्ट जानकारी दिनुपर्ने तथा समुदायले आयोजना अस्वीकार गर्न सक्ने व्यवस्था गरिएको छ । सहमति दिने वा नदिने अन्तिम अधिकार सम्बन्धित समुदायको प्रथाजन्य संस्थामा रहने निर्देशिकामा उल्लेख छ ।

सरकार संलग्न आयोजनामा सरकार, लगानीकर्ता र प्रभावित समुदायबीच त्रिपक्षीय करार गर्नुपर्ने व्यवस्था पनि गरिएको छ । सहमति प्राप्त भइसकेपछि आयोजनाका कारण प्रतिकूल असर देखिए त्यसलाई स्थगन गर्न सकिनेछ । सहमति प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित आयोजनाले नै व्यहोर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

निर्देशिका कार्यान्वयनका लागि राष्ट्रिय सहजीकरण संयन्त्र गठन गर्ने प्रस्ताव गरिएको छ । कार्यान्वयनका क्रममा उत्पन्न हुने विवाद तथा गुनासो आदिवासी जनजाति आयोगले सुन्ने व्यवस्था पनि निर्देशिकामा समेटिएको छ ।

आयोगका अध्यक्ष मगरले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको महासन्धि नं. १६९ र आदिवासी जनजातिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय घोषणापत्रमा उल्लेखित अधिकार कार्यान्वयनका लागि निर्देशिका आवश्यक भएको बताए । उनले निर्देशिकालाई सरकारी दस्तावेजका रूपमा कार्यान्वयन गर्न आवश्यक कानुन निर्माण तथा संशोधन गर्न सरकारलाई आग्रह गरे ।

नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष निमा ह्योल्मो लामाले महासङ्घले २०७० सालमा तयार गरेको निर्देशिकालाई परिमार्जन र एकीकृत गरेर नयाँ निर्देशिका सार्वजनिक गरिएको जानकारी दिए । उनले यसको प्रभावकारी कार्यान्वयनका लागि राज्य, विकास साझेदार र दातृ निकायबीच सहकार्य आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?