© 2026
झापा ।
अनुदानमा प्राप्त रासायनिक मलको बिक्री वितरणमा अनियमितता गरेको पाइएपछि झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित संजिवनी कृषि भण्डारलाई जिल्ला प्रशासन कार्यालयले दुई लाख रुपैयाँ जरिवाना गरेको छ ।
अनुदानित मल अनधिकृत रूपमा बिक्री भइरहेको सूचनाका आधारमा बिहीबार गरिएको आकस्मिक अनुगमनमा भण्डारको मल मौज्दात र बिक्री विवरणमा अनियमितता भेटिएको हो ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार सञ्चालक प्रेमकुमार भट्टराईले साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामग्री कम्पनी लिमिटेड, बिर्तामोडबाट खरिद गरेको ४०० बोरा मलमध्ये गोदाममा २४१ बोरा मात्रै भेटिएको थियो । बाँकी १५९ बोरा मल कहाँ बिक्री गरियो वा कता लगियो भन्ने विवरण सञ्चालकले पेश गर्न सकेका थिएनन् ।
भण्डारले खरिद गरेको मलमध्ये १७० बोरा युरिया र २३० बोरा डीएपी थियो । अनुगमनका क्रममा गोदाममा १२० बोरा युरिया र १२१ बोरा डीएपी मात्रै भेटिएको थियो । बाँकी ५० बोरा युरिया र १०९ बोरा डीएपीको हिसाब देखाउन नसकेपछि उपभोक्ता हित संरक्षण ऐनबमोजिम दुई लाख रुपैयाँ जरिवाना गरिएको पोखरेलले बताए ।
सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको संयोजकत्वमा कृषि ज्ञान केन्द्र, उद्योग वाणिज्य संघ, जनप्रतिनिधि र उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधिसहितको टोलीले अनुगमन गरेको थियो ।
यसैबीच, बुद्धशान्ति गाउँपालिका–३ कै ७ नम्बर चोकस्थित न्यू कञ्चन कृषि सहकारी संस्थाको पनि अनुगमन गरिएको थियो । उक्त सहकारीको मल खरिद, बिक्री र मौज्दात विवरणमा भने कुनै अनियमितता नभेटिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।