© 2026
सुर्खेत ।
१० औं राष्ट्रिय खेलकुद प्रतियोगीताअन्तर्गत महिला क्रिकेटतर्फ लुम्बिनी प्रदेश समूह चरणबाटै बाहिरिएको छ ।
आफ्नो दोस्रो खेलमा मधेश प्रदेशसँग पराजित हुँदै लुम्बिनी प्रतियोगीताबाट बाहिरिएको हो । आज वीरेन्द्रनगर क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले सात विकेटको क्षतिमा ७९ रन बनायो । लुम्बिनीकी ओपनर ऋतु रावलले ४१ रनको नटआउट पारी खेलिन् । ५६ बलको सामना गरेकी उनले पाँच चौका प्रहार गरिन् । यस्तै सिमा थापाले १० रनको योगदान गरिन् ।
आस्मा पुलामी मगरले पाँच, अनिता चौधरी र दीपा कुँवरले समान चार–चार रन बनाइन् भने सुस्मिता भुषालले दुई तथा श्रुती बुढाथोकी, सरस्वती पुन र मनिषा रानाले एक–एक रन बनाए ।
लुम्बिनीलाई सस्तैमा समेट्न मधेश प्रदेशकी सुस्मिता यादवले चार विकेट हातपारिन् । चार ओभर बलिङ गरेकीउनले २० रन खर्चिन् । यस्तै रोजी कडारीले दुई विकेट झारिन् भने कप्तान पुजा महतोले एक विकेट लिइन् ।
८० रनको लक्ष्य मधेशले १२.४ ओभरमा पाँच विकेट गुमाएर भेट्टायो । मधेश प्रदेशकी ओपनर एलिषा यादवले ४२ रनको महत्वपूर्ण पारी खेलिन् । ३६ बलको सामना गरेकीउनले आठ चौका प्रहार गरिन् । कम्तान पुजा महतोले १५ रन बनाउँदा अनुराधा चौधरीले सात रन बनाइन् । ओपनर साना प्रविनले चार रन र सरस्वती चौधरीले दुई रनको योगदान दिइन् । चाँदनी खातुन चार रनमा नटआउट रहिन् ।
लुम्बिनीकी सरु तिवारीले तीन, सुस्मिता भुषाल र सरस्वती पुनले एक/एक विकेट हातपारे । बलिङमार्फत लुम्बिनीलाई सस्तैमा समेटेकी मधेश प्रदेशकी सुस्मिता यादव प्लेयर अफ द म्याच घोषित भइन् । मधेशसँगको हारसँगै लुम्बिनी प्रदेश प्रतियोगीताबाट बाहिरिएको छ ।
लुम्बिनी आफ्नो पहिलो खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबसँग पराजित भएको थियो ।