Butwal Today

‘निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध छ’

१० मंसिर २०८३, बिहीबार
अ
अ+
अ-
काठमाडौँ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले वर्तमान सरकार पारदर्शीता, नीतिगत स्थिरता र आपसी विश्वासमा आधारित लगानीमैत्री वातावरण बनाउनका लागि निजी क्षेत्रसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
नेपाल–ब्रिटेन चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीद्वारा आज यहाँ आयोजित ‘नेपाल–युके बिजनेस फोरममा उनले नेपालमा संयुक्त लगानी, प्राविधिक साझेदारी, उत्पादनमूलक क्षेत्रमा अवसर र नेपालका उदीयमान क्षेत्रमा लगानीका सम्भावना खोज्न बेलायती कम्पनीलाई आग्रह गरे ।
मन्त्री साहले विभिन्न पेसा, व्यवसायका सिलसिलामा बेलायमा रहनुभएका नेपाली डायस्पोरालाई पनि मातृभूमिमा लगानी, व्यावसायिक विज्ञता, नवीनता र ज्ञान हस्तान्तरणका माध्यमबाट नेपाली र बेलायती अर्थतन्त्रबीच सेतुको काम गर्न आग्रह आह्वान गरे ।
नेपाल र बेलायतबीच दुई शताब्दीभन्दा लामो मित्रता, आपसी सम्मान, विश्वास र सहकार्यको इतिहास रहेको उल्लेख गर्दै मन्त्री साहले यो सम्बन्ध केबल कूटनीतिक संलग्नतामा मात्र सीमित नभई जनस्तर र भावनात्मक निकटतामा पनि आधारित रहेको बताए ।
 “यो ऐतिहासिक सम्बन्धलाई अझ बलियो आर्थिक साझेदारीमा रूपान्तरण गर्ने अवसर छ, जसले उन्नत प्रविधि, जिम्मेवार लगानी र दिगो व्यापारलाई प्रवद्र्धन गर्न सकोस्”, उनले भने ।
 नेपाल र बेलायतबीच नवीकरणीय ऊर्जा, जलविद्युत्, सूचना प्रविधि, हरित प्रविधि, उत्पादन तथा औद्योगिक विकास, दिगो पूर्वाधार र सेवा क्षेत्रका उदीयमान आयाममा सहकार्य गर्ने प्रचुर सम्भावना रहेको उनले औँल्याए ।
अवसरले मात्र लगानीकर्तालाई आकर्षित गर्न नसक्ने भन्दै उनले लगानीकर्तालाई आवश्यकपर्ने आत्मविश्वास, नीतिगत स्थिरता र पारदर्शीताका क्षेत्रमा वर्तमान सरकारले काम गरिरहेको जानकारी गराए ।
“व्यावसायिक समुदायले उठाउँदै आएका दोहोरो कर प्रणाली, कर नीतिमा पूर्वानुमानयोग्यता, नाफा फिर्ता लैजाने प्रक्रिया, बौद्धिक सम्पत्तिको सुरक्षा र निर्यात सहजीकरणका विषय विचारणीय रहेका छन्, यसलाई सरकारले स्वीकार गरेको छ”, उनले भने ।
नेपालका लागि बेलायतका राजदूत रब फेनले बेलायत र नेपाल २०४ देखिका साझेदार भएको उल्लेख गर्दै दुई देशबीचको सम्बन्ध निरन्तर विस्तार हुँदै गइरहेको बताए ।
नेपाल–ब्रिटेन चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीका सभापति रोशन राठीले नेपाल र बेलायतबीच ‘दोहोरो कर मुक्ति सम्झौता’ गर्न सकिएमा द्विपक्षीय व्यापार र लगानीका लागि आधार तयार हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?