Butwal Today

सरकारका गतिविधिप्रति पूर्वमन्त्री वर्षमान पुनको असन्तुष्टि

१० मंसिर २०८३, बिहीबार
अ
अ+
अ-

लिवाङ रोल्पा ।

पूर्वअर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य वर्षमान पुनले वर्तमान सरकारका गतिविधिप्रति असन्तुष्टि व्यक्त गर्दै सरकार लोकप्रियता हासिल गर्ने नाममा नागरिकका वास्तविक समस्याबाट टाढिएको आरोप लगाएका छन् ।

नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा रोल्पाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सरकारको कार्यशैली, प्रधानमन्त्रीको भारत भ्रमण, प्रेस स्वतन्त्रता, विकास निर्माण तथा निर्वाचनलगायतका विषयमा आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा रोल्पाका अध्यक्ष खुविना सुनारी मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वअर्थमन्त्री पुनले सरकारले पछिल्लो समय गरिरहेका गतिविधिहरू उचित नभएको टिप्पणी गरेका छन् । उनले लोकप्रियता हासिल गर्न विभिन्न अभिव्यक्ति दिने तर जिम्मेवारीपूर्ण पदमा पुगेपछि उठाउनुपर्ने महत्त्वपूर्ण विषयमा मौन बस्ने प्रवृत्ति देखिएको आरोप लगाए ।

उनले प्रधानमन्त्री बालेन्द्र शाह महानगरपालिकाको प्रमुख हुँदा विभिन्न विषयमा आक्रामक रूपमा आवाज उठाउने र जनताको ध्यान आकर्षित गर्ने गरेको भए पनि अहिले प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेपछि ती विषयमा अपेक्षाअनुसार पहल नगरेको दाबी गरेका छन् । विशेषगरी राष्ट्रिय स्वाधीनता र सीमासम्बन्धी मुद्दामा सरकारको भूमिका प्रभावकारी हुनुपर्ने उनको भनाइ छ ।

पत्रकार तथा नागरिकले सरकारका गतिविधिमाथि प्रश्न उठाउँदा त्यसलाई सहज रूपमा ग्रहण गर्नुपर्नेमा प्रहरी परिचालन गरेर नियन्त्रण गर्ने, घेराबन्दी गर्ने र सञ्चारकर्मीलाई दबाबमा राख्ने गतिविधि भइरहेको आरोपसमेत उनले लगाए । लोकतान्त्रिक व्यवस्थामा आलोचना र प्रश्न गर्ने अधिकार सुरक्षित हुनुपर्ने उल्लेख गर्दै उनले प्रेस स्वतन्त्रतामाथि कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने धारणा राखेका छन् ।

प्रधानमन्त्रीको भारत भ्रमणका सन्दर्भमा पनि पुनले प्रश्न उठाएका छन् । नेपालका लिपुलेक, कालापानी र लिम्पियाधुरालगायतका सीमासम्बन्धी संवेदनशील विषयमा स्पष्ट धारणा राख्नुपर्ने अवस्थामा प्रधानमन्त्रीले पर्याप्त रूपमा विषय उठाउन नसकेको उनको आरोप छ । विगतमा भारतीय पक्षसँगको सम्बन्ध र स्वागतका विषयमा फरक धारणा प्रस्तुत गर्ने व्यक्तिले अहिले भारत भ्रमणका क्रममा देखाएको व्यवहारमा विरोधाभास देखिएको उनले टिप्पणी गरेका छन् । राष्ट्रिय हितसँग जोडिएका मुद्दामा भ्रमणका क्रममा स्पष्ट रूपमा नेपालको अडान राख्नुपर्ने उनको भनाइ छ ।

यसैगरी, जनताको आर्थिक अवस्था, गरिबी, बेरोजगारी र आधारभूत आवश्यकताका विषयमा सरकारले गम्भीर ध्यान दिनुपर्ने उनले बताएका छन् । राजनीतिक लोकप्रियताभन्दा नागरिकको जीवनस्तर सुधार गर्ने कामलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिएका छन् ।

कार्यक्रममा पुनले लुम्बिनी क्षेत्रको हवाई रुट तथा त्यससँग सम्बन्धित विषयमा पनि आफूले चासो राखिरहेको जानकारी दिएका छन् । विकास, पूर्वाधार र हवाई सेवाको विस्तारले यस क्षेत्रको आर्थिक तथा पर्यटन गतिविधिमा सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ ।

स्थानीय तहको निर्वाचनका विषयमा धारणा राख्दै उनले आगामी वैशाख महिनाभित्र निर्वाचन सम्पन्न गर्न सकिए सहज हुने बताएका छन् । प्रदेश तहको निर्वाचन स्थानीय निर्वाचनसँगै गर्ने वा छुट्टै समयमा गर्ने भन्ने विषय संविधान र प्रचलित कानुनी व्यवस्थाअनुसार टुङ्ग्याउनुपर्ने उनले उल्लेख गरे । निर्वाचनसम्बन्धी निर्णय गर्दा संवैधानिक प्रावधानलाई आधार बनाउनुपर्ने र त्यसका लागि आफ्नो दलले आवश्यक दबाब दिइरहेको उनले बताएका छन् ।

नेपाली कम्युनिस्ट पार्टीले सुरु गरेको जनतासँग जागरण अभियानअन्तर्गत आफू रोल्पा आएको पुनले स्पष्ट पारेका छन् । अभियानको उद्देश्य गाउँबस्तीमा पुगेर नागरिकका समस्या, आवश्यकता र विकास निर्माणका सवाल बुझ्नु रहेको उनले बताए । यसै क्रममा रोल्पाका विभिन्न स्थानीय तह तथा आफ्नो निर्वाचन क्षेत्रका बस्तीहरूमा पुगेर स्थानीयसँग छलफल गर्ने र उनीहरूका गुनासा तथा सुझाव सङ्कलन गरिरहेको उनको भनाइ छ ।

आफू अर्थमन्त्री भएका बेला रोल्पाका विभिन्न स्थानमा निर्माण गरिने ३५ वटा पुलका लागि बजेट विनियोजन गरेको स्मरण गर्दै उनले त्यसपछिका सरकारहरूले उक्त बजेट कटौती गरेको आरोप लगाएका छन् । विकासका लागि छुट्याइएको रकम कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै उनले रोकिएका तथा अधुरा आयोजनालाई अघि बढाउन सम्बन्धित निकायसँग पहल आवश्यक रहेको बताएका छन् ।

रोल्पाको सहिद मार्गमा विगतको तुलनामा केही सुधार आएको उल्लेख गर्दै उनले सडकलाई थप व्यवस्थित र स्तरोन्नति गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । आफ्नो निर्वाचन क्षेत्रभित्र पर्ने भएकाले सङ्घीय तथा प्रदेश सरकारसँग आवश्यक बजेट माग गर्ने, निर्माण व्यवसायीलाई काममा तीव्रता दिन दबाब दिने र सडक आयोजनाको प्रगति बढाउन निरन्तर पहल गरिरहेको उनले जानकारी दिएका छन् ।

त्यसैगरी, रोल्पाका १० वटै स्थानीय तहमा विकास निर्माणका लागि एक अर्ब ५० करोड रुपैयाँभन्दा बढी बजेट रहेको उनले बताएका छन् । उपलब्ध बजेटको प्रभावकारी कार्यान्वयन हुन सके जिल्लाको समग्र विकासमा महत्त्वपूर्ण योगदान पुग्ने उनको धारणा छ । सहिद मार्गमा केही प्रगति देखिए पनि सडक तथा अन्य पूर्वाधारका कामलाई थप गति दिनुपर्ने उनले बताएका छन् ।

कार्यक्रममा सहभागी पत्रकारहरूले प्रधानमन्त्रीको भारत भ्रमण, लिपुलेक तथा कालापानीको विषय, पत्रकारमाथि हुने गिरफ्तारी र सञ्चारमाध्यममाथिको हस्तक्षेपबारे नेपाली कम्युनिस्ट पार्टीको धारणा माग गरेका थिए । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा रोल्पाका निवर्तमान अध्यक्ष नवीन लोचनले प्रधानमन्त्रीले विगतमा उठाउँदै आएका सीमा तथा राष्ट्रियतासम्बन्धी सवाल अहिले भारत भ्रमणका क्रममा किन प्रभावकारी रूपमा उठाउन नसकेको भन्ने विषयमा पुनसँग जिज्ञासा राखेका थिए ।

त्यसैगरी, महासङ्घका पूर्वअध्यक्ष मानसिंह विकले स्थानीय तह र प्रदेश निर्वाचनको सम्भावित समयतालिका तथा नयाँ सरकारले गरेका कामप्रति दलको दृष्टिकोणबारे प्रश्न गरेका थिए । उनले पछिल्लो राजनीतिक परिस्थितिमा लोकप्रियताको विषयले पारेको प्रभावबारे पनि जिज्ञासा राखेका थिए ।

सामुदायिक रेडियो जलजलामा कार्यरत पत्रकार वीरेन्द्र गिरीले रोल्पा नगरपालिका–१० मा अझै विद्युत् सेवा नपुगेको समस्या उठाएका थिए । साथै, पुवाङ, लुङ्ग्रीलगायतका विभिन्न क्षेत्रमा यातायात र सञ्चार सेवाको पहुँच कमजोर रहेको उल्लेख गर्दै ती समस्या समाधानका लागि पुनले गरेको पहल र आगामी योजनाबारे प्रश्न गरेका थिए ।

कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य हरिप्रसाद घर्ती, जिल्ला समन्वय समिति रोल्पाका उपप्रमुख कर्मलाल परियारलगायतको उपस्थिति रहेको थियो । पत्रकार भेटघाटका क्रममा जिल्लाको विकास, नागरिकका आधारभूत आवश्यकता, राजनीतिक गतिविधि, राष्ट्रिय स्वाधीनता र सञ्चार क्षेत्रका चुनौतीबारे छलफल भएको थियो ।

पत्रकारहरूसँगको अन्तरक्रियामा पुनले जनताका वास्तविक समस्या पहिचान गरेर समाधानका लागि पहल गर्ने उद्देश्यले जागरण अभियान सञ्चालन गरिएको दोहोर्‍याएका छन् । जिल्लाका विभिन्न क्षेत्रमा पुगेर सङ्कलन गरिएका समस्या सम्बन्धित सरकारी निकायसम्म पुर्‍याउने र विकास निर्माणका कामलाई अघि बढाउन आफूले निरन्तर भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?