© 2026
नवलपरासी ।
पूर्व–पश्चिम राजमार्गमा हुने सडक दुर्घटनाका घाइतेलाई तत्काल उपचार सेवा उपलब्ध गराउने उद्देश्यले नवलपरासीको बर्दघाट नगरपालिका–२ चिसापानीमा निर्माण सुरु गरिएको ट्रमा सेन्टर अलपत्र परेको छ । दुई वर्षभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखिएको आयोजना लामो समय बितिसक्दा पनि पूरा हुन सकेको छैन । तर, निर्माणाधीन ट्रमा सेन्टरका लागि जग्गा भाडामा लिएको नगरपालिकाले भने वार्षिक ६ लाख रूपैयाँका दरले भाडा तिर्दै आएको छ ।
अस्पताल निर्माण सम्पन्न भएर सेवा सञ्चालनमा आउने टुंगो नलाग्दै नगरपालिकाले जग्गा भाडाबापत करिब २५ लाख रूपैयाँ खर्च गरिसकेको छ । आयोजना कहिले सम्पन्न हुन्छ र नागरिकले कहिलेदेखि सेवा पाउँछन् भन्ने अनिश्चितताबीच नगरपालिकाको सार्वजनिक स्रोतबाट भइरहेको खर्चको औचित्यमाथि समेत प्रश्न उठ्न थालेको छ ।
राष्ट्रिय आवास कम्पनीको स्वामित्वमा रहेको बर्दघाट नगरपालिका–२ चिसापानीस्थित एक बिघा १० कठ्ठा जग्गा ४० वर्षका लागि भाडामा लिएर ट्रमा सेन्टर निर्माण सुरु गरिएको हो । आर्थिक वर्ष २०७९÷८० मा संघीय सरकारले आयोजनाका लागि चार करोड रूपैयाँ बजेट विनियोजन गरेको थियो । त्यसपछि निर्माण प्रक्रिया अघि बढाइएको भए पनि निर्धारित अवधिमा काम सम्पन्न हुन सकेन ।
बर्दघाट नगरपालिकाका उपप्रमुख रुद्रप्रकाश उपाध्यायले ट्रमा सेन्टर निर्माण सम्पन्न भएर सञ्चालनमा आउने विषय अझै अनिश्चित रहेको बताए । उनका अनुसार भवन निर्माणको काम पूरा नहुँदै नगरपालिकाले जग्गा भाडाबापत ठूलो रकम खर्च गरिसकेको छ ।
“ट्रमा सेन्टर निर्माण सम्पन्न भएर सञ्चालनमा आउने कहिले हो भन्ने अझै टुंगो छैन । निर्माण भएर प्रयोगमा नआउँदै नगरपालिकाले जग्गाधनीलाई करिब २५ लाख रूपैयाँ भाडा दिइसकेको छ,” उपप्रमुख उपाध्यायले भने, “भाडा तिर्ने विषयमा नगरसभाबाट निर्णय भएको छैन । कार्यपालिकाको बहुमतको निर्णयका आधारमा भुक्तानी हुँदै आएको छ । ट्रमा सेन्टर नै अलपत्र पर्ने हो भने नगरपालिकाले गरेको खर्चको औचित्यमाथि प्रश्न उठ्छ ।”
सरकारी बजेटबाट निर्माण भइरहेको संरचनाका लागि अर्को सरकारी निकायको स्वामित्वमा रहेको जग्गा भाडामा लिएर स्थानीय तहले रकम तिर्नुपर्ने व्यवस्थाको औचित्य र कानुनी आधारबारे पनि उपप्रमुख उपाध्यायले प्रश्न उठाउँदै आएका छन् ।
यता निर्माण व्यवसायीले भने ट्रमा सेन्टरको अधिकांश निर्माण कार्य सम्पन्न भएको दाबी गरेको छ । निर्माणको जिम्मा पाएको एक्सिस एसियन कन्स्ट्रक्सन कम्पनीका ठेकेदार सन्दीप महतोले भवनको फिनिसिङको काम मात्र बाँकी रहेको बताए । निर्माण सम्झौताको म्याद अझै बाँकी रहेकाले तोकिएको अवधिभित्र काम सम्पन्न गरी सम्बन्धित निकायलाई हस्तान्तरण गर्ने उनको भनाइ छ ।
“ट्रमा सेन्टरको फिनिसिङको काम मात्र बाँकी छ । निर्माण गर्ने म्याद पनि बाँकी रहेकाले म्यादभित्रै काम सम्पन्न गरेर सम्बन्धित निकायलाई हस्तान्तरण गर्छौं,” महतोले भने ।
तर, भवन निर्माणको काम सम्पन्न हुनु मात्रै ट्रमा सेन्टर सञ्चालनका लागि पर्याप्त हुँदैन । भवन हस्तान्तरणसँगै आवश्यक स्वास्थ्य उपकरण, जनशक्ति, उपचार सेवा र सञ्चालनको जिम्मेवारीसमेत सुनिश्चित हुनुपर्नेछ । त्यसका लागि आवश्यक बजेट तथा व्यवस्थापनको तयारीबारे भने स्पष्ट योजना सार्वजनिक भएको छैन ।
नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ का सांसद विक्रम खनालले निर्माण व्यवसायीलाई भुक्तानी दिन सरकारले पर्याप्त बजेट उपलब्ध गराउन नसक्दा निर्माण कार्यमा ढिलाइ भएको बताए । उनका अनुसार अहिले सरकारले बजेट उपलब्ध गराउने अवस्था रहेकाले निर्माण व्यवसायीले बाँकी काम समयमै सम्पन्न गर्नुपर्नेछ ।
“ठेकेदारलाई भुक्तानी दिन सरकारसँग बजेट नभएर काम समयमा हुन सकेन । अहिले सरकारसँग पर्याप्त बजेट छ । अब ठेकेदारले समयमै काम सम्पन्न गर्नेछन्,” सांसद खनालले भने ।
राष्ट्रिय आवास कम्पनीका महाप्रबन्धक रामकृष्ण निरौलाले नगरपालिकालाई वार्षिक ६ लाख रूपैयाँका दरले जग्गा भाडामा उपलब्ध गराइएको बताए । उक्त जग्गामा ट्रमा सेन्टर निर्माण गरी नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य रहेको उनको भनाइ छ ।
निरौलाका अनुसार राष्ट्रिय आवास कम्पनीको मुख्य उद्देश्य आवासविहीन तथा भूमिहीन नागरिकका लागि जग्गा र आवासको व्यवस्थापन गर्नु हो । साविकको ग्रामीण आवास कम्पनीको नाम परिवर्तन गरी राष्ट्रिय आवास कम्पनी बनाइएको हो । कम्पनीले सरकारी जग्गाको व्यवस्थापन तथा भाडासम्बन्धी प्रक्रिया अघि बढाउने गरेको उनले बताए ।
ट्रमा सेन्टर निर्माणको विषय भने सुरुदेखि नै राजनीतिक चासो र प्रचारको विषयसमेत बनेको थियो । पूर्वमन्त्री हृदयेश त्रिपाठी तथा तत्कालीन सांसद निकट राजनीतिक कार्यकर्ताबीच यसको निर्माणको पहल र जस लिने विषयमा प्रतिस्पर्धा देखिएको थियो । तर, अहिले निर्माण कार्य अधुरो रहँदा आयोजना पूरा गर्ने र सञ्चालनमा ल्याउने विषयमा राजनीतिक तथा संस्थागत सक्रियता कमजोर देखिएको स्थानीयको गुनासो छ ।
ट्रमा सेन्टर सञ्चालनमा आए बर्दघाटसहित आसपासका क्षेत्रका नागरिकलाई दुर्घटना तथा आकस्मिक स्वास्थ्य समस्यामा उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको थियो । विशेषगरी पूर्व–पश्चिम राजमार्गमा हुने दुर्घटनाका घाइतेलाई तत्काल उपचार उपलब्ध गराउने उद्देश्यले अघि सारिएको आयोजना अधुरै रहँदा स्थानीयको अपेक्षा पूरा हुन सकेको छैन ।
सरकारी बजेटबाट निर्माण भइरहेको संरचना, नगरपालिकाले तिर्दै आएको जग्गा भाडा र सञ्चालनका लागि आवश्यक पूर्वाधारको अनिश्चितताले ट्रमा सेन्टरको भविष्य अन्योलमा परेको छ । अब निर्माणको बाँकी काम कहिले सकिन्छ, अस्पताल सञ्चालनको जिम्मेवारी कसले लिन्छ र त्यसका लागि आवश्यक बजेट तथा जनशक्तिको व्यवस्था कसरी हुन्छ भन्ने प्रश्नको जवाफ सम्बन्धित निकायले दिनुपर्ने देखिन्छ ।