Butwal Today

१६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान विशेष

घर चलाउने महिलाको श्रमको मूल्य खोइ ?
९ मंसिर २०८३, बुधबार
अ
अ+
अ-

काठमाडौं, ।
बिहानको पाँच बजेको छ । गाउँका अधिकांश मानिस निद्रामै छन् । तर, ३६ वर्षीया सरिता क्षेत्रीको दिन सुरु भइसकेको हुन्छ । उनी सबैभन्दा पहिले चुलो बाल्छिन् । परिवारका सदस्यका लागि चिया बनाउँछिन् । त्यसपछि बिहानको खाना, छोराछोरीको खाजा तयार पार्ने, घर सफा गर्ने र लुगा धुने काममा व्यस्त हुन्छिन् ।
श्रीमान् काममा निस्किएपछि छोराछोरीलाई विद्यालय पठाउँछिन् । त्यसपछि बारीमा पुगेर तरकारी गोडमेल गर्छिन् । गाईबस्तुलाई घाँसपात गर्छिन् । दिउँसो घर फर्किएर खाना बनाउँछिन् । साँझ फेरि भान्साकै काममा जुट्छिन् । परिवारका सबै सदस्य खाना खाएर आराम गर्न थाल्दा उनको हातमा भोलिको तयारी बाँकी नै हुन्छ ।
दिनभरि घर र खेतबारीको काममा खटिने सरितालाई आफ्नो लागि छुट्टै समय निकाल्न मुस्किल छ । आफ्नो समयबारे सोध्दा उनी भन्छिन्, “आफ्नो लागि भनेर छुट्टै समय कहाँ हुन्छ र ? घरको काम सकिए पो आफ्नो लागि सोच्नु !”
सरिताको दैनिकी कुनै अपवाद होइन । ग्रामीण नेपाली समाजका हजारौँ महिलाको जीवन यसरी नै बितिरहेको छ । बिहानदेखि रातिसम्म परिवारको आवश्यकता पूरा गर्न खटिने उनीहरूको श्रमले घरपरिवारको जीवन सहज बनाएको छ । तर, त्यही श्रमको न आर्थिक मूल्याङ्कन हुन्छ, न सामाजिक पहिचान ।
घरको कामलाई महिलाको स्वाभाविक जिम्मेवारी ठान्ने सामाजिक सोचका कारण उनीहरूले गर्ने श्रम अदृश्यजस्तै बनेको छ । खाना पकाउने, भाँडा माझ्ने, लुगा धुने, बालबालिका हुर्काउने, बिरामी र ज्येष्ठ नागरिकको हेरचाह गर्ने तथा घरपरिवारको व्यवस्थापन गर्ने कामलाई उत्पादनशील श्रमका रूपमा गणना गरिँदैन ।
तर, यिनै काम कुनै होटल, बाल हेरचाह केन्द्र वा ज्येष्ठ नागरिक सेवा केन्द्रमा गरिए त्यसको मूल्य तोकिन्छ । काम गर्ने व्यक्तिले पारिश्रमिक पाउँछ । आफ्नै परिवारका लागि महिलाले दिनभरि त्यही काम गर्दा भने त्यसको आर्थिक मूल्यबारे चर्चा हुँदैन ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को नेपालसम्बन्धी विश्लेषणअनुसार देशमा हुने दैनिक अवैतनिक हेरचाहको काममध्ये करिब ८५ प्रतिशत जिम्मेवारी महिलाले वहन गर्छन् । महिलाले सामूहिक रूपमा दैनिक करिब दुई करोड ९० लाख घण्टा यस्तो काममा खर्च गर्छन् भने पुरुषको योगदान करिब ५० लाख घण्टा छ ।
यसअनुसार महिलाले पुरुषको तुलनामा करिब छ गुणा बढी समय पारिश्रमिक नपाउने हेरचाहको काममा खर्च गरिरहेका छन् । यसले घरभित्रको श्रम विभाजनमा रहेको लैङ्गिक असमानताको अवस्था स्पष्ट पार्छ ।
घरको काम महिलाले नै गर्नुपर्छ भन्ने मान्यता अझै समाजमा बलियो छ । पुरुषले भान्सामा खाना पकाउँदा वा घर सफा गर्दा सहयोग गरेको भनिन्छ । तर महिलाले दिनभरि त्यही काम गर्दा आफ्नो कर्तव्य पूरा गरेको ठानिन्छ ।
कतिपय महिलाले घरभित्रको जिम्मेवारीसँगै खेतीपाती, पशुपालन र बाहिरको रोजगारीसमेत सम्हालिरहेका छन् । उनीहरूको दिनमा कामका दुईवटा पाली हुन्छन् । एउटा घरबाहिरको र अर्को घरभित्रको । बाहिरको कामबाट आम्दानी भए पनि घरभित्रको जिम्मेवारी भने उनीहरूकै काँधमा रहन्छ ।
यसको असर महिलाको व्यक्तिगत जीवनमा समेत परेको छ । घरको जिम्मेवारीका कारण पढाइ, सीप विकास, रोजगारी र व्यवसाय सञ्चालन गर्ने अवसरबाट उनीहरू वञ्चित हुनुपर्ने अवस्था छ । कसैले विवाहपछि पढाइ छाड्नुपरेको छ भने कसैले सन्तान हुर्काउन जागिर त्याग्नुपरेको छ । परिवारका बिरामी वा ज्येष्ठ नागरिकको हेरचाह गर्नुपर्ने बाध्यताले पनि धेरै महिलाको रोजगारी र आर्थिक अवसर सीमित बनाएको छ ।
आफ्नै आम्दानी नहुँदा सामान्य व्यक्तिगत आवश्यकताका लागि समेत परिवारका अन्य सदस्यमा निर्भर हुनुपर्ने अवस्था आउँछ । आर्थिक निर्भरताले महिलाको निर्णय गर्ने क्षमता कमजोर बनाउनुका साथै अपमानजनक वा हिंसापूर्ण सम्बन्धबाट बाहिर निस्कने विकल्पसमेत सीमित पार्न सक्छ ।
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गरिन्छ । नेपाल सरकारले यस वर्ष ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता ः पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने राष्ट्रिय नारा तय गरेको छ ।
अभियानमा महिला तथा बालिकामाथि हुने शारीरिक, मानसिक, यौनजन्य र आर्थिक हिंसाविरुद्ध विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन् । तर, महिलाले घरभित्र भोगिरहेको असमान श्रम विभाजन र त्यसले उनीहरूको आर्थिक तथा सामाजिक जीवनमा पारेको प्रभाव पनि बहसको महत्त्वपूर्ण विषय हो ।
घरको सबै काम महिलाले नै गर्नुपर्छ भन्ने मान्यता, बाहिर काम गर्न खोज्दा अवरोध गर्ने व्यवहार, आफ्नो आम्दानी खर्च गर्ने स्वतन्त्रता नदिनु र पारिवारिक निर्णय प्रक्रियाबाट टाढा राख्नुले महिलाको स्वतन्त्रता कमजोर बनाउँछ ।
घरभित्रको हरेक असमान श्रम विभाजनलाई स्वतः हिंसा भन्न मिल्दैन । तर महिलाको इच्छा, स्वास्थ्य, समय र अवसरलाई बेवास्ता गर्दै उनीहरूमाथि एकतर्फी जिम्मेवारी थोपरिँदा असमान र निर्भर सम्बन्ध बलियो बन्न सक्छ । त्यसैले लैङ्गिक हिंसाविरुद्धको अभियानलाई घरभित्रको समानता र सम्मानसँग पनि जोड्न आवश्यक देखिन्छ ।
नीतिमा चर्चा, कार्यान्वयनमा चुनौती
नेपालमा घरभित्रको हेरचाह र घरेलु श्रमलाई आर्थिक तथा नीतिगत विषयका रूपमा सम्बोधन गर्ने प्रयास पछिल्ला वर्षमा अघि बढेको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सन् २०२५ को वार्षिक प्रतिवेदनअनुसार मधेश, कर्णाली र सुदूरपश्चिमका ३२ स्थानीय तहमा हेरचाहसम्बन्धी आवश्यकता, सेवा र नीतिको अध्ययन गरिएको छ । वीरगन्ज, सुर्खेत र धनगढीमा कार्यस्थलमा आधारित हेरचाह केन्द्रसमेत सञ्चालनमा ल्याइएको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, सन् २०२६ अक्टोबर ३० र ३१ मा राष्ट्रिय योजना आयोग र युवा, श्रम तथा रोजगार मन्त्रालयको नेतृत्वमा आईएलओ र यूएन वुमनको सहयोगमा राष्ट्रिय रोजगारी नीति तथा राष्ट्रिय हेरचाह अर्थतन्त्र प्रवद्र्धन नीतिसम्बन्धी छलफल भएको थियो । ती नीतिको मस्यौदा प्रक्रिया अघि बढाउने र आगामी सय कार्यदिनभित्र अन्तिम रूप दिने लक्ष्य राखिएको आईएलओले जनाएको छ ।
नीति निर्माणको यो प्रयासलाई सकारात्मक मानिए पनि घरभित्रको अवैतनिक श्रमको भार घटाउने र महिलाको सामाजिक सुरक्षासँग जोड्ने विषय अझै चुनौतीपूर्ण छ । बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा बिरामीको हेरचाहका लागि सुलभ सेवा र सामुदायिक केन्द्र विस्तार गर्न आवश्यक छ । त्यस्तै, महिलाको समय बचत गर्ने खानेपानी, स्वास्थ्य सेवा र सुरक्षित सार्वजनिक यातायातजस्ता पूर्वाधारमा लगानी बढाउनुपर्ने देखिन्छ ।
नेपालको संविधानको धारा ५१ (ञ)(४) मा बालबालिकाको पालनपोषण र परिवारको हेरचाहजस्ता काम तथा योगदानको आर्थिक मूल्याङ्कन गर्ने राज्यको नीति उल्लेख छ । यसले घरभित्रको श्रमलाई पनि आर्थिक योगदानका रूपमा स्वीकार गरेको छ ।
तर, संवैधानिक प्रतिबद्धताअनुसार महिलाले गर्ने अवैतनिक श्रमको मूल्याङ्कन र सामाजिक सुरक्षाको व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन । सामाजिक सुरक्षा ऐन, २०७४ ले अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुने आधार दिएको छ । तर परिवारका लागि पारिश्रमिक नलिई काम गर्ने गृहिणी स्वतः सामाजिक सुरक्षा कोषमा आबद्ध हुने व्यवस्था छैन ।
यसले जीवनभर परिवारको हेरचाहमा समय खर्चिएका महिलाको वृद्धावस्थाको सुरक्षामाथि प्रश्न उठाएको छ । घरपरिवारका लागि श्रम गर्ने क्रममा आफ्नै आम्दानी र सामाजिक सुरक्षाको आधार बनाउन नसकेका महिलाले बुढेसकालमा उपचार र दैनिक खर्चका लागि अरूको भर पर्नुपर्ने अवस्था आउन सक्छ ।


घरको काम साझा जिम्मेवारी
घरभित्रको श्रमको भार घटाउने पहिलो जिम्मेवारी परिवारबाटै सुरु हुनुपर्छ । खाना पकाउने, सरसफाइ गर्ने, बालबालिकाको हेरचाह गर्ने र घर व्यवस्थापन गर्ने काम परिवारका सबै सदस्यको साझा जिम्मेवारीका रूपमा स्थापित हुनुपर्छ । पुरुषले घरको काममा सहयोग गरेको नभई आफ्नो जिम्मेवारी पूरा गरेको बुझ्ने सामाजिक संस्कार विकास गर्न आवश्यक छ ।
स्थानीय सरकारले सामुदायिक बाल हेरचाह केन्द्र, ज्येष्ठ नागरिक सेवा केन्द्र र अन्य हेरचाह सेवा विस्तार गर्न सक्छन् । त्यस्तै, महिलाको सीप विकास, रोजगारी र उद्यमशीलताका अवसर बढाउन आवश्यक छ । घरको जिम्मेवारीकै कारण महिलाले आफ्नो क्षमता र सम्भावना उपयोग गर्न नपाउने अवस्था अन्त्य गर्न राज्यले नीतिगत तथा व्यावहारिक पहल गर्नुपर्छ । महिलाको अवैतनिक श्रमको नियमित तथ्याङ्क सङ्कलन, आर्थिक मूल्याङ्कन र सामाजिक सुरक्षामा पहुँच विस्तार पनि उत्तिकै आवश्यक छ । विशेषगरी जीवनभर पारिश्रमिक नलिई घरपरिवारको हेरचाहमा समय बिताएका महिलाको वृद्धावस्थाको सुरक्षाका लागि स्पष्ट नीति र कार्यक्रम आवश्यक देखिन्छ ।
१६ दिने अभियानका क्रममा महिला हिंसाविरुद्ध प्रतिबद्धता व्यक्त गरिरहँदा घरभित्रको श्रमको सम्मान र जिम्मेवारी बाँडफाँटलाई पनि प्राथमिकता दिनुपर्ने सरिताको दैनिकीले देखाउँछ । परिवारका सबै सदस्यको दिन सकिएपछि पनि भान्सामा काम गरिरहेकी महिलाको श्रमलाई कर्तव्यका रूपमा मात्र होइन, परिवार र समाजको अर्थतन्त्रमा रहेको योगदानका रूपमा स्वीकार गर्नुपर्ने समय आएको छ ।
किनकि घर चलाउने महिलाको श्रमको सम्मान हुनु भनेको उनको समय, स्वतन्त्रता र भविष्यको पनि सम्मान हुनु हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?