© 2026
पाल्पा ।
अहिलेको युवा पुस्तालाई थाहा छैन होला– कुनै दिन तानसेनको सित्तलपार्टी युवा युवतीको विवाहको कुरा छिन्ने ऐतिहासिक स्थल थियो । अहिलेको जस्तो मोबाइल थिएन, गाउँ गाउँबाट आउनेहरु सम्पर्क हुने स्थान यही सितलपाटी हुन्थ्यो । विवाहका लागि केटा केटी देखाउनेदेखि कुरा छिन्ने काम पनि यहीँबाट हुन्थ्यो ।
पाल्पाको जिल्ला सदरमुकाम तानसेनको बीचमा अवस्थित यो सित्तलपाटीको इतिहास पनि शताब्दी लामो छ ।
सित्तलपाटी गोलोघरमा भएको सहमतिबाट किशोर किशोरीको अभिभावकले विवाहको पक्का पनि गर्ने गरेको पुराना पुस्ताको रोचक स्मरण छ ।
सडक संजालबाट सदरमुकाम तानसेन जोडिनु भन्दा पहिले ग्रामिण बस्तीबाट सदरमुकाम तानसेन पुगेका सबै उमेर समुहका बीच एक आपसमा भेट हुने मुख्य ठाउँ सित्तलपाटी थियो ।
सबैलाई जोडेको सित्तल पाटी समयको विकास र आधुनिकताको भीडमा अहिले आफै हराएको छ ।

स्थानीय बुढापाका भन्छन– आज सित्तलपाटी एक्लिएको छ ।
एक आपसमा भेट भएर सित्तल हावासंगै सुखदुःख साटासाट गराउने सित्तलपाटी तानसेन बजारको रमझम हराएसंगै यो पनि सुनसान भएको छ ।
पहिले पहिले एउटा गाउँदेखि अर्को गाउँका मानिस भेटिनुपरे यही सित्तलपार्टी आउने चलन थियो । अहिले संचारको विपकासका कारण पहिलेको परम्परा हराएको स्थानिय राजेन्द्रगोपाल सिंह बताउँछन् ।
राणाकालीन समयमा निर्मित यो संरचना बजारको बीच भागमा रहेको छ । सित्तलपार्टीको निर्माण खड्क शमशेरले रानीमहल भन्दा पहिले गराएको इतिहास छ । यहीँबाट शासकहरुले जिल्लाबासीको नाममा सम्बोधन गर्थे । यहीँबाट सरकारी अड्डाको काम हुन्थ्यो ।
इतिहासका जानकार पुष्करराज रेग्मी सित्तलपाटी राणाकालीन समयको इतिहासको साक्षी बनेर उभिएको बताउँछन् ।
सय वर्ष भन्दा पुरानो इतिहास बोकेको सित्तलपाटीमा राणाकालीन समयका शासकहरुले बेलुका घण्टौं समय बिताउने गरेको इतिहास छ । पछिल्लोसमय यो ठाउँ भगवती रथयात्रादेखि अन्य अवसरमा फोटो खिच्ने ठाउँ मात्र बनेको छ । टाढा टाढाबाट पसिना पसिनै भएर बजार गर्न आएका बटुवा यहाँ बसेर सित्तल हावा खाँदै थकाई मेटेर गन्तब्य पुग्ने गर्थे ।
रम्भा गाउँपालिका ताहुँका दिलबहादुर कार्की भन्छन्– यही सित्तलपाटीको गोलोघरमा बसेर आफ्नो ससुरालीको जग्गाको किनबेच भएको हो । पहिले पहिले त यहाँ बसेर धेरै कुराको निर्णय हुन्थ्यो । प्रविधिको बिकास थिएन । एक आपसमा भेटघाट मात्र नभई केटाकेटी देखाउने पनि काम हुन्थ्यो ।

स्थानिय हलिमदिन मियाँ भन्छन– पञ्चायतकालीन समयमा स्थानिय सरकारको आर्य आर्जनका लागि यहाँ पसलपनि राखिएको थियो । माथिल्लो भागमा मम पसल थियो । त्यो समयमा यहाँको मम निकै प्रख्यात थियो । सरकारी कार्यालयका कर्मचारीले खाजा नास्ता खाने ठाउँ पनि थियो । तल श्रृंगारका पसल थियो ।
दरवार परिसरबाट मुल ढोका हुदै प्रवेश गरिने मुल ढोका पनि खड्क शमशेरले निर्माण गराएका हुन् । काठमाडौंबाट निर्वासित भएपछि यहाँ गर्भनर भएर आएका खड्क शमशेरले तानसेनलाई सुन्दर शहर निर्माण गर्ने उद्देश्यले सित्तल पाटी मुल ढोका सहित खड्क स्तम्भ समेत निर्माण गरेका थिए ।
शहरको केन्द्रको पहिचान बोकेको सित्तल पाटी मुगल शैलीको कलामा आधारित झट्ट हेर्दा किल्ला वा चेसको हात्ती जस्तो देखिन्छ भने आठवटा कोणमा रहेको बनेको छ ।
