© 2026
बुटवल ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सरकारी कार्यालयमा बिचौलियाको काम गर्ने ७ जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मंगलबार रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ स्थित यातायात व्यवस्था कार्यालयको परिसरमा सेवाग्राहीलाई प्रभावमा पारेर बिचौलियाको काम गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेहरूमा गुल्मीको मालिका गाउँपालिका–५ का २३ वर्षीय मनोज अर्याल, रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ का ४२ वर्षीय हेमप्रसाद भट्टराई, बुटवल उपमहानगरपालिका–१३ की ४३ वर्षीया लक्ष्मी खनाल, सोही वडाका ६२ वर्षीय खोमलाल भुसाल र ५४ वर्षीय क्रृषिराम खनाल, शुद्धोधन गाउँपालिका–९ का ३९ वर्षीय विजय क्षेत्री तथा पाल्पाको बगनासकाली गाउँपालिका–१ का ५३ वर्षीय प्रमोदभोज श्रेष्ठ रहेका छन् ।
उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
प्रहरीले सरकारी कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई अनावश्यक रूपमा बिचौलियाको सहारा नलिन तथा त्यस्ता गतिविधि देखिए प्रहरीलाई जानकारी गराउन आग्रह गरेको छ ।