Butwal Today

पूर्वअर्थमन्त्री वर्षमान पुनद्वारा सरकारको कार्यशैली, महँगी र विकास बजेटप्रति आलोचना

८ मंसिर २०८३, मंगलवार
अ
अ+
अ-

रोल्पा ।

पूर्वअर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य वर्षमान पुन ‘अनन्त’ले वर्तमान सरकारको कार्यशैली, विकास बजेट, महँगी, जनताको दैनिक समस्या र राज्यका निकायमाथि बढ्दो दबाबप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले लोकतन्त्रमा सरकार जनताप्रति उत्तरदायी हुनुपर्ने भन्दै सत्तामा रहेकाहरूले जनताका प्रश्नको जवाफ दिन सक्नुपर्ने बताएका छन् ।

पुनले लोकतन्त्रको मूल मर्म भनेकै जनताले सरकारसँग प्रश्न गर्ने र सरकारले त्यसको जवाफ दिने व्यवस्था भएको उल्लेख गर्दै अहिले सरकारको भूमिकामाथि नागरिकले प्रश्न उठाउनुपर्ने अवस्था आएको बताए । सरकार गठन भएको लामो समय बितिसक्दा पनि जनताका अपेक्षाअनुसार काम हुन नसकेको उनको भनाइ छ ।

विगतका सरकारको तुलनामा अहिले विकास खर्चको अवस्था कमजोर रहेको र बजेट विनियोजनसमेत घटेको देखिएको भन्दै उनले विकास निर्माणका काम प्रभावित हुन सक्ने चिन्ता व्यक्त गरे । उनका अनुसार देशको आर्थिक तथा विकास गतिविधिलाई गति दिनुपर्ने समयमा बजेट र खर्चको अवस्था अपेक्षाकृत हुन सकेको छैन ।

दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दै गएको र सर्वसाधारणले महँगीको मार खेप्नुपरेको पुनले बताए । विगतमा तुलनात्मक रूपमा कम मूल्यमा पाइने वस्तु अहिले महँगिँदै गएको उल्लेख गर्दै उनले जनताको जीवनयापन सहज बनाउन सरकारले प्रभावकारी कदम चाल्न नसकेको आरोप लगाए । बजारमा ग्यासको अभाव देखिनु तथा काठमाडौंमै उपभोक्ताले लामो समय लाइनमा बस्नुपर्ने अवस्थाले सरकारको व्यवस्थापनमाथि प्रश्न उठाएको उनले बताए ।

वर्तमान सरकारले जनताका गुनासा सुन्ने र समस्या समाधान गर्नेभन्दा आफ्नो प्राथमिकताका काममा मात्रै ध्यान केन्द्रित गरेको पुनको आरोप छ । जनताले भोगिरहेका समस्यालाई सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्ने भए पनि त्यसतर्फ पर्याप्त पहल नभएको उनले बताए ।

राज्यका प्रशासनिक निकाय, प्रहरी, पत्रकार तथा अन्य क्षेत्रसमेत सरकारको व्यवहारका कारण त्रसित हुन थालेको दाबी गर्दै पुनले यस्तो परिस्थिति लोकतान्त्रिक शासन व्यवस्थाका लागि उचित नभएको धारणा राखे । उनका अनुसार प्रहरीलाई उजुरी प्राप्त भएपछि स्वतन्त्र रूपमा अनुसन्धान गर्ने र आवश्यक प्रक्रिया अघि बढाउने वातावरण हुनुपर्छ । तर, अनुसन्धान तथा प्रहरीको कार्यसम्पादनमा हस्तक्षेप भइरहेको उनको आरोप छ ।

प्रधानमन्त्रीका सल्लाहकार तथा सरकारसँग निकट व्यक्तिहरूबाट विभिन्न व्यक्तिलाई धम्की दिने र फोन सम्पर्कसमेत सहज रूपमा नहुने गरेको उनले बताए । सांसदहरूले समेत समयमै सम्पर्क गर्न नसक्ने अवस्था रहेको भन्दै उनले जनप्रतिनिधिका कुरा नसुनिए स्थानीय तहका समस्या र जनताका आवश्यकता कसरी सम्बोधन हुन्छन् भन्ने प्रश्न उठाए ।

रोल्पाका विभिन्न क्षेत्रको विकास बजेट र पूर्वाधार निर्माणबारे बोल्दै पुनले विकट क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा पर्याप्त बजेट नपरेको बताए । राजनीतिक रूपमा एउटै दलको बलियो उपस्थिति रहेको अवस्थामा सरकार एकलौटी ढंगले अघि बढ्न खोजेको र त्यसले लोकतान्त्रिक अभ्यास कमजोर बनाउन सक्ने उनको भनाइ छ ।

पुनले रोल्पाको परिवर्तन गाउँपालिका–बागमारा बजारस्थित पाछाबाङ खोलामा पुल निर्माणको शिलान्यास गर्ने क्रममा उक्त धारणा राखेका हुन् । जिल्लाका विभिन्न स्थानमा पुल उद्घाटन तथा शिलान्यास कार्यक्रमका क्रममा उनले विकास निर्माण, जनताको समस्या र सरकारको जवाफदेहिताका विषय उठाएका थिए ।

उनले जनताको आवाजलाई प्राथमिकतामा राखेर शासन सञ्चालन गर्नुपर्ने, विकास बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने र राज्यका निकायलाई स्वतन्त्र ढंगले काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । लोकतन्त्रमा सरकार जनताप्रति जवाफदेही हुनुपर्ने भन्दै पुनले वर्तमान सरकार आफ्नो कार्यशैली सच्याएर जनताका समस्या समाधानतर्फ केन्द्रित हुनुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?