© 2026
सिद्धार्थनगर ।
उद्योग तथा वाणिज्य क्षेत्रको विकास र प्रवद्र्धनका लागि सरकारी सेवा प्रवाहलाई सरल, सहज र प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।
१२औँ राष्ट्रिय उद्योग दिवस २०८३ को अवसरमा घरेलु तथा साना उद्योग कार्यालय, भैरहवा रुपन्देहीको आयोजनामा स्थानीय तहका आर्थिक विकास शाखाका प्रमुख तथा प्रतिनिधि र उद्योगी व्यवसायीबीच सेवा प्रवाह सरलीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा कार्यालय प्रमुख शारदा भट्टराईले उद्योग क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताइन्। सार्वजनिक–निजी साझेदारी अवधारणाअनुसार सरकारले नीतिगत व्यवस्था र आवश्यक सहजीकरण गर्दै निजी क्षेत्रलाई उद्योग सञ्चालन तथा प्रवद्र्धनमा प्रोत्साहित गर्नुपर्ने उनको भनाइ थियो। स्थानीय तह र प्रदेशस्तरका कार्यालयबीच सेवा प्रवाहमा एकरूपता कायम गर्न पनि कार्यक्रम आयोजना गरिएको उनले बताइन्।
कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष गणेश अधिकारीले उद्योग क्षेत्र देशको अर्थतन्त्रको मेरुदण्ड भए पनि नेपालमा उद्योगले अपेक्षित सरकारी प्राथमिकता पाउन नसकेको बताए। स्वदेशी उत्पादनको लागत घटाउने, गुणस्तर बढाउने र निर्यात प्रवद्र्धन गर्ने नीति आवश्यक रहेको उल्लेख गर्दै उनले उद्योगमैत्री वातावरण निर्माणबाट मात्रै रोजगारी सिर्जना र युवा पलायन न्यूनीकरण गर्न सकिने बताए।
कार्यक्रमका प्रशिक्षक तथा सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले भन्सार प्रक्रिया, क्वारेन्टाइन, अतिरिक्त शुल्क तथा करका कारण नेपाली उद्योगहरू समस्यामा परेको बताए। ओभरटनका नाममा प्रतिटन १० हजार रुपैयाँसम्म शुल्क तिर्नुपर्ने अवस्था र विशेष आर्थिक क्षेत्रमा सञ्चालित उद्योगमाथि लगाइएको तीन प्रतिशत कबाडी करले उद्योगको प्रतिस्पर्धात्मक क्षमता कमजोर बनाएको उनको भनाइ थियो। उनले दोहोरो कर तथा अनावश्यक प्रशासनिक झन्झट हटाई उद्योगमैत्री वातावरण बनाउन सम्बन्धित निकायसँग आग्रह गरे।

कार्यक्रममा घरेलु तथा साना उद्योग रुपन्देहीका पूर्व अअध्यक्ष तथा उद्योगी कन्हिया कसौधनले कच्चा पदार्थको मूल्यवृद्धिले स्वदेशी उद्योगको उत्पादन लागत बढाएको बताए। सुगर क्यान्डी उद्योगको उदाहरण दिँदै उनले भारतको तुलनामा नेपालमा चिनी प्रतिकिलो करिब ५० रुपैयाँ महँगो रहेको र मिलको मूल्यभन्दा खुद्रा बजारमा सस्तो मूल्यमा चिनी बिक्री भइरहेको अवस्थाबारे सम्बन्धित निकायले अध्ययन तथा अनुगमन गर्नुपर्ने माग गरे। घरेलु तथा साना उद्योग कार्यालयले उद्योग दर्तासँगै उद्योगीका समस्या समाधानमा पनि भूमिका खेल्नुपर्ने उनको भनाइ थियो।
सो अवसरमा वरिष्ठ उद्योग अधिकृत परियारले घरेलु तथा साना उद्योग कार्यालयबाट प्रदान गरिँदै आएका सेवा, कार्यालयका काम, जिम्मेवारी तथा उद्योगी व्यवसायीलाई उपलब्ध गराइने सुविधाबारे जानकारी गराएका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका वरिष्ठ अधिकृत कृष्ण पन्थी, घरेलु तथा साना उद्योग महासंघ रुपन्देहीका अध्यक्ष टंक अधिकारीलगायतले उद्योग तथा वाणिज्य क्षेत्रको अवस्था, उद्योगीले भोगिरहेका समस्या र सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा धारणा राखेका थिए।
कार्यक्रममा स्थानीय तहका आर्थिक विकास शाखाका प्रतिनिधि, उद्योगी व्यवसायी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन केशव मरासिनीले गरेका थिए।