Butwal Today

तिनाउका विद्यालयमा स्मार्ट पढाइ

८ मंसिर २०८३, मंगलवार
अ
अ+
अ-

 सुवास बिसी, पाल्पा ।
तिनाउँ–१ डाडाँटोलका गणेश परियार कक्षा ८ मा पढ्छन् । उनी मामाघर झिगामाराको सरस्वती अधारभूत विद्यालयमा पढ्दै आएका छन् । भौगोलिक रूपमा झिगामारा धेरै विकट गाउँ हो । तर उनको विद्यालयमा आधुुनिक सहरका विद्यालयमा जस्तै स्मार्ट बोर्डबाट पढाइ हुन्छ । झिगामाराबाट सदरमुकाम तानसेन जान ५ घण्टाको गाडी यात्रा गर्न पर्छ । वैशाखदेखि स्मार्ट बोर्डबाट शिक्षकले पढाउँदा उनी दङ्ग छन् । तिनाउ–६ पाटन घर भएका अनुप गाहा अहिले मस्याम मावि कक्षा ११ मा पढ्छन् । उनी आधारभूत शिक्षा घर नजिकैको पाटन आधारभूत विद्यालयमा पढे । कक्षा ९ पढ्न जाने नजिकको विद्यालय मस्यामा मावि हो । मस्यामा मावि पुग्न उनलाई ३ घण्टा लाग्छ । तर उनी ९ कक्षादेखि हाल सम्म विद्यालयकै छात्रावासमा बस्दै आएका छन् । उनी मात्र हैन मस्याम माविमा कक्षा ६ देखि ११ सम्म ५१ जना विद्यार्थीहरू छात्रावासमा बसेर पढ्ने गर्दछन् ।
तिनाउ गाउँपालिकामा ३८ वटा सामुदायिक विद्यालय छन् । ९ वटा माध्यमिक विद्यालय रहेका छन् । त्यो पनि निशुल्क छात्रावास सहित । तिनाउ गाउँपालिकामा ८ आधारभूत सहित मावि विद्यालयमा स्मार्ट बोर्ड मार्फत पठनपाठन हुँदै आएको छ । यी तिनाउ गाउँपालिकाले शिक्षा क्षेत्रमा गरेका सफल प्रयासहरू हुन् ।
तिनाउ गाउँपालिकाको आ.व. २०८३÷८४ को कुल बजेट ६४ करोड ८९ लाख भन्दा बढी रहेको छ । त्यस मध्ये झण्डै आधा २९ करोड बजेट शिक्षामा रहेको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले बताए । “म निर्वाचित भएपछि शिक्षामा धेरै काम गर्दै आएका छौ । भौतिक रूपमा विद्यालयका भवन निर्माण, निःशुल्क छात्रावास, आधारभूत र माविमा स्मार्ट बोर्डबाट पठन पाठन लगायत कामहरू भएको छ”, श्रेष्ठले भने । तिनाउमा ४३ वटा बाल विकासका कक्षा संचालन हुन्छन् । बालविकास कक्षा सुधारका लागि बालबालिका बस्ने भुइँ, उनीले पढ्न सिक्ने भित्ते लेखन, स्मार्ट टलिभिजन देखि खेल्ने सिक्ने गरी व्यवस्थापन गरेको श्रेष्ठले बताए ।
तिनाउ गाउँपालिकामा कक्षा ६ सम्मका विद्यार्थीहरूले दिवा खाजा खान्छन् । कक्षा ५ सम्म संघीय सरकारले दिवा खाजा खुवाए पनि कक्षा ६ का विद्यार्थीलाई गाउँपालिकाको अनुुदानमा खुवाएको श्रेष्ठले बताए । त्यस्तै एसइई सुधारका लागि ३ महिना छात्रावास, कोचिङ निःशुल्क तथा विद्यार्थीलाई दैनिक १०० रूपैयाँ अनुदान प्रदान गर्दै आएको छ । दिवाखाजाको लागि वार्षिक १२ लाख ५० हजार र एसइई विद्यार्थीका लागि वार्षिक २२ लाख अनुदान प्रदान गरेको श्रेष्ठले बताए ।
आधारभूत र मावि विद्यालयमा आइसिटी अन्तर्गतका कार्यक्रमहरू संचालनमा रहेका छन् । विद्यार्थीहरूले कम्प्युटर र ल्यापटपको प्रयोग गर्न पाउँछन् । सबै माविमा इन्टरनेटको सुविधा छ । शुुद्ध खानेपानीका लागि फिल्टर सहितको खानेपानी सुविधा रहेको श्रेष्ठले बताए ।
“मस्यामामावि तिनाउको ठुलो विद्यालयको अवधारणा लिएर अगाडि बढेका छौँ”, श्रेष्ठले भने, “५६ लाखमा छात्रावास भवन निर्माण गरेका छौँ । हाल ५१ जना विद्यार्थीलाई खान, बस्न निःशुल्क गरेका छौं ।” दुई जना वाडेन सहित ४ जना कर्मचारीको व्यवस्थापन गाउँपालिकाले गरेको श्रेष्ठले बताए । त्यस्तै तिनाउ –४ सत्यवतीमा रहेको पृथ्वीप्रकाश माविमा १ करोड २८ लाखको आवसीय भवन निर्माण, तिनाउ–३ झुम्सामा रहेको तिलोत्तमा माविमा संचालन हुने बसको व्यवस्थापनमा तिनाउ गाउँपालिकाको अनुदान रहेको श्रेष्ठले बताए ।
तिनाउ गाउँपालिकामा ३८ विद्यालय रहेका छन् । ९ माध्यमिक, ८ आधारभूत, २१ प्राथमिक गरी ४३ वटा विद्यालयमा बालविकास संचालन छ । पालिकामा २४ जना शिक्षक, ९ जना प्राविधिक शिक्षक, ४३ जना बालविकास शिक्षक, ९ जना लेखा र ४९ जना कार्यालय सहयोगी रहेको शिक्षा शाखा प्रमुख लक्ष्मी कुवंरले बताइन् । हाल १ हजार ७ सय ७७ छात्र र १ हजार ६ सय ७३ गरी जम्मा ३ हजार ४ सय ५० विद्यार्थीहरूले तिनाउमा अध्ययन गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?